ताजा खबर

अब ग्रिसमा के ? 

एजेन्सी एथेन्स, २०७२  असार २३,

ग्रिसमा युरोपेली मुलुक तथा ऋणदाताको बेल आउट प्रस्तावलाई अस्वीकार गरिएसँगै आगामी बाटोबारे अन्योल छाएको छ । प्रधानमन्त्री एलेक्सिस त्सिप्रासले जे चाहेका थिए, ग्रिसमा त्यही भएको छ, तर अब ग्रिसमा के हुन्छ भन्नेबारे ठोस जवाफ आउन सकेको छैन । युरोपेली नेताले जनतमसंग्रहपहिले पटक–पटक ग्रिक जनतालाई उनीहरूको प्रस्ताव अस्वीकार गरे ग्रिसलाई युरोजोबाट बाहिरिनुपर्ने चेतावनी दिएका थिए । तर, आइतबार भएको जनमतसंग्रहको नतिजा आएलगत्तै फ्रान्स, बेल्जियमलगायत देश लचिलो देखिएका छन् । त्यसैले, ग्रिस युरोजोनबाट बाहिरिने सम्भावना कम भएको टिप्पणी छ । तर, जर्मनीलगायतका देशले ग्रिसलाई युरोजोनबाट निकाल्नुको कुनै विकल्प नभएको अडान लिएका छन् । जर्मनी ग्रिसको सबैभन्दा ठूलो ऋणदाता पनि हो । त्यसैले, यस विषयमा उसको आवाज बढी सुनिने सम्भावना छ । जर्मनीले ग्रिसले दिने नयाँ प्रस्ताव अस्वीकार गरे ग्रिस युरोजोनबाट बाहिरिन सक्छ । यस्तो भएमा युरोपेली संघबाट मिल्ने ठूलो सहयोगबाट ग्रिस वञ्चित हुनेछ । यस्तो अवस्थामा ग्रिसलाई ठूलो समस्या पर्ने निश्चित छ । युरोजोनबाट ग्रिस बाहिरिए ग्रिसमा लामो समयसम्म आर्थिक संकट देखिने निश्चित छ ।

उता, ग्रिसका बैंकमा नगदको कमी छ । युरोपेली केन्द्रीय बैंक (इसिबी) बाट अपात्कालीन सहयोगबाहेक थप सहयोग नमिले ग्रिसका बैंक केही समय बन्द हुन बाध्य हुनेछन् । इसिबीले तत्कालका लागि आपत्कालीन सहयोग दिने बताए पनि कहिलेसम्म ग्रिसले यो सहयोग पाउला भन्ने निश्चित छैन । यही समस्याका कारण त्यहाँ कर प्रणाली पनि चुस्त हुन सकेको छैन । त्यसैले, ग्रिस झन् समस्यामा परेको छ । जसले गर्दा युरोपेली मुलुकसँग ग्रिसको सम्झौता हुन सक्ने सम्भावना झन् क्षीण भएको छ । ग्रिसलाई युरोजोनमा राख्न फ्रान्सले ‘जे पनि गर्ने’ पेरिस/ फ्रेन्च प्रधानमन्त्री म्यानुएल वाल्सले ग्रिसलाई युरोजोनमै सामेल गराइराख्न आफूहरू जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन् । ग्रिस युरोजोनबाट बाहिरिनु अत्यन्तै खतरानक हुन सक्ने उनले बताएका छन् । उनले युरोजोनको आपत्कालीन बैठकमा पनि ग्रिसलाई युरोजोनमा सामेल गराइराख्न सम्झौताको नयाँ ढाँचा ल्याउन सकिने बताएका छन् । तर, जर्मनीले कुनै सर्तविना ग्रिसको ऋण माफी गर्न नहुने बताएका छन् । उता, युरोजोनका मन्त्रीहरूले ग्रिसलाई ऋण फिर्ता गर्ने सम्बन्धमा नयाँ योजना ल्याउन अनुरोध गरेका छन् । आइतबार भएको जनमतसंग्रहमा ग्रिसका मतदाताले यसअघि युरोजोनले ल्याएका सर्त अस्वीकार गरेका थिए । ती प्रस्तावको विरोधमा ६१ प्रतिशतभन्दा धेरै मत परेको थियो । युरोजोनको मंगलबार ब्रसेल्समा हुने बैठकमा ग्रिस प्रधानमन्त्री एलेक्सिस त्सिप्रासले नयाँ प्रस्ताव लैजाने योजना थियो । त्यो नयाँ योजनलाई फ्रान्सले विनासर्त सहमति जनाउने तयारी गरेको छ । नयाँ प्रस्तावमा तीन सय ५६ अर्ब डलर ऋणमध्ये ३० प्रतिशत छुट गर्न अनुरोध गरिने ग्रिस सरकारी अधिकारीले जनाएका छन् ।

अर्थमन्त्रीको राजीनामा उता, ग्रिसका अर्थमन्त्री यानिस वारोफाकिसले राजीनामा दिएका छन् । यानिसले आफ्नो कारणले ग्रिस र ऋणदाताको वार्तामा समस्या हुन सक्ने भन्दै राजीनामा दिएका हुन् । उनले आफ्नो राजीनामाले ग्रिस र युरोजोनका अन्य देशबीच सम्झौतामा सहयोग पुग्ने अपेक्षा लिएको बताएका छन् । ‘मेरो अडानका कारण पनि ऋणदाताहरू रिसाएका हुन सक्छन्,’ राजीनामा घोषणा गर्दै उनले सोमबार भने । राजीनामा दिएलगत्तै यानिस मन्त्रालयबाट मोटरसाइलकमा बाहिरिए । उनको यो कदमलाई संसारभरका सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाएका छन् । उनी मोटरसाइकलमा फर्किँदै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको स्थानमा युरोजोसँग ग्रिस संकटबारे वार्ता गरिरहेका युक्लिड त्साकालाँटसलाई सरकारले अर्थमन्त्री नियुक्त गरेको छ । युक्लिडले यानिसको सहयोग र कामविना ग्रिस अहिलेको अवस्थामा पुग्न नसक्ने भन्दै आफूले यानिसकै योजनालाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *