ताजा खबर

वर्षाले रोक्यो नेपालको लक्ष्य   

काठमाडौ, २०७२  असार २२,

कप्तान ज्ञानेन्द्र मल्लको भनाइ मान्ने हो भने नेपाल जुनसुकै हालतमा ओमानसँगको खेल जित्न चाहन्थ्यो । जसले नेपालीहरूको अनुहारमा मुस्कान ल्याउँथ्यो । तर विश्व ट्वान्टी–२० छनोटको नेपालको पहिलो अभ्यास खेल वर्षाले रद्द पारिदियो । प्रतियोगिता बिहीबार आयरल्यान्ड, उत्तरी आयरल्यान्ड र स्कटल्यान्डमा सुरु हुँदैछ । उत्तरी आयरल्यान्डमा अवस्थित नेपालले प्रतियोगिता अगाडि २ अभ्यास खेल खेल्दैछ । त्यसमा ओमानसँग सोमबार पहिलो अभ्यास खेल थियो ।

नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा ज्ञानेन्द्रले ओमानसँगको खेलमा नेपाली टिमको नेतृत्व सम्हालेका थिए । बेलफास्टको स्टोरमोन्टमा ज्ञानेन्द्रले टस जितेपछि ओमानलाई ब्याटिङमा बोलाए । ओमानले १६.३ ओभरमा ४ विकेट गुमाई १ सय १५ रन बनाएको समयमा वर्षाले खेल प्रभावित हुन पुग्यो ।

ओमानको इनिङ्स थप अगाडि बढ्न सकेन । डकवर्थ लेविस पद्धतिमा नेपाललाई १६ ओभरमा १ सय २६ रनको नयाँ लक्ष्य दिइयो । नेपालले ३ बलमा ६ रन जोडेको समयमा थप वर्षा र हुरी चलेपछि खेल रद्द भयो । पहिलो बलमा वाइड पाएको नेपालबाट त्यसपछि सुवासले चौका र एक रन बटुले । सागर पुनले तेस्रो बल रोकेपछि थप खेल हुन पाएन् ।

यसअघि ओमानले निकै राम्रो सुरुआत गरेको थियो । टिमले ८ ओभरमा ५९ रन जोडेको थियो । खावर अलिललाई सागर पुनले आउट गरी नेपाललाई नवौं ओभरमा पहिलो सफलता दिलाए । अलीले २४ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २२ रन बनाए । अर्का ओपनर जिसान मसुकले ४४ रन बनाए । उनले ३१ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे ।

जतिन्दर सिंहले १४ र भैवभ वाटेगाओनकरले १७ बलमा ३ चौकासहित २३ रन बनाए । नेपालबाट शक्ति गौचन, जितेन्द्र मुखिया, सागर पुन र ज्ञानेन्द्रले १–१ विकेट लिए । नेपालबाट बलिङ प्रारम्भ गरेका शक्तिले ३ ओभरमा २१ रन खर्चे । जितेन्द्रले २ ओभरमा ८ रनमात्र दिए । सागरले ४ ओभरमा २८ रन खर्चे । सातौं बलरका रूपमा आएका ज्ञानेन्द्रले १.३ ओभरमा ८ रन खर्चे ।

नेपालले मंगलबार यूएईसँग दोस्रो अभ्यास खेल्नेछ । यूएई र आयरल्यान्डबीचको खेल वर्षाकै कारण एक बल पनि नफाली रद्द भएको थियो । हङकङले नेदरल्यान्ड्सलाई ९ रनले पराजित गर्‍यो । नेपालले शुक्रबार प्रतियोगिताको पहिलो खेल अमेरिकासँग खेल्नेछ ।

स्रोत : कान्तिपुर

Related posts