मस्यौदा च्यात्दैमा संविधान निर्माणमा कुनै असर गर्दैन : ओली

दमक, २०७२  असार २१,

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले एक÷ दुईजनाले संविधान नाम लेखेको कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर नगर्ने बताएका छन् ।

प्रेस चौतारी झापाको आयोजनामा दमक–१० स्थित ओली निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको प्रस्तावित मस्यौदाप्रति असहमति राखेर केही समूहले जलाउँदै हिँड्नुमा कुनै तुक नभएको बताए।

उनले यो ऐतिहासिक अवसर भएकाले केहीले विरोध गर्दैमा बाधा नपुग्ने र संविधान जारी भएर छाड्ने विश्वास व्यक्त गरे । केही नपुगेका विषय भए पछि संशोधन गर्न सकिने भन्दै अध्यक्ष ओलीले अव संविधान साउनको दोस्रो सातासम्ममा आएरै छाड्ने दाबी गरे ।

अध्यक्ष ओलीले संविधान निर्माणपछि मुलुक समृद्ध र लोकतन्त्रको संस्थागत विकासतर्फ अगाडि बढ्ने दाबी गरेका थिए ।

झापा क्षेत्र नं ७ का सभासद्समेत रहेका एमाले अध्यक्ष ओली आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका योजनाको अनुगमनका लागि झापा आएका हुन् ।

अध्यक्ष ओलीले आइतबार दमक–५ स्थित दुम्सेमा प्रस्तावित संसारकै अग्लो बुद्धको मूर्ति निर्माणस्थलको अवलोकनसहित त्यस क्षेत्रका बासिन्दासँग अन्तक्र्रियासमेत गरेका थिए ।

स्रोत : कारोबार

Related posts