ताजा खबर

सबै दुर्गम जिल्लामा हवाई मैदान  

काठमाडौ, २०७२ असार २४,

युरोपियन युनियनले नेपाली विमान कम्पनीलाई कालोसूचीमा राखिरहेका बेला सरकारले उड्डयन सुरक्षालाई सुधार्ने कार्यक्रम ल्याउने भएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामवरण यादवले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको उड्डयन सुरक्षा चासोलाई सम्बोधन गरी मुलुकको उड्डयन सुरक्षालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाइने जानकारी दिए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार र सेवा सुविधालाई पनि अन्तर्राष्ट्रियस्तरको बनाइने बताए। ‘यस विमानस्थलमा हवाई ट्राफिकको चापलाई कम गर्न आन्तरिक वायु सेवा कम्पनीहरूलाई काठमाडौं बाहिरका विमानस्थलमा सञ्चालन आधारस्थल तोकी हवाई सेवा सञ्चालन गर्न प्रोत्साहन गरिनेछ,’ संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।

त्यसैगरी विदेशी विमान कम्पनीहरूको बजार हिस्सा बढदै गइरहेको सन्दर्भमा सरकार स्वामित्वको ध्वजावाहक विमान कम्पनीलाई रणनीतिक साझेदार भित्र्याउन बाटो खुला गरिएको छ। विमानस्थल नभएका सबै दुर्गम पहाडी जिल्लामा हवाई मैदान निर्माण गरिने भएको छ। हाल देशभर भएका ४७ वटा विमानस्थलमध्ये ३२ वटा मात्रै सञ्चालित छन्।

त्यसैगरी पर्यटकलाई लक्षित गरी निर्माण भइरहेका विमानस्थललाई पनि आगामी आर्थिक वर्षभित्रै सक्ने भनिएको छ। राष्ट्रपति यादवले आन्तरिक विमानस्थलहरूको भौतिक पूर्वाधार, हवाई ट्राफिकको घनत्व र भावी व्यावसायिक सम्भावना समेतलाई पनि वर्गीकरण गरिने बताए।

आगामी वर्षको कार्यक्रमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तोकिएकै समय गर्ने भनेको छ। त्यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाँकी प्रक्रिया पूरा गरी निर्माण कार्य थालनी गरिने भएको छ। त्यस्तै निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागि जग्गा प्राप्ति र सीमांकन कार्य पनि आगामी वर्षमै सक्ने भनिएको छ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *