काठमाडौं , २०७२ असार २२,
प्रधानमन्त्री सुशील कोइरालाले फास्ट ट्रयाकबाट संविधान छिटै आउने बताएका छन्। नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्ल्यू बोडीसँग सोमबार साँझ बालुवाटारमा भेट गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो धारणा राखेको राखेका हुन् ।
उनले नेपालले चाडै नै संघीयता, गणतन्त्र र समावेशितासहितको लोकतान्त्रिक संविधान पाउने विश्वास व्यक्त गरेका छन् ।कोइरालाले संविधान निर्माणको प्रकृया द्रूतमार्गबाट अगाडि बढिरहेको र अलमलिनुपर्ने कुनै अवस्था नरहेको बताए । उनले संविधान जारी भएपछि नेपालमा शान्ति,स्थायित्व, लोकतन्त्र र विकासले गति लिनेछ भने।
हालै संयुक्त राज्य अमेरिकामा स्वास्थ्योपचार गरी फर्केका राजदूत बोडीले अमेरिकामा भएका कानूनी र कुटनीतिक सम्बन्धका बारेमा जानकारी गराउदै नेपालको संविधान लेखन र भूकम्पपछिको पुनर्निमाणका बारेमा चासो व्यक्त गरेका थिए ।
भेटमा उनले नेपालमा संविधान लेखनका सम्बन्धमा भएको पछिल्लो सकारात्मक विकास क्रमलाई स्वागतयोग्य कदम भनेका थिए।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तीअनुसार अमेरिकी राजदूत बोडीले भूकम्प आएपछि नेपालको अवस्थाका बारेमा अमेरिकी सरकारलाई अवगत गराइएको र नेपालको पुनर्निमार्णका लागि अमेरिकी निजी क्षेत्र र सरकारी स्तरको सहयोग पनि बढ्ने बताएका थिए।
स्रोत : अन्नपुर्णपोस्ट