एथेन्स, २०७२ असार २१,
आर्थिक संकटसँग जुधिरहेको ग्रिसमा बेलआउटका लागि युरोपेली युनियनको प्रस्तावमाथि आइतबार जनमतसंग्रह सम्पन्न भयो । आइतबार स्थानीय समयअनुसार बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । जनमतसंग्रहको नतिजा सोमबारसम्म आइसक्ने अनुमान छ । यो नतिजाले ग्रिसको भविष्य निर्धारण गर्नेछ । ग्रिस युरोपेली युनियनमा रहने–नरहने, ग्रिसलाई युरोपेली मुलुक तथा अन्य ऋणदाताले थप ऋण दिने/नदिनेजस्ता विषयको निक्र्योल पनि यही जनमतसंग्रहले गर्नेछ । ग्रिक सरकारले मतदातालाई युरोपेली युनियनका प्रस्ताव अस्वीकार गर्दै ‘नो’मा भोट दिन अनुरोध गरेको थियो । सरकारले युरोपेली प्रस्ताव माने ग्रिकको आत्मसम्मानमा चोट पुग्ने बताएको थियो । उता, विपक्षीले ‘नो’ले जिते ग्रिस युरोजोनबाट बाहिरिने भन्दै ‘यस’ अर्थात् युरोपेली प्रस्तावको पक्षमा मतदान गर्न अनुरोध गरेका थिए । उनीहरूले युरोजोनबाट ग्रिस बाहिरिए थप संकट सामना गर्नुपर्ने चेतावनी दिँदै आएका थिए । दुवै पक्षका मानिस सशक्त भएको सर्वेक्षणले देखाएका थिए । शुक्रबार अन्तिमपटक भएका सर्वेक्षणमा युरोपेली प्रस्तावको पक्षमा बढी मत परेको देखिएको थियो । तर, यी सर्वेक्षणलाई युरोपेली मुलुकले फन्डिङ गरेको र गलत आँकडा बाहिर ल्याइएको ग्रिक सरकारले आरोप लगाएको छ ।
ग्रिसका वित्तमन्त्री यानिस वेरोफाकिसले युरोपेली युनियनसँग ग्रिसलाई युरोजोनबाट बाहिर गर्ने कुनै अधिकार नभएकाले नडराउन मतदातासँग अनुरोध गरेका थिए । उनले जनमतसंग्रहअगाडि नै युरोपेली मुलुकले ग्रिसका बैंक बन्द गर्न बाध्य पारेको बताउँदै जनतालाई धैर्य गर्न र राम्रो नतिजाको प्रतीक्षा गर्न अनुरोध गरेका थिए । ‘जनता डराऊन् र हाम्रा चाहना पूरा हुन् भन्नका लागि युरोपेली युनियनले हाम्रा बैंक बन्द गरिदियो,’ उनले भने, ‘हामी डराउने होइन, आफ्नो भविष्यको फैसला आफैँ गर्ने हो ।’ ग्रिसका सबै बैंक गत सोमबारदेखि बन्द छन् । मानिसहरूले बैंकका एटिएमबाट दैनिक ६० युरोभन्दा धेरै निकाल्न पाएका छैनन् । उता, जर्मनी, बेलायत, फ्रान्सलगायतका देशले ग्रिसले आफ्ना सर्तहरू नमाने झन् समस्यामा पर्ने जनाएका छन् । उनीहरूले ग्रिसले तत्कालै युरोजोन छाड्न परे ग्रिसको अवस्था झन् भयावह हुन सक्ने चेतावनी दिएका छन् । तर, जर्मनीका केही नेताले तत्कालका लागि ग्रिक युरोजोनबाट बाहिरिए पनि त्यस्तो अवस्था लामो समय नरहने बताएका छन् । उता, आइतबार जनमतसंग्रहमा मतदान गर्दै ग्रिक प्रधानमन्त्री एलेक्सिस त्सिप्रासले जनताको चाहना कसैले पनि मेट्न नसक्ने बताएका छन् । ‘जनताको चाहना कसैले रोक्न सक्दैन,’ उनले भने, ‘जनताको फैसला मलाई पनि मान्य हुनेछ ।’
स्रोत : नया पत्रिका