ताजा खबर

कीर्तिमानी जितसँगै पाकिस्तानलाई टेस्ट शृंखला 

कोलम्बो, २०७२ असार २३,

पाकिस्तानले टेस्ट क्रिकेटमा सबैभन्दा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ। श्रीलंकाविरुद्ध मंगलबार प्राप्त टेस्ट जितमा पाकिस्तानले दोहोरो खुसी प्राप्त गर्‍यो। पाकिस्तानले तीन सय ७७ रनको लक्ष्य पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनायो भने तीन खेलको शृंखला पनि २-१ ले जित्यो।

टेस्ट क्रिकेटमा पूरा भएको यो छैटौं ठूलो लक्ष्य हो। सबैभन्दा ठूलो लक्ष्य पछ्याउने कीर्तिमान वेस्टइन्डिज (अस्ट्रेलियाविरुद्ध) को नाममा छ। वेस्टइन्डिजसहित दक्षिण अफ्रिका, भारत र अस्ट्रेलियाले टेस्ट क्रिकेटमा चार सयभन्दा बढीको लक्ष्य पूरा गरेका छन्। पाँचौं नम्बरमा पनि भारत रहेको छ। पाकिस्तानले पाँचौं तथा अन्तिमको खेल केही समय बाँकी रहँदा तीन विकेट गुमाएर तीन सय ८२ रन जोडेको थियो।

पाकिस्तानको ऐतिहासिक जितमा अनुभवी युनिस खान, उदीयमान सान मसुद र कप्तान मिसवाह उलहकले उत्कृष्ट प्रदर्शन गरे। युनिसले अविजित एक सय ७१ रन जोडे। प्रारम्भिक ब्याट्सम्यान मसुद एक सय २५ रन जोडेर आउट भए। मिसवाह ५९ रनमा अविजित रहे। विशाल लक्ष्य पछ्याउने क्रममा टोलीले पहिलो दुई विकेट १३ रन जोड्दा गुमाएको थियो। तर युनिस र मसुदले तेस्रो विकेटका लागि दुई सय ४२ रनको साझेदारी गर्दै श्रीलंकालाई दबाबमा राखेका थिए। २३०-२ को स्थितिबाट पाँचौं दिनको खेल अगाडि बढाउने क्रममा पाकिस्तानले मसुदलाई चाँडै गुमाए पनि युनिसलाई मिसवाहले गतिलो साथ दिए।

युनिस र मिसवाहबीच अविजित एक सय २७ रनको साझेदारी भयो। युनिसले दुई सय ७१ बलमा १८ चौका प्रहार गरे। मसुदले दुई सय ३३ बलमा एक छक्का र ११ चौका हिर्काए । पाँचौं टेस्ट खेल्ने क्रममा मसुदले पहिलो शतक बनाएका हुन्। मसुदले ३० औं टेस्ट शतक बनाएका हुन्। एक सय एकऔं टेस्ट खेल्ने क्रममा उनले २९ वटा अर्धशतक पनि बनाएका छन्। लक्ष्य पछ्याएर जित्ने क्रममा दोस्रो पालीमा सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा युनिस पाँचौं स्थानमा छन्।

वेस्टइन्डिजका गोर्डन ग्रिनिज दुई सय १४ रन (अविजित) सहित शीर्ष स्थानमा छन्। युनिसभन्दा अगाडि अस्ट्रेलियाका आर्थर मोरिसले एक सय ८२, अस्ट्रेलियाकै सर डोनाल्ड ब्राडम्यानले एक सय ७३ (अविजित) र इङ्ल्यान्डका मार्क बुचरले एक सय ७३ रन बनाएका छन्।

युनिस प्लेयर अफ दी म्याच घोषित भए। पाकिस्तानका स्पिनर यासिर शाह २४ विकेटसहित प्लेयर अफ दी सिरिज भए। शृंखलामा पहिलो खेल पाकिस्तान र दोस्रो खेल श्रीलंकाले जितेको थियो। यासिर शृंखलाभर उत्कृष्ट लयमा रहे। उनकै उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले बराबरी नजिक पुगेको पहिलो टेस्टमा जित हात पारेको थियो। तेस्रो तथा निर्णायक टेस्टमा पनि यासिरले उत्कृष्ट प्रदर्शन गरे । उनले पाँच विकेट लिएपछि श्रीलंका पहिलो पालीमा दुई सय ७८ रनमा समेटिएको थियो।

तर कमजोर ब्याटिङका कारण पाकिस्तान दुई सय १५ रनमा समेटिएपछि घरेलु टोलीले ६३ रनको अग्रता लिएको थियो। श्रीलंकाले दोस्रो पालीमा कप्तान एन्जेलो म्याथ्युजको एक सय २२ रनको योगदानमा सबै विकेट गुमाएर तीन सय १३ रन जोडेको थियो। बलिङतर्फ पाकिस्तानका इमरान खानले पाँच तथा यासिर र राहत अलीले दुईदुई विकेट लिएका थिए।

पाकिस्तानले श्रीलंकामा सन् २००९ पछि पहिलो पटक टेस्ट शृंखला जितेको हो। सन् २००९ मा पाकिस्तान भ्रमणमा आएको श्रीलंका टोलीमाथि आतंककारी आक्रमणपछि करिब ६ वर्ष पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट हुन सकेको थिएन। जितपछि पाकिस्तानका कप्तान मिसवाहले खुसी व्यक्त गरे। ‘श्रीलंकामा यसअघि केही शृंखला हारेकाले हामीलाई दबाब थियो। हामीले शान्तपूर्वक सम्हालिएर खेल्नु नै जितको आधार भयो। नयाँ खेलाडीले धेरै राम्रो प्रदर्शन गरे’ मिसवाहले भने। युनिसले चार सयभन्दा बढीको लक्ष्य पछ्याउने मानसिकतामा टोली रहेको बताए।

म्यान अफ दी सिरिज यासिरले आफूले १० वटामात्र टेस्ट खेले पनि दबाबरहित भएर खेल्ने बानीका कारण सजिलो भएको प्रतिक्रिया दिए।

श्रीलंकाका कप्तान म्याथ्युजले दुई अनुभवी खेलाडी माहेला जयावद्र्धने र कुमार सांगाकाराको अनुपस्थितिले टोलीलाई थप चुनौती थपिएको र यसलाई चिरेर अगाडि बढ्नुपर्ने बताए।

पाकिस्तानले आफ्नो टोलीभन्दा राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो। पाकिस्तान र श्रीलंकाबीच अब एकदिवसीय शृंखला हुनेछ। म्याथ्युजले एकदिवसीय शृंखलामा ‘फ्रेस’ टोली उतार्ने बताए। मिसवाहले घरेलु मैदानमा श्रीलंकाले एकदिवसीय क्रिकेट राम्रो खेल्ने गरेको स्मरण गर्दै पाकिस्तान पनि कडारूपमा प्रस्तुत हुने प्रतिक्रिया दिए।

टेस्ट शृंखला जितेपछि पाकिस्तान वरीयताक्रममा तेस्रो स्थानमा पुगेको छ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts