ताजा खबर

ग्रिस सरकारलाई जनताको साथ   

एथेन्स, २०७२  असार २२,

ग्रिसका जनताले युरोपियन युनियन र आइएमएफको ‘बेल आउट’ प्रस्ताव अस्वीकार गर्दै मतदान गरेका छन् । युनियन र आइएमएफले प्रस्तावसहित सरकारले ऋण लिनुपर्ने दबाब दिइएको थियो । प्रधानमन्त्री एलेक्सिस त्सिप्रसाले जनतालाई प्रस्ताव स्विकार्ने कि नस्विकार्ने भनी जनमतसंग्रहको आह्वान गरेका थिए । यसका लागि सर्त स्विकार्न ‘एस’ र नस्विकार्न ‘नो’मा मतदान गर्नुपर्ने भनिएको थियो । प्रधानमन्त्री त्सिप्रसाले जनतालाई ‘नो’कै पक्षमा मतदान गर्न आग्रह गरेका थिए । जनताले ६१ प्रतिसत ‘नो’ कै पक्षमा मतदान गरेका छन् । ३९ प्रतिशतले ‘एस’को पक्षमा मतदान गरेका छन् । नतिजासँगै ग्रिस युरोजोनबाट बाहिरन सक्ने सम्भावना बढेको छ । प्रधानमन्त्री त्सिप्रासले जनतालाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री त्सिप्रासले पनि प्रस्तावसहितको ऋण स्वीकार नहुने निर्णय लिएका थिए । तर, युरोजोनकै दबाबका कारण उनले जनमतसंग्रहको बाटो अपनाए । उनले पनि जनतालाई पनि ‘नो’मा मतदान गर्न आग्रह गरेका थिए । युनियन र आइएमएफले ग्रिस जनतालाई ‘एस’ को पक्षमा भोटिङ गर्न आग्रह गरेका थिए ।

‘नो’ को पक्षमा मतदान गर्दा ग्रिसले योभन्दा पनि बढी समस्या झेल्नुपर्ने आइएमएफले चेतावनी दिइएको थियो । तर, जनताले प्रधानमन्त्री त्सिप्रासलाई विश्वास गर्दै ‘नो’कै पक्षम मतदान गरे । परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री त्सिप्रसाले जनतालाई धन्यवाद दिएका छन् । ‘तपाईंहरूले मेरो चाहनाअनुसारै मतदान गर्नुभएको छ, यसका लागि धेरै धन्यवाद छ,’ प्रधानमन्त्री त्सिप्रसाले भने, ‘अब जनताको भावनाअनुसार सरकारले निर्णय लिन्छ ।’ यता जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्दले जनमतसंग्रहको सम्मान हुनुपर्ने बताएका छन् । ‘युनियन र आइएमएफले ग्रिसको जनमतसंग्रहको सम्मान गर्नुपर्छ,’ जर्मन चान्सलर मर्केलले भनिन् । जनमतको नतिजा आएपछि जनताले खुसियाली मनाएका छन् ।

ग्रिसका अर्थमन्त्री यानिस वेरोफिकका अनुसार युरोजोनबाट हट्दा ग्रिसलाई एक हजार अर्ब युरो घाटा हुन सक्छ । ग्रिसलाई अर्थतन्त्र सुधार गर्न सन् २०१८ सम्म ५० अर्ब युरो चाहिन्छ । यसका लागि आर्थिक प्याकेज जरुरत पर्छ । विदेशमन्त्री युक्लिड स्कालोसले सरकारसँग जनादेश भएको बताए । यही जनादेशअनुसार सरकारलाई काम गर्न सजिलो भएको उनले बताए । ‘सरकारलाई जनताको पूरा साथ छ, जनताको विश्वास यथावत् राख्दै सरकारले तत्काल नयाँ योजना ल्याउनुपर्छ,’ विदेशमन्त्री स्कालोसले भने, ‘ग्रिसलाई योभन्दा पनि बलियो बनाउनुपर्छ ।’ अब के हुन्छ ? सर्तसहितको ऋण प्रस्ताव लिन नहुने नतिजा आएपछि सरकारले नयाँ योजनाको तयारी गरेको छ । प्रधानमन्त्री त्सिप्रासले युरोजोनका अर्थमन्त्रीसँग मंगलबार बैठक बोलाएका छन् । ‘हामी सबै मिटिङमा सहभागी हुन्छौँ, मलाई विश्वास छ, ग्रिस युरोजोनबाट बाहिरिँदैन,’ प्रधानमन्त्री त्सिप्रसाले भने, ‘यसको निर्णय बैठकले गर्नेछ ।’ बैठकले ग्रिसलाई युरोजोनबाट अलग राख्ने निर्णय गर्दा ग्रिसले नयाँ मुद्रा चलाउनुपर्छ । सरकारले नयाँ मुद्रालाई अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा ल्याउन समय लाग्ने विश्लेषकको भनाइ छ । युनियनले पनि ग्रिस युरोजोनबाट बाहिरिँदा धेरै प्रभाव पर्ने जनाएको छ ।

‘ग्रिस हाम्रो जोनबाट बाहिर रहँदा यसको असर सबै मुलुकमा पर्न सक्छ,’ युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई पनि हाम्रो शाखको चिन्ता छ ।’ आर्थिक मन्दीबाट उम्कन नसक्दा ग्रिसका ५० प्रतिशत युवा बेरोजगार छन् । ४८ घन्टामा निर्णय जनमतसंग्रहमा ‘नो’को पक्षमा बहुमत आएपछि ग्रिस युरोजोनबाट बाहिरिन सक्ने सम्भावना बढेको बिबिसीले जनाएको छ । अबको ४८ घन्टामा ग्रिस युरोजोनमै रहिरहने वा नरहने भन्ने निर्णय हुनेछ । मंगलबारै प्रधानमन्त्री त्सिप्राससहितको बैठकमा यसको निर्णय हुने ग्रिसका अर्थमन्त्री जर्जिगोस स्टाथाकिसले बताएका छन् । ‘ग्रिसको भविष्य ४८ घन्टाभित्र हुन्छ,’ उनले भने, ‘हामीलाई के निर्णय आउँछ भनी थाहा छ ।’ पाँच वर्षमा बिग्रियो अवस्था सन् २०१० मा आइएमएफ, युरोपियन केन्द्रीय बैंक र युरोपियन कमिसनले संयुक्त रूपमा ग्रिसलाई दुई खर्ब ४० अर्ब युरो ऋण दिएका थिए । आइएमएफ र केन्द्रीय बैंकले ऋण दिँदा सरकारी खर्च कटौती हुनुपर्ने प्रस्ताव राखेका थिए । तर, सरकारले खर्च कटौती गर्न नसक्दा बैंकको अवस्था दिनप्रतिदिन खस्कँदै गयो । बैकिङ अवस्था सुधार गर्न नसकेका कारण नै ग्रिसलाई आर्थिक संकटमा परेको बिबिसीले जनाएको छ ।

स्रोत : नया पत्रिका

Related posts