ताजा खबर

पोडोल्स्की गालातासारेमा

लन्डन, २०७२  असार २२,

टर्किस क्लब गालातासारेले आर्सनलका जर्मन मिडफिल्डर लुकास पोडोल्स्कीलाई अनुबन्ध गरेको छ । आर्सनलबाट पोडोल्स्कीलाई अनुबन्ध गर्न गालातासारेले दुई करोड ८५ लाख पाउन्ड खर्चेको बिबिसीले जनाएको छ । गालातासारेले पोडोल्स्कीलाई भित्र्याउन तीनपटक प्रयास गरेको थियो । चौथो प्रयासमा गालातासारे सफल भयो ।

आइतबारै एक कार्यक्रमबीच जर्मन खेलाडी पोडोल्स्कीलाई गालातासारेले सार्वजनिक गरेको छ । पोडोल्स्कीले क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् । गत वर्ष जर्मनी विश्व च्याम्पियन हँुदा पोडोल्स्कीले दुई खेल मात्र खेले । उनले अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा प्रतिस्पर्धा गर्न पाएनन् । आर्सनलमा तीन सिजन बिताएका पोडोल्स्कीले ८२ खेलमा ३१ गोल गरेका थिए । सन् २०१२ मा पोडोल्स्की एक करोड १० लाख पाउन्डमा कोलोन्गेबाट आर्सनलसँग आबद्ध भएका थिए ।

गत सिजनमा लोनमा उनी इन्टरमिलानमा गएका थिए । उनी मिलानबाट १० खेलमा एक गोल मात्र गर्न सफल रहे । गालातासारेसँगको अनुबन्धबाट उनी खुसी छन् । तर, पछिल्लो सिजनको खराब प्रदर्शनका कारण पोडोल्स्की मानसिक तनावमा रहेको आर्सनलका म्यानेजर आर्सेन बेंगरले बताएका छन् । ‘नयाँ क्लबबाट खेल्न पाउँदा ज्यादै खुसी छु, गालातासारे पनि युरोपकै एक बलियो क्लब हो,’ ३० वर्षीय पोडोल्स्कीले भने, ‘यहाँ मैले क्लबलाई उत्कृष्ट योगदान दिनेछु ।’ टर्किस क्लबबाट खेल्ने आफ्नो सपना पूरा भएको उनले बताए ।

‘टर्कीको क्लबबाट खेल्ने मेरो सपना थियो, त्यो आज पूरा भएको छ,’ पोडोल्स्कीले भने, ‘गालातासारेका समर्थकलाई म निराश पार्दिनँ ।’ सन् २००० मा गालातासारेले आर्सनलाई हराउँदै युइएफए कप उपाधि उचालेको थियो । यता, गालातासारेले विज्ञप्ति जारी गर्दै जर्मन स्टारलाई क्लबमा अनुबन्ध गरेको क्षण ऐतिहासिक भएको बताए । टर्किस क्लबमा वेस्ली स्नाइडेर पनि छन् ।

स्रोत : नया पत्रिका

Related posts