ताजा खबर

राज्यमन्त्री गुरुङ शून्य खर्चबाट पछि नहट्ने

काठमाडौं, २०७२  असार २३,

श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ नि:शुल्क भिसा र हवाई टिकट (शून्य खर्च) को प्रावधान कार्यान्वयनबाट पछि नहट्ने भएका छन् । सोमबारबाट ७ मुलुकका फाइलमा नि:शुल्क भिसा र हवाई टिकट (शून्य खर्च) मा मात्र पूर्वश्रम स्वीकृति दिने प्रावधान लागू भएको छ । यसलाई उल्टाउन वैदेशिक रोजगार व्यवसायीले चर्काे दबाब दिए पनि उनी पछि हट्न तयार छैनन् । श्रम राज्यमन्त्री गुरुङले आफूले ल्याएको शून्य खर्च कार्यान्वयन हुन अवरोध ल्याइएमा राजीनामा दिने मनस्थितिमा पुगेको श्रम मन्त्रालय स्रोतले जनायो । तर, उनले यसलाई अनावश्यक हल्ला भएको नयाँ पत्रिाकासँग बताए । ‘शून्य खर्च कामदारको हितमा भएकाले यसलाई अवरोध पुर्‍याएका खण्डमा परिस्थिति जे पनि हुन सक्छ,’ राज्यमन्त्री गुरुङले भने । म्यानपावर कम्पनीले कामदारसँग चर्काे रकम असुलेपछि श्रम मन्त्रालयले शून्य खर्चको प्रावधान ल्याएको जनाएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले कतार, बहराइन, साउदीअरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, कुबेत र मलेसिया गरी सुरुमा ७ मुलुकबाट यो प्रावधान कार्यान्वयन गरेको छ । म्यानपावर व्यवसायीले भने यो प्रावधान लोकप्रिय भए पनि अव्यावहारिक रहेकाले तुरुन्तै कार्यान्वयन नगर्न आन्दोलनको धम्की दिइरहेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले शून्य खर्च अव्यावहारिक भएकाले यसका विरुद्ध आन्दोलन गर्ने बताए । ‘अन्तर्राष्ट्रिय बजारको रोजगारमा नेपालले धेरै मुलुकसँग रोजगार कोटामा प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने, द्विपक्षीय श्रम सम्झौता र नेपालले पाउने कोटा निश्चित नभएसम्म शून्य खर्च कार्यान्वयन गर्नु आत्मघाती कदम हुनेछ ।

मलेसिया र खाडीमा म्यानपावर कम्पनीले अत्यधिक रकम उठाएकाले शून्य खर्च ल्याउनुपरेको श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्च अधिकारीको भनाइ छ । अझ संयुक्त अरब इमिरेट्स (युएई) को सेक्युरिटी गार्डमा म्यानपावर कम्पनीले २ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म कामदारसँग लिँदै आएको विभागले जनाएको छ । युएईको सेक्युरिटी गार्डको रोजगारमा अन्धाधुन्ध रकम उठाउने म्यानपावर कम्पनीमा शिखर, अल सेक्युएर, सपोर्ट ह्युमन, डिडी ओभरसिज, मोभिरा र फ्लोरिडलगायत छन् । विभागले शून्य खर्चको विरोधमा यिनीहरूको संलग्नता हुनुमा बढी पैसा कामदारसँग लिन नपाउने त्रासका कारण भएको जिकिर गरेको छ । ‘कामदारसँग अत्यधिक रकम लिने म्यानपावर कम्पनीले शून्य खर्चको विरोध गर्नु हास्यस्पद विषय हो,’ विभागका एक अधिकारीले भने ।

विभागका निर्देशक बद्री कार्कीले कामदारको हितमा शून्य खर्चको प्रावधान ल्याएको बताए । ‘सरकारले ल्याएको नि:शुल्क भिसा र हवाई टिकटको प्रावधानलाई म्यानपावर व्यवसायीले स्विकार्नुपर्छ,’ उनले भने । शून्य खर्चको प्रावधान कडाइका साथ कार्यान्वयन भएमा कामदारले वैदेशिक रोजगारमा जाँदा २५ हजार रुपैयाँ पनि लाग्दैन । यसमा पनि प्रवद्र्धनात्मक खर्च विदेशी कम्पनीले दिने रोजगारमा १५ हजार रुपैयाँ पनि कामदारको खर्च हुँदैन । म्यानपावर कम्पनीले कामदारसँग मलेसियामा १ लाख ५० हजार रुपैयाँ र खाडी राष्ट्रमा १ लाख रुपैयाँ कामदारसँग लिँदै आएका छन् । शून्य खर्च प्रावधानअघि सरकारले मलेसियाका लागि ८० हजार रुपैयाँ र खाडीमा कतारबाहेक ७० हजार रुपैयाँ तोकेको थियो ।

लालधनुष म्यानपावर कम्पनीले साउदी अरेबिया पठाउँदा १ लाख ३५ हजार रुपैयाँसम्म लिएको उजुरी विभागमा आएपछि सो कम्पनी पनि शून्य खर्चको विरोधमा सक्रिय रूपमा लागेको विभागका एक उच्च अधिकारीले बताए । पछिल्लोपटक बढी उजुरी पर्नेमा लक्की, लक्की एचआर, रारा र शिखर भएको विभागले जनाएको छ । विभागका निर्देशक बद्री कार्कीले ४७ म्यानपावर कम्पनीले कामदारसँग अत्यधिक रकम लिएको उजुरी आएकाले त्यसबारे छानबिन भइरहेको बताए । निर्देशक कार्कीले शून्य खर्चको विरोधमा अत्यधिक रकम उठाउने म्यानपावर कम्पनीको संलग्नता बढी देखिएको जिकिर गरे ।

स्रोत : नयाँ पत्रिका

Related posts