ब्लाटरका आरोप
रुस र कतारलाई विश्वकप आयोजक राष्ट्र चुनेको दिनमा फ्रान्स र जर्मनीले चलखेल गरे
फ्रान्स र जर्मनीका राजनीतिज्ञले रुस र कतारविरुद्ध मतदान नगर्न उस्काए
फ्रान्सका सार्कोजी र जर्मनीका उल्फले मतदानको दिन आफ्नो शक्ति प्रयोग गरे
बर्लिन, २०७२ असार २२,
फिफा अध्यक्ष सेप ब्लाटरले रुस र कतारलाई विश्वकप आयोजक राष्ट्र चुनेको दिनमा फ्रान्स र जर्मनीले राजनीतिक दाउपेच प्रयोग गरेको आरोप लगाएका छन् । ब्लाटरले पुन: एकपटक जर्मन पत्रिका वल्टलाई अन्तर्वार्ता दिँदै विश्वकप आयोजक छनोट हुँदा शक्तिशाली राष्ट्र हावी भएको खुलासा गरेका हुन् ।
उनले जर्मनी र फ्रान्सले क्षेत्राधिकारबाहिरको कार्य गरेको पनि बताए । ‘विश्वकप आयोजक राष्ट्र छान्नु अगाडि नै जर्मनी र फ्रान्सका प्रतिनिधिले चलखेल गरेका थिए, यसमा दुई राजनीतिज्ञ समावेश थिए,’ अध्यक्ष ब्लाटरले भने, ‘फ्रान्सका निकोलास सार्काेजी र जर्मनीका क्रिस्टिन उल्फले आफ्नो शक्ति प्रयोग गरेका थिए ।’
यी दुवै राष्ट्र विश्वकप फुटबल कतारमा नहोस् भन्ने पक्षमा रहेको ब्लाटरले दाबी गरेका छन् । ‘सार्कोजी र उल्फले कतारमा विश्वकप हुन नदिन ठूलो प्रयास गरेका थिए, यसका लागि उनीहरूले राजनीतिक दाउपेचसमेत प्रयोग गरेको पाइयो,’ अध्यक्ष ब्लाटरले भने, ‘विश्वकप फुटबलको आयोजना समर्थकले छान्ने हो, यहाँ कुनै राजनीतिज्ञको शक्ति चल्दैन ।’
ब्लाटरको आरोपको सम्बन्धमा सार्कोजीले केही प्रतिक्रिया दिएका छैनन । तर, जर्मन राजनीतिज्ञ उल्फले आफ्नो चासो नभएको जनाएका छन् । उनले विश्वकप आयोजक राष्ट्र छान्ने वेला आफूले केही चलखेल नगरेको दाबी गरेका छन् । यता, युरोपियन फुटबल महासंघका अध्यक्ष माइकल प्लाटिनीले मतदानका लागि दबाब नदिइएको बताए । ‘हामीले त्यही राष्ट्रको पक्षमा मतदान गर्नु भनेका थिएनौँ, जर्मनी र फ्रान्सले आफ्नो विवेकअनुसारै मतदान गरेका थिए,’ ब्लाटरलाई जवाफ फर्काउँदै प्लाटिनीले भने, ‘हामी विश्वकप आयोजक राष्ट्र स्वतन्त्र र निष्पक्ष रूपमा चुनिनुपर्ने माग राख्दै आएका छाँै ।’
गत साता ब्लाटरले फिफाबाट राजीनामा नदिएको, केवल पछाडि मात्र हटेको भन्ने भनाइ राखेपछि युरोपियन युनियन रुष्ट बनेको छ । ब्लाटरले प्रतिशोध लिन एकपछि अर्को आरोप लगाइरहेको प्लाटिनीले जनाएका छन् । यसैबीच ब्लाटरले महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्वेच्छाले नगएको जानकारी दिएका छन् । विश्वकप फुटबल प्रतियोगिताको च्याम्पियन टोलीलाई फिफा अध्यक्षले ट्रफी दिने चलन छ । तर, यसपटक त्यो परम्परा तोडिएको छ ।
स्रोत : नया पत्रिका