काठमाडौ, २०७२ असार २२,
विद्युत् प्राधिकरण कर्मचारी युनियनले राजनीतिक हस्तक्षेप गरी १ सय ८० मेगावाटको आँधीखोला जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिएको भन्दै कार्यकारी निर्देशक मुकेशराज काफ्लेको सचिवालय तालाबन्दी गरेको छ ।
युनियनले शुक्रबारदेखि सचिवालय तालाबन्दी गरेको हो । यससँगै सञ्चालक समितिको सम्पूर्ण कागजात र फाइल थुनिएका छन् । ‘प्राधिकरणले सर्भे अनुमति पाएको आँधीखोला जलविद्युत् आयोजना विकासका लागि बिनाप्रतिस्पर्धा प्राधिकरणको १५ प्रतिशत साझेदारीमा अन्तर्राष्टिय कम्पनीलाई दिने गरी गरेको निर्णयले हाम्रो गम्भीर ध्यानाकर्षण गरेको छ,’ युनियनको विज्ञप्तिमा उल्लेख छ, ‘उक्त आयोजना सीजीजीसीसँगको साझेदारीमा निर्माण गर्ने गरी गरेको निर्णय बदर गराउनलगायत विगतमा युनियनसँग भएका सहमति सम्झौताहरू यथाशीघ्र कार्यान्वयन गराउन कार्यकारी निर्देशकको सचिवालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिन बाध्य भएका छौं ।’
स्रोत : कान्तिपुर