ताजा खबर

अमेरिका तेस्रोपटक च्याम्पियन 

एजेन्सी भान्कोभेर, २०७२  असार २२,

अमेरिका तेस्रोपटक महिला विश्वकप फुटबल प्रतियोगिताको विजेता बनेको छ । क्यानडाको भान्कोभेरमा आइतबार सम्पन्न फाइनलमा अमेरिका साविक विजेता जापानलाई ५–२ ले हराउँदै विश्व च्याम्पियन बनेको हो । अमेरिकालाई उपाधि दिलाउने क्रममा कार्ली लोयडले ह्याट्रिक गरेकी थिइन् । महिला विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने लोयड पहिलो महिला फुटबलर हुन् । यसअघि अमेरिकाले सन् १९९१ र १९९९ पनि उपाधि हात पारेको थियो । सन् २०११ को फाइनलमा जापान अमेरिकालाई पेनाल्टी सुटआउटमा निराश पार्दै विश्व च्याम्पियन बनेको थियो । भान्कोभेरको बिसी प्यालेस रंगशालामा लोयडले तेस्रो मिनेटमै अमेरिकालाई १–० को अग्रता दिलाइन् । खेलको पाँचाँै र १६औँ मिनेटमा गोल गर्दै लोयडले ह्याट्रिक पूरा गरिन् । ३२ वर्षीया लोयडले मेगान रापिनोको क्रसमा अमेरिकालाई अगाडि राखिन् । उनले दोस्रो गोल फ्रिकिकबाट गरिन् । लाउरेन होलिडे (१४) र टोविन हेथ (५४) आँै मिनेटमा गोल गर्न सफल रहे । खेलको २७औँ मिनेटमा योकी ओगिमीले जापानलाई ४–१ को अन्तरमा ल्याइन् । खेलको ५२आँै मिनेटमा युएस डिफेन्डर जुलिए जोनसनले आत्मघाती गोल गर्दा जापान ४–२ को अन्तरमा आयो । यसबाहेक अन्य जापानी खेलाडीले अमेरिकी पोस्टमा गोल गर्न सकेनन् । अमेरिका र जापान महिला टोलीबीच यो तेस्रो अन्तर्राष्ट्रिय फाइनल प्रतियोगिता थियो । सन् २०१२ को लन्डन ओलम्पिकको फुटबल फाइनलमा पनि अमेरिकाले जापानमाथि २–१ को जित दर्ता गरेको थियो । त्यसवेला पनि लोयडले नै दुई गोल गरेकी थिइन् ।

सन् २०११ को फाइनलमा लोयडले पेनाल्टी सुटमा असफल प्रयास गरेकी थिइन् । यसपटकको महिला विश्वकपमा लोयडले गोल्डेन बल पाएकी छिन् । बिसी रंगशालामा अमेरिकालाई समर्थन गर्न ५३ हजार तीन सय ४१ दर्शक थिए । जापानका लागि केही हजार मात्र दर्शक रहेको आयोजकले जनाएको छ । लगभग ९० प्रतिशत अमेरिकी समर्थनले रंगशालामा प्रतिस्पर्धा गर्न सहज भएको कप्तान लोयडले बताएकी छिन् । ‘हामीलाई क्यानडामा नभएर अमेरिकाकै घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेजस्तो लाग्यो, ९० मिनेट नै युएस, युएस भनी गुन्जायमान भइरहेको थियो,’ लोयडले भनिन् । यता, जापानी खेलाडीले खेलमा फर्कन निकै प्रयास गरेका थिए । तर, लोयडको प्रेरणादायी खेलअगाडि जापानका सबै प्रयास विफल भए । प्रतियोगितामा ६ गोल गरेकी लोयडले जर्मन स्ट्राइकर सेलिया सासिकको कीर्तिमान बराबरी गरेकी छिन् । गत संस्करणमा सेलियाले सर्वाधिक ६ गोल गरेकी थिइन् । खेलको १६ मिनेटभित्रै तीन गोल खाएपछि जापानी प्रशिक्षक नोरिओ सासारीले सबैभन्दा अनुभव खेलाडी हामारे सावालाई मैदानमा उतारे । सन् २०११ मा जापानले उपाधि जित्दा सावाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । तर, उनले पनि जापानलाई जित दिलाउन सकिनन् । खेल सकिन १० मिनेटअघि लोयड विस्थापित भइन् । उनले आफ्नो कप्तानी ब्यान्ड अबी वाम्बचलाई दिइन् ।

स्रोत  : नया पत्रिका

Related posts