बजार मूल्य बढेको बढ्यै 

उदयपुर, २०७२ असार २२,

महिनायता यहाँ उपभोग्य सामग्रीको बजार मूल्य बढेको बढ्यै छ। सम्बन्धित निकायले वास्ता नगर्दा नियन्त्रण हुन सकेको छैन।

भूकम्पपछि समरमुकमा गाईघाट बजारमा विभिन्न वस्तुको मूल्य बढेको थियो। कृत्रिम अभाव सृजना गरी व्यापारीले बढाएको मूल्य त्यसपछि पनि बढाएको बढायै छन्। बजार मूल्य नियन्त्रण वाणिज्य विभागले गर्नुपर्ने हो। तर वाणिज्य कार्यालय नहुँदा यहाँका व्यापारीले मनपरी मूल्य चलाएका छन्।

खाद्य वस्तुको मूल्य अकासिएको छ। दलहन, गेडागुडी, मसालाजन्य, तरकारीसँगै अन्य दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको उपभोक्ताले गुनासो गरेका छन्। गत वर्षको यसै अवधिमा ३०/३५ रुपैयाँ प्रतिकिलोग्राम पाइने प्याज अहिले ५० रुपैयाँमा बिक्री भइरहेको छ। विशेष गरेर भदौ असोजमा मात्रै प्याजको मूल्य ५० रुपैयाँ पुग्ने गरेको स्वयं व्यापारी बताउँछन्।

व्यापारी उपभोक्ता हितभन्दा नाफामुखी भएका करण बजार मूल्य निन्त्रण बाहिर गएको सर्वसाधरणको गुनासो छ। हरियो तरकारीको मूल्य घट्नुपर्ने मौसम भए पनि अहिले बजार फर्सीको मुन्टा ६० रुपैयाँ किलोग्राम बिक्री भइरहेको त्रियुगा नगरपालिका २ सुन्दरमागकी रेणुका बमजनले बताइन्। ‘असार साउन फर्सीको मुन्टा सस्तो हुने समय हो,’ उनले भनिन्, ‘तर व्यापारीले ६० रुपैयाँभन्दा एक रुपैयाँ कम भए पनि दिँदैनन्।’ बजार नियन्त्रणभन्दा बाहिर भएकाले व्यापारीले मनोपोली गर्ने गरेको उनले बताइन्।

बमजन उच्च शिक्षा अध्ययन गर्नका लागि गाईघाट बजारमा बस्दै आएकी छन्। मूल्य अकासिँदा बमजन जस्ता धेरै विद्यार्थीलाई समस्या हुने गरेको छ। सीमित बजेटबाट चल्नुपर्ने सर्वसाधरणलाई तरकारी, चामल, दाल र तेलको मूल्य बढ्दा समस्या हुने गरेको बमजन बताउँछिन्। ‘सीमित आम्दानीका भरमा चल्नुपर्ने विद्यार्थी, कर्मचारी र मजदुरलाई मूल्य वृद्धिले पिरोलेको छ,’ उनले भनिन्, ‘तर बजार नियन्त्रण गर्ने निकायले वास्ता नगर्दा मूल्य उपभोक्ताको आयभन्दा बाहिर गयो।’

यस्तै अवस्था रहिरहे सहरमा बसेर पढ्न समस्या हुने गरेको उनले बताइन्। महिना दिनयता वाणिज्य विभागका प्रतिनिधि सहायक प्रमुख जिल्ला अधिकारी, नगरपालिका प्रतिनिधि, उद्योग वाणिज्य संघ लगायतको उपस्थित बजार अनुगमन गरिएको थियो।

अनुगमन टोलीले म्याद गुज्रिएका, अखाद्य, सडेगलेका वस्तु नियन्त्रणमा लिए पनि बजार मूल्य नियन्त्रणमा लिन नसकेको उपभोक्तावादी संघसंस्थाले गुनासो गरेका छन्। ‘बजारमा अखाद्य, म्याद गुज्रिएका, नक्कली वस्तु नियन्त्रण लिएर मात्रै अनुगमन हुँदैन,’ उपभोक्तावादी बद्री काफ्लेले भने, ‘बजार अनुगमन गर्दा मूल्य नियन्त्रण पनि गर्न सक्नुपर्छ।’ तर यहाँ बजार अनुगमनको नाममा मूल्यालाई वास्तै नगरिएको उनले बताए।

सामान्यत: बजार मूल्य निर्धारण उद्योग वाणिज्य संघले गर्छ। खरिद मूल्यमा १० प्रतिशत मुनाफा राखेर मूल्य निर्धारण गर्ने र नियन्त्रण गर्ने काम वाणिज्य संघले गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताए। तर यहाँको वाणिज्य संघले अघिल्लोपटक मूल्य नबढाएको भन्दै एक्कासि मूल्य बढाएको स्थानीय उपभोक्ता बढाउँछन्।

वाणिज्य संघले १ सय ३० रुपैयाँ किलोको मुसुरो दालको मूल्य अहिले १ सय ६० रुपैयाँ निर्धारण गरेको छ। भूकम्पपछि त्रियुगा उद्योग वाणिज्य संघले गाईघाट बजारका लागि मूल्य निर्धारण गरेको हो। तर मूल्य निर्धारण गर्दा १० प्रतिशत मात्रै होइन ५० सम्म बढाएको उपभोक्तावादी काफ्लेले बताए।

‘आयात गर्दाको मूल्यमा १० प्रतिशत मुनाफा राखेर मूल्य निर्धारण गर्नुपर्ने हो,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘त्यसैको आधारमा स्थानीय प्रशासनले नियन्त्रण गर्ने गरेको छ।’ तर व्यापारीले खरिद मुल्य नै नदेखाउँदा बजार मूल्य नियन्त्रणमा समस्या हुने गरेको उनले बताए।

स्रोत : कान्तिपुर

Related posts