काठमाडौं, २०७२ असार २२,
फिल्म निर्देशक नीर शाहलाई ‘डायमन्ड शमशेर पुरस्कार’ प्रदान गरिने भएको छ। ‘डायमन्ड शमशेर साहित्यिक प्रतिष्ठान’को आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिमा शाहले राणाका सिर्जनामाथि फिल्म बनाई उनका कृतिलाई लोकप्रिय बनाउन थप भूमिका खेलेको भन्दै पुरस्कृत गर्ने निर्णय गरिएको जनाइएको छ। शाहले राणाकै कृतिमाथि आधारित रहेर ‘वसन्ती र ‘सेतो बाघ’ निर्देशन गरेका थिए।
साहित्यकार डायमन्ड शमशेरको जन्मदिन पारेर २५ हजार रुपैयाँको पुरस्कार र सम्मान प्रदान गरिँदै आएको छ। ‘सेतो बाघ’लाई अनुवाद गर्ने ग्रेटा राणाले यसअघि डायमन्ड शमशेर साहित्यिक पुरस्कार पाइसकेकी छन्।
शाहले १५ वर्षअघि ‘वसन्ती’को निर्देशन गरेका थिए जसमा राजेश हमाल, करिश्मा मानन्धर, गौरी मल्ल र अशोक शर्मा लगायतले अभिनय गरेका थिए। त्यसैगरी शाहको निर्देशनमा बनेको ‘सेतो बाघ’ गत चैत २७ मा रिलिज भएको थियो।
‘सेतो बाघ’ मा अञ्जना कट्टेल, प्रियंका आचार्य, प्रमिला थापा, विनिशा सुवेदी, रेनु गौतम, सीता न्यौपाने, संस्कृति कार्की, सुनिता सापकोटा, लक्ष्मी मगर, यशोदा खनाल सुधा र नीलम ढुंगेल, कलाकारले अभिनय गरेका छन्। ९१ शृंखलामा टेलिसिरियल समेत खिचिएको ‘सेतो बाघ’ चाँडै टेलिभिजनबाट प्रसारण हुँदैछ।
स्रोत : नागरिक