ताजा खबर

वैदेशिक रोजगारीमा शून्य लागत : २० गतेसम्मको मागपत्रमा श्रमस्वीकृति

काठमाडौं, २०७२  असार २३,

श्रम तथा रोजागर मन्त्रालयले असार २० गतेसम्म खाडीका ६ मुलुक र मलेसियाबाट आएका नेपाली कामदारको मागपत्रमा ‘फ्रि भिसा र फ्रि टिकट’बाहेकमा पनि श्रमस्वीकृति दिने भएको छ । वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीले तोकिएको म्यादभित्र पूर्वश्रमस्वीकृति दिइसकेको हकमा प्रचलित कानुनले अन्तिम श्रमस्वीकृति दिन नरोकिएको देखिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार श्रम तथा रोजगार राज्यमन्त्रीस्तरबाट असार २० गतेसम्म पूर्वश्रमस्वीकृति लिइसकेका मागपत्रमा अन्तिम श्रमस्वीकृति दिने निणर््ाय भएको हो । श्रम मन्त्रालयका सचिव भोला शिवाकोटीले असार २० गतेसम्म आइसकेका कामदारको पूर्वश्रमस्वीकृति लिइसकेका मागपत्रमा अन्तिम श्रमस्वीकृति नरोक्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिइसकेको बताए । “पूर्वश्रमस्वीकृति लिनु भनेको कानुनबमोजिम कामदार पठाउने प्रक्रियामा गइसकेको छ,” उनले भने, “यसलाई अन्तिम श्रमस्वीकृति दिन कानुनले पनि रोक्दैन ।” २१ गतेदेखि ७ मुलुकमा मागपत्र पेस गर्दा ‘फ्रि भिसा र फ्रि टिकट’ भएको हुनुपर्नेछ ।

वैदेशिक रोजगार कार्यालयले असार २० गतेसम्म फ्रि भिसा फ्रि टिकटबाहेकका पूर्वश्रमस्वीकृतिमा अन्तिम श्रमस्वीकृति दिने÷नदिने भन्नेबारेमा श्रम मन्त्रालयसँग निर्देशन मागेको थियो । “असार २० गतेअघिको निःशुल्क भिसा र टिकट नभएको तर पूर्वश्रमस्वीकृतिलाई के गर्ने अन्योल थियो,” काठमाडौं वैदेशिक रोजगार कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदीले भने, “यसबारेमा स्पष्ट गर्न मन्त्रालयसँग माग ग¥यौं ।”

फ्रि भिसा र फ्रि टिकट लागू हुने मुलुक साउदी अरब, कतार, युएई, बहराइन, ओमान, कुवेत र मलेसिया हुन् । रोजगारदाताले सेवा शुल्क नदिए म्यानपावर एजेन्सीले अधिकतम १० हजार रुपैयाँ कामदारसँग लिन पाउनेछन् । स्वास्थ्य परीक्षण शुल्क २९ सय ४०, अभिमुखीकरण तालिम शुल्क ७ सय, बिमा खर्च १८ सय ५० र कल्याणकारी कोषको १ हजार रुपैयाँ भने कामदारले बेहोर्नुपर्छ । साउदी अरब, ओमान र बहराइन जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण शुल्क ५५ सय लाग्छ ।

वैदेशिक रोजगार कार्यालयहरूले सोमबारदेखि फ्रि भिसा फ्रि टिकटमा श्रमस्वीकृति दिन बन्द गरिसकेका छन् । व्यवसायीले भने यसको विरोध गर्दै कामदारको माग घट्ने दाबी गरेका छन् ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले रोजगारदाताले सम्पूर्ण खर्च बेहोरिरहेकाले कामदारको मागमा कुनै कमी नआउने दाबी गरे । “नेपाली कामदार इमान्दार र मेहनती छन् । त्यसैले रोजगारदाताको रोजाइमा छन्, यो व्यवस्थाले मागमा केही असर पर्दैन,” उनले भने ।

स्रोत : कारोबार

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *