ताजा खबर

‘हाम्रा लागि कालो दिन’  

म्याड्रिड, २०७२ असार २३,

कोपा अमेरिकाको फाइनलमा चिलीसँग ४–२ ले पेनाल्टी सुटआउटमा पराजित भएपछि अर्जेन्टिनी कप्तान लियोनल मेसीको आलोचना भइरहेको छ । अर्जेन्टिनी समर्थकले मेसीलाई फेरि राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्न नसक्ने आरोप लगाएका छन् । कोपा सकिएको चार दिनपछि मेसीले आफ्ना समर्थक र आलोचकलाई जवाफ फर्काएका छन् । मेसीले फाइनलमा पराजित हुँदा आफू निकै दु:खी बनेको बताए । ‘कसैलाई पनि फाइनलमा पराजित हुन मन लाग्दैन,’ मेसीले भने, ‘हामी सबै उपाधिका लागि नै खेलेका थियौँ, त्यो हाम्रा लागि कालो दिन थियो ।’ गत वर्ष विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले स्तब्ध हुँदा पनि मेसीले अर्जेन्टिनी फुटबल इतिहासमा कालो दिनका रूपमा प्रतिक्रिया दिएका थिए ।

एक वर्षको अन्तरमा दुई महत्त्वपूर्ण फुटबल प्रतियोगिताको फाइनलमा पुग्नु उत्कृष्ट प्रदर्शन भएको मेसीले दाबी गरेका छन् । ‘हामीले एक वर्षभित्र दुई ठूला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्यौँ, दुर्भाग्यवश दुवैमा अर्जेन्टिना पराजित भयो,’ एक वर्षको समीक्षा गर्दै उनले भने, ‘मलाई विश्वास छ, मेरा र अर्जेन्टिनी राष्ट्रिय टोलीका समर्थकले आउँदा दिनमा पनि समर्थन गरिरहनेछन् ।’ मेसीले आफ्नो मनका कुरा सार्वजनिक गरे पनि अर्जेन्टिनी मिडियाले स्टार खेलाडी केवल क्लबलाई मात्र उपाधि दिलाउने दाबी गरेका छन् । ‘हाम्रा अर्जेन्टिनी स्टार खेलाडी केवल क्लबलाई मात्र उपाधि दिलाउन चाहन्छन्, उनीहरू राष्ट्रलाई उपाधि दिलाउन भुल्छन्,’ अर्जेन्टिनाबाट प्रकाशित हुने राष्ट्रिय दैनिक ला मारियन्टले उल्लेख गरेको छ । तर, मेसीले क्लबभन्दा राष्ट्रिय टोलीको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताए । ‘खेलाडीका रूपमा राष्ट्रिय टोलीबाट खेल्न पाउँदा गर्व लाग्छ, हामीले राष्ट्रिय टोलीबाट खेल्दा क्लबभन्दा बढी जिम्मेवारी वहन गर्नुपर्छ ।’

स्रोत : नया पत्रिका

Related posts