ताजा खबर

ग्रिसलाई पाँच दिन

एजेन्सी ब्रसेल्स, २०७२  असार २४,

आर्थिक संकटसँग जुधिरहेको ग्रिसलाई नयाँ आर्थिक सुधार प्याकेज प्रस्ताव गर्न युरोजोनले बिहीबारसम्मको समयसीमा दिएको छ । ऋणदातासँग सम्झौता हुन सकोस् भन्ने हेतुले यो समयसीमा दिइएको हो । मंगलबार ब्रसेल्समा बसेको युरोजोनका नेताहरूको आपत्कालीन बैठकले यो फैसला गरेको हो । फैसलामा ग्रिसलाई युरोजोनमै बचाइराख्नु ठूलो चुनौती भएको र त्यसका लागि ग्रिसले सर्वमान्य प्रस्ताव प्रस्तुत गर्नुपर्ने उल्लेख छ । अब आइतबार बस्ने युरोपेली संघको बैठकमा यही मुद्दामा छलफल गरिनेछ । आइतबार युरोपेली संघका सबै २८ सदस्य सम्मिलित बैठक हुँदै छ ।

युरोपेली संघका अध्यक्ष डोनाल्ड टस्कले ग्रिसलाई अन्तिम मौका भन्दै चेतावनी दिएका छन् । ‘अब ग्रिससँग जम्मा पाँच दिनको समय छ,’ उनले भनेका छन्, ‘यो पाँच दिनमा ग्रिसले नयाँ आर्थिक प्याकेज ल्याउन नसके स्थिति थप दर्दनाक हुनेछ । त्यो नतिजा नआओस् भन्न ग्रिसले धेरै सम्झौता गर्नुपर्ने देखिन्छ ।’ फ्रान्सका राष्ट्रपति फ्रास्वाँ होल्यान्डले यो समस्या ग्रिसको मात्र नभएको भन्दै सम्पूर्ण युरोपले यसलाई बुद्धिमत्तापूर्वक लिनुपर्ने बताएका छन् । उनले ग्रिसको समस्याकै कारण पूरै युरोपको अर्थतन्त्रमा समस्या देखिन सक्ने भएकाले यो समस्यालाई सम्झौतामा टुंग्याउनुपर्ने अडान लिएका छन् । ग्रिसको मुद्दामा नै युरोपको भविष्य निर्धारण हुने उनको निचोड छ ।

ग्रिसका प्रधानमन्त्री एलेक्सिस त्सिप्रासले भने आर्थिक संकटको समाधान सामाजिक तथा न्यायपूर्ण हुनुपर्नेमा जोड दिएका छन् । उनले युरोप तथा ऋणदाताले ग्रिसमाथि थप अंकुश लगाउन चाहे युरोप बाँडिन सक्ने बताएका छन् । युरोपेली संसद्मा भएको चर्को बहसमा उनले भने, ‘हामीले युरोपलाई छुट्टिनबाट बचाउनुपर्छ । अखण्ड युरोप नै सबैको पक्षमा छ ।’ त्सिप्रासले अहिले नयाँ प्रस्तावका लागि काम भइरहेको जानकारी पनि दिएका छन् । तर, उनी नयाँ प्रस्तावमा के हुनेछ भन्नेबारे बोल्न चाहेनन् । उनले यसअघिका ऋणदाताका प्रस्ताव अस्वीकार गर्नु ग्रिक जनताको बाध्यता भएको बताएका छन् । ‘अब उनीहरूको आवाज हामीले सुन्नैपर्छ,’ उनले भने, ‘हामी हाम्रा दायित्व पूरा गर्न तयार छौँ । तर, यसको नाममा ग्रिसलाई खर्च कटौतीको प्रयोगशाला बनाइन भएन ।’

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *