पपुवान्युगिनी, २०७२ असार २१,
फुटबलमा हारजित स्वाभाविक हो तर, कहिलेकाहीँ कति गोलअन्तरको हार भन्ने विषयले पनि निकै चर्चा पाउने गर्छ। पपुवान्युगिनीमा आइतबार भएको यू-२३ उमेरसमूहको प्यासिफिक फुटबल प्रतियोगितामा हालसम्मकै ठूलो गोलअन्तरको हारजित भएको छ।
प्रतियोगितामा फिजीले माइक्रोनेसियालाई ३८-० गोलको फराकिलो अन्तरले हरायो। यो अन्तर्राष्ट्रिय फुटबलमा हालसम्ममै सर्वाधिक ठूलो गोल अन्तरको जितहार ह।
फिजीले पहिलो हाफमा २१-० गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा फिजीले १७ गोल थपेको थियो । फिजीका लागि एन्टोनियो टुइभुना एक्लैले १० गोल गरेका थिए। उमेर समूहको प्रतियोगिता भएका कारण विश्व फुटबल महासंघ (फिफा) ले भने यसलाई मान्यता दिने या नदिने भन्ने विषयमा हालसम्म निश्चित भइसकेको छैन।
यसअघि सन् २००२ मा भएको विश्वकप फुटबलको ओसियाना क्षेत्रको छनोट खेलका क्रममा अस्ट्रेलियाले अमेरिकन सामोआलाई ३१-० गोलले हराएको थियो। धेरै गोलअन्तरको हार खेपेको माइक्रोनेसिया पहिलो खेलमा पनि ठहिटीसँग ३०-० गोलले पराजित भएको थियो।
प्यासिफिक फुटबल प्रतियोगिता जुलाई १८ तारिखसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा प्यासिफिक आइल्यान्डका २४ वटा राष्ट्रले भाग लिएका छन्। यो प्रतियोगितामा अस्ट्रेलिया र न्युजिल्यान्डलाई पहिलो पटक सहभागी गराइएको छ।
प्यासिफिक खेलकुद प्रतियोगितामा अस्ट्रेलिया र न्युजिल्यान्डले तेक्वान्दो, सेलिङ, रग्वी र भारोत्तोलनका स्पर्धामा भाग लिएका छन्।
स्रोत : अन्नपुर्णपोस्ट