लस एन्जलस, २०७२ असार २४,
अमेरिकी गायिका टेलर स्विफ्टले एकपछि अर्को रेकर्ड राख्न थालेकी छन्। उनको म्युजिक भिडियो ‘ब्ल्यांक स्पेस’ले सबैभन्दा छिटो एक अर्बपटक हेरिने भिडियोको रेकर्ड कायम गरेको छ । यो भिडियो सात महिनाअघि अपलोड गरिएको थियो।
उनको पछिल्लो भिडियो ‘ब्याड ब्लड’ पनि तीन सातामा ३० करोडभन्दा धेरैपटक हेरिसकिएको छ। यसअघि अघिल्लो वर्ष सार्वजनिक भएको एल्बम ‘१९८९’ पनि अत्यधिक बिक्री भएको थियो। पछिल्लो समय एप्पलले मोबाइल एप्लिकेसनमा राखिने गीतमा तीन महिनासम्म कुनै कलाकारलाई पारिश्रमिक नदिने भएपछि टेलरले विरोध गरेकी थिइन्।
उनले विरोध गर्दै आफ्नो चर्चित एल्बम ‘१९८९’ एप्पलको एप्लिकेसनमा राख्न नदिने बताएकी थिइन्। उनको विरोधपछि एप्पलले पनि आफ्नो नीति परिवर्तन गरेको थियो। यसबाहेक टेलर अहिले सम्बन्धका कारण पनि चर्चामा छिन्। २५ वर्षीया टेलर र ३१ वर्षीय गायक क्याल्भिन ह्यारिसले बिदा मनाउने क्रममा सँगै समय बिताएका रोमान्सका तस्बिर हालै बाहिर ल्याएका थिए।
गायक क्याल्भिनले सामाजिक सञ्जालमार्फत रोमान्टिक तस्बिर सार्वजनिक गरेका हुन्। उनीहरूको तस्बिरको क्याप्सन लेखिएको छ, ‘फ्रेन्ड्ली रिलेसन बिट्विन अमेरिका एन्ड स्कटल्यान्ड’।
पछिल्लो समयमा उनीहरूलाई संगीतको ब्रान्जेलिना पनि भनेर टिप्पणी गरिएको पाइन्छ। हलिउडमा ब्राड पिट र एन्जेलिना जोलीको जस्तै प्रसिद्धि कमाउन चाहेको पनि उनीहरूले बताएका छन्।
उनीहरूले विश्वको कुनै राम्रो स्थानमा घर बनाउने, बच्चा जन्माउने र सामाजिक कार्यमा सक्रिय हुने योजना बनाएको एक अन्तर्वार्तामा बताएका छन्।
स्रोत : अन्नपुर्णपोस्ट