ताजा खबर

१ अर्ब व्यक्ति चरम गरिबीबाट बाहिर 

संयुक्त राष्ट्रसंघ,

२०७२ , २३ असार,

सन् १९९० देखि हालसम्मको अवधिमा १ अर्बभन्दा बढी व्यक्ति चरम गरिबीबाट बाहिर आएका छन् । यसमा चीन र भारतको भूमिका महत्वपूर्ण रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघीय सहस्राब्दी विकास लक्ष्य (एमडीजी) इतिहासमै ठूलो गरिबी निवारण गर्न सफल भएको छ । यो कार्यक्रमले भोकमरीविरुद्ध ठूलो सफलता हासिल गरेको छ । धेरै बालबालिकालाई स्कुल पठाउन सफलता प्राप्त भएको पनि जनाइएको छ ।

उल्लेख्य उपलब्धिका बाबजुद पनि धेरै गरिब र दयनीय अवस्थामा भएकाहरूलाई यसबाट मुक्ति दिलाउने विषय अझै सुनिश्चित गर्न बाँकी भएको सहस्राब्दी लक्ष्यको प्रतिवेदनले देखाएको छ । यो लक्ष्यमा चरम गरिबीको दर कम गर्ने र एड्सको विस्तार रोक्नेजस्ता विषय समावेश गरिएको छ ।

चरम गरिबीमा जीवनयापन गरिरहेकाको संख्या आधा पु¥याउने लक्ष्य सन् २०१५ को समयसीमाअगावै पूरा भइसकेको छ । पछिल्लो अनुमानअनुसार दैनिक १.२५ डलरभन्दा कममा गुजारा चलाउनेको संख्या १९९० मा भएको ३६ प्रतिशतबाट घटेर सन् २०११ मा १५ प्रतिशतमा सीमित भएको छ ।

यो वर्षसम्म विश्वव्यापी चरम गरिबीको दरमा थप गिरावट आएर १२ प्रतिशतमा झरेको प्रक्षेपणले देखाएको छ । विकासशील क्षेत्रमा गरिबीको दर पनि सन् १९९० को ४७ बाट घटेर यो वर्ष १४ प्रतिशत कायम भएको छ । यो झन्डै दुईतिहाइले कम हो ।

सन् २०११ सम्ममा उपसहारा अफ्रिकाबाहेक सबै विकासशील क्षेत्रमा चरम गरिबीमा जीवनयापन गरिरहेकाको संख्या आधाले घटेको छ । “विश्वकै बढी जनसंख्या भएका मुलुकहरू चीन र भारतले विश्वव्यापी गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्,” प्रतिवेदनमा भनिएको छ, “चीनमा भएको प्रगतिका कारण पूर्वी एसियामा चरम गरिबीदर सन् १९९० को ६१ प्रतिशतबाट घटेर यो वर्ष ४ प्रतिशत कायम भएको छ ।

दक्षिण एसियाको प्रगति प्रभावशाली भएको छ । सोही अवधिमा अघिल्लो पटकको ५२ प्रतिशतबाट घटेर १७ प्रतिशत कायम भएको छ । सन् २००८ देखि यसको दरमा थप वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।

ओश्लोमा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा राष्ट्रसंघका महासचिव बान कि मुनले लक्ष्य प्राप्तिका लागि भएको विश्वव्यापी प्रयासले लाखौं व्यक्तिको जीवन जोगाएको र विश्वका लाखौंको अवस्थामा सुधार ल्याएको बताए ।

स्रोत : कारोबार

Related posts