लन्डन, २०७२ असार २२,
सेरेना विलियम्स, म्याडिसन किज, कोको भान्डेवेग र मारिया सारापोभा ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
महिला एकलतर्फको सोमबार भएको बहुप्रतीक्षित भिडन्तमा बहिनी सेरेनाले दिदी भेनस विलिम्सलाई ६-४, ६-३ अंकले हराइन् व्यावसायिक टेनिसमा सेरेनाले दिदी भेनसलाई हराएको यो १६औं पटक हो । यी दुईबीच हालसम्म २६ खेल भएका छन्।
सेरेना सन् २०१५ मा लोभलाग्दो फर्ममा छिन्। उनले यो वर्ष खेलेका ३६ मध्ये एक खेलमा मात्र हार भोगेकी छन्। २० वटा एकल ग्रान्डस्लाम उपाधि जितिसकेकी सेरेना यो वर्ष लगातार चौथो ग्रान्डस्लाम जित्ने योजनामा छिन्। यो वर्ष उनले दुई ग्रान्डस्लाम फ्रेन्च ओपन र अस्ट्रेलियन ओपन जितिसकेकी छन्।
दिदी भेनस सातवटा एकल ग्रान्डस्लामकी विजेता भए पनि पछिल्लो समय उनी लयमा छैनन्। भेनस विम्बल्डनकी पाँच पटककी विजेता हुन्। उनले दुईवटा यूएस ओपनको उपाधि पनि जितेकी हुन्। अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनमा एकएक पटक फाइनलमा पुगेकी भेनसले उपविजेतामै चित्त बुझाउनुपरेको थियो। भेनसले सन् २००८ पछि भने ग्रान्डस्लाम उपाधि जित्न सकेकी छैनन्। उनले अन्तिम पटक जितेको ग्रान्डस्लाम उपाधि भने विम्बल्डन नै थियो। विश्व वरीयतामा अहिले सेरेना पहिलो र भेनस १६औं स्थानमा छन्।
अमेरिकाकी खेलाडी किजले भने तीन सेटको भिडन्तमा बेलारुसकी ओल्गा गोभात्र्सोभालाई ६-३, ४-६, ६-१ अंकले हराइन्। २१औं वरीयतामा आसिन किज पहिलो पटक विम्बल्डनको अन्तिम आठमा पुगेकी हुन्।
अर्की अमेरिकी खेलाडी भान्डेवेगले पनि सफलता हात पारिन्। उनले चौथो चरणको खेलमा बलियो रुसी प्रतिद्वन्दी लुसी साफारोभालाई ७-६ (१), ७-६ (४) अंकले पाखा लगाइन्।
सन्् २००४ पछि पहिलो पटक तीन अमेरिकी महिला खेलाडी विम्बल्डनको क्वार्टरफाइनलमा पुगेका हुन्। सन् २००४ मा सेरेना, लिन्ड्से डेभोनपोर्ट र जेनिफर काप्रियाटी क्वार्टरफाइनलमा पुगेका थिए।
रुसी खेलाडी सारापोभाले भने चौथो चरणको खेलमा कजाकस्तानकी जरिना डियासलाई ६-४, ६-४ को सोझो सेटमा पराजित गरिन्। सारापोभा चौथो वरियताप्राप्त खेलाडी हुन्।
यसैबीच, क्यानडाका भासिक पोस्पिल पुरुष एकलतर्फको क्वार्टरफाइनलमा पुगेका छन्। उनले प्रतिस्पर्धात्मक खेलमा सर्बियाका भिक्टर ट्रोसिचीलाई ४-६, ६-७ (४), ६-४, ६-३, ६-३ अंकले हराए।
फ्रान्सेली खेलाडी रिचर्ड गास्क्वेट पनि क्वार्टरफाइनलमा पुग्न सफल भए। उनले चौथो चरणको खेलमा अस्ट्रेलियन खेलाडी निक किर्गियसलाई ७-५, ६-१, ६-७ (७), ७-६ (६) अंकले पराजित गरे।
स्रोत : अन्नपुर्णपोस्ट