काठमाडौं , २०७२ असार २१,
प्रधानमन्त्री सुशील कोइरालाले भारत र चीनबीच भएको लिपुलेक सम्झौतबारे सरकारले गम्भीरतापूर्वक कुटनीतिक पहल गरिहरेको बताएका छन् ।
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले लिपुलेक सम्झौताबारे दिएको ज्ञापनपत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझ्दै उनले सो कुरा बताएका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रम कोइरालाले यसबारे संसदमा सबै पार्टीले सरोकार राखेपछि परराष्ट्र मन्त्रीबाट पनि सदनलाई जानकारी गराउने काम भएको उल्लेख गरे । प्रम कोइरालाले लोकतन्त्र र राष्ट्रियतासहित हर विषयमा दलहरुबीच समान धारणा र चासो रहेमा राष्ट्र बलियो हुने बताए ।
प्रधानमन्त्री कोइरालाले मुलुकमा विपदमाथि विपद थपिदै गरेको उल्लेख गरे ‘भूकम्पले अब त मिल भन्ने पाठ दिएको छ’, प्रम कोइरालाले भने, ‘भूकम्पपछि चुनौतीसँगै सम्भावना पनि आएको छ ।’
संविधान निर्माणमा देखिएको सहमतिले समृद्ध नेपालको ढोका खोलेको पनि उनले बताए । उनले प्राकृतिक स्रोतको सदुपयोग भए मुलुकले समृद्धि हासिल गरी नेपालीले सुख पाउने उल्लेख गरे ।
‘देशका ऊर्जा लाखौं युवा बाहिर जानुपर्ने थिएन, यहीँ रोजगारी पाउँथे’, उनले भने, ‘आफ्नै देशको विकास गर्थे ।’
उनले लोकतान्त्रिक व्यवस्थालाई नै सबल बनाएर अगाडी बढाउन आग्रह गर्दै यो अवस्थामा आन्दोलनमा जान नहुने बताए । ‘अब मुलुक द्धन्द्ध र आन्दोलनमा गयो भने कठिन अवस्था आउँछ,’ उनले भने ।
प्रधानमन्त्री कोइरालाले नेकपा–माओवादीलाई सबैसँग एकताबद्ध भएर देश विकासमा अगाडी बढ्न अनुरोध गरे । ‘तपाईंहरुको चिन्ता र संवेदनशीलतालाई गम्भीरतापूर्वक लिएको छु’, उनले भने, ‘कुटनीतिक माध्यमबाट कुरा हुँदैछ ।’
स्रोत : अन्नपुर्णपोस्ट