ताजा खबर

पाकिस्तानमा अफगान सरकार–तालिबान वार्ता 

२०७२ असार २४,

केका लागि वार्ता ?

केही वर्षयता अफगानिस्तानमा तालिबान समूह सशस्त्र संघर्षमा उत्रिएको छ । ऊसँग सम्झौता गरेर अफगानिस्तानमा शान्ति स्थापना गर्नका लागि यो वार्ता भएको हो । वार्ता किन पाकिस्तानमा ? अफगानी तालिबानसँग सरकारको वार्ता पाकिस्तानी सरकारले मध्यस्थता गरिरहेको छ । अफगानिस्तानमा तालिबान समस्या समाधान गर्न सके अफगानिस्तानले पाकिस्तानी सरकारलाई पनि तालिबानसँग वार्ता गर्न सहयोग गर्ने वाचा गरिरहेको छ । को–को थिए सहभागी ? पाकिस्तानमा भएको वार्तामा अफगान सरकारका प्रतिनिधि, तालिबान प्रतिनिधि, पाकिस्तान सरकारका प्रतिनिधि, अमेरिकी तथा चिनियाँ प्रतिनिधि भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । तर, सहभागीको नाम सार्वजनिक गरिएको छैन । के भयो सम्झौता ? तत्काल कुनै उल्लेख्य सम्झौता भएको छैन । फेरि वार्तामा बस्ने र अफगानिस्तानमा शान्ति स्थापना गर्ने सम्झौता भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । अर्काे वार्ता कहिले ? अहिले मुस्लिम चाड रमजान चलिरहेकाले वार्ता निष्कर्षमा नपुगेको भनिएको छ ।

रमजान सकिएलगत्तै नयाँ वार्ताको मिति तय गर्ने सबै पक्षबीच सम्झौता भएको छ ।  सफल होला वार्ता ? यसअघि पनि बारम्बार यी पक्षबीच वार्ता प्रयास भएका थिए । कैयौँपटक वार्ता पनि भए । तर, ती वार्तामा भएका सहमति मानिएनन् ।  के हो बाधा ? नेटो सेना हटेपछि अहिले पनि अफगानिस्तानमा अमेरिकी सेना छन् । यही मुद्दाका कारण तालिबानले वार्ताका सम्झौता मानिहाल्ने सम्भावना कम भएको विश्लेषण छ ।

इस्लामावाद,

लामो समयदेखि प्रतीक्षा गरिएको अफगानिस्तान सरकार र अफगानी तालिबानबीच वार्ता भएको छ । पाकिस्तानको मरीमा वार्ता भएको हो । पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वार्ता सफल भएको र नयाँ चरणको वार्ताका लागि छिट्टै मिति तोकिने उल्लेख छ । वार्ताका लागि दुवै पक्षलाई धन्यवाद दिँदै पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको शान्तिका लागि यो वार्ता अत्यन्तै सकारात्मक भएको उल्लेख छ । ‘दुवै पक्ष शान्ति स्थापनाका लागि तयार भएका छन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘वार्ता जारी राख्ने र उपयुक्त माहोल बनाउन दुवै पक्ष तयार भएका छन् । यो अफगानी शान्ति स्थापनाको प्रयासमा ठूलो फड्को हो ।’ वार्तामा अमेरिकी तथा चिनियाँ प्रतिनिधि पनि सहभागी भएका विज्ञप्तिमा उल्लेख छ । बिबिसीले पाकिस्तानी विदेश मन्त्रालयको हवाला दिँदै लेखेको छ, ‘वार्तामा सहभागी सबै पक्ष शान्तिप्रक्रियाबारे सकारात्मक छन्, उत्साहित छन् ।’ अहिले रमजान चलिरहेकाले वार्ताको निष्कर्षमा पुग्न नसकिएको विज्ञप्तिमा उल्लेख छ । रमजानको समय सकिएलगत्तै नयाँ वार्ताको मिति तय हुने र त्यहीअनुसार वार्ता आह्वान गरिने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

स्रोत : नया पत्रिका

Related posts