ताजा खबर

सारापोभा विम्बल्डनको सेमिफाइनलमा  

एजेन्सी लन्डन, २०७२  असार २३,

पूर्वविजेता मारिया सारापोभा मंगलबार विम्बल्डन ग्रान्डस्लाम टेनिस प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेकी छिन् । महिलातर्फको पहिलो क्वार्टरफाइनलमा सारापोभाले भान्डेवेघीलाई ६–३, ६–७ र ६–२ को कडा सेटमा हराउँदै अन्तिम चारको स्थान सुरक्षित गरेकी हुन् । रुसी खेलाडी सारापोभाको यो २०औँ ग्रान्डस्लाम सेमिफाइनल प्रवेश हो । पहिलो सेट सहजै जितेकी सारापोभाले दोस्रो सेटमा भान्डेवेघीबाट कडा चुनौतीको सामना गरिन् । अन्तिम चारको आशा जीवित राख्न भान्डेवेघीलाई दोस्रो सेट जित्नैपर्ने थियो । यस सेटमा सारापोभा र भान्डेवेघीले सर्भिस गुमाएनन् ।

दोस्रो सेटको छिनोफानो टाइब्रेकरबाट भयो । जसमा भान्डेवेघीले ७–३ ले जित्दै सेटलाई १–१ को बराबरीमा पुर्‍याइन् । सारापोभाले दोस्रो सेटमा गल्ती गरेका कारण खेल गुमाएको बताइन् । ‘पहिलोको तुलनामा दोस्रो सेटमा धेरै गल्ती भएको थियो,’ सारापोभाले भनिन्, ‘टाइब्रेकरमा प्रतिद्वन्द्वीले आत्मविश्वासका साथ प्रदर्शन गरिन् ।’ तेस्रो तथा अन्तिम सेटमा कुनै गल्ती नगरेको उनले बताएकी छिन् । भान्डेवेघीले फोरह्यान्ड भली बाहिर प्रहार गरेपछि सारापोभाले खेल जितिन् । यसैगरी पुरुषतर्फका साविक विजेता नोभाक जोकोभिकले दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डेसोनलाई ६–७, ६–७, ६–१, ६–४ र ७–५ को म्याराथन सेटमा पराजित गर्दै क्वार्टरफाइनल स्थान पक्का गरेका छन् । पहिलो दुई सेट गुमाएका जोकोभिकले उत्कृष्ट पुनरागमन गरेका थिए । केभिनले दुई सेटमािथ कब्जा जमाउन टाइब्रेकरको सहायता लिएका थिए ।

शक्तिशाली सर्भिस प्रहार गर्दै केभिनले एटिपी बरियताकै शीर्ष स्थानमा रहेका जोकोभिकलाई दबाबमा राखेका थिए । खेलपछि जोकोभिकले केभिनको प्रशंसा गरेका छन् । ‘वास्तवमा केभिनको सर्भिस निकै उत्कृष्ट र शक्तिशाली थियो,’ जोकोभिकले भने, ‘मसँग उनको सर्भिस फर्काउने मौका नै थिएन ।’ जोकोभिकले केभिनविरुद्धको प्रतिस्पर्धालाई विम्बल्डन टेनिसकै कठिन खेल बताए । ‘सम्भवत: केभिनसँगको प्रतिस्पर्धा विम्बल्डनमा अहिलेसम्मकै कठिन खेल थियो,’ जोकोभिकले भने, ‘दुई सेटमा पछाडि परेको थिएँ, मैले उत्कृष्ट कमब्याक गरँे ।’ प्रतियोगितामा केभिनले जोकोभिकविरुद्ध ४० एस प्रहार गरेका छन् । जोकोभिक र केभिनबीचको प्रतिस्पर्धा तीन घन्टा ४६ मिनेट चलेको थियो ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *