
काठमाडौ, २०७२ असार २४,
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ट्वान्टी–२० अन्तर्राष्ट्रियको ब्याटिङ वरीयता क्रममा ६४ औं स्थानमा पुगेका छन्। यो नेपाली खेलाडीको वरीयतामा सबैभन्दा ठूलो फड्को हो।
गत वर्ष विश्व ट्वान्टी–२० मा देखाएको प्रदर्शनका आधारमा शरद भेषावकर विश्व ब्याटिङ वरीयताको शीर्ष सयभित्र छिर्ने नेपालको पहिलो ब्याट्सम्यान बनेका थिए। शरद त्यतिखेर ७६ औं स्थानमा थिए। शरदलाई उछिन्दै पारस वरीयताको माथिल्लो स्थानमा पुग्ने नेपाली खेलाडी बनेका हुन्।
शरद ८१ औं स्थानमा झरेका छन्। एक सय वरीयताभित्र पर्ने नेपालका अर्का खेलाडी ज्ञानेन्द्र मल्ल हुन्। उपकप्तान ज्ञानेन्द्र ८६ औं स्थानमा छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषदका अनुसार पारसको ३ सय ३८, शरदको २ सय ५० र ज्ञानेन्द्रको २ सय ३३ रेटिङ अंक छ।
नेदरल्यान्ड्ससँग अघिल्लो महिना भएको चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलापछि पारसको वरीयतामा स्थान माथि उक्लेको हो। नेपालले शृंखला ३–१ ले गुमाए पनि पारसले ११७.०९ को स्ट्राइक रेटमा १ सय ३७ रन बनाएका थिए। शृंखलामा म्यान अफ द सिरिज चुनिएका पारसले अन्तिम खेलमा ५४ रन बनाएका थिए। यो उनको पहिलो र नेपाली खेलाडीको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक हो।
बलिङ वरीयतामा वसन्त रेग्मी शीर्ष सयभित्र पर्ने नेपालको पहिलो खेलाडी बनेका छन्। पछिल्लो वरीयतामा उनी ८३ औं स्थानमा समेटिएका छन्। उनको ३ सय ४२ रेटिङ अंक छ। नेदरल्यान्ड्ससँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा वसन्तले ५ विकेट लिएका थिए। वसन्तले नेपालबाट सर्वाधिक ८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा १० विकेट लिइसकेका छन्।
स्रोत : कान्तिपुर