काठमाडौं , २०७२ असार २१,
नेपाली राष्ट्रिय बास्केटबल टोली भारतको बैंगलोरमा आइतबार सम्पन्न दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपमा तेस्रो भएको छ।
च्याम्पियनसिपको अन्तिम खेलमा आइतबार नेपाली टोली श्रीलंकासँग ७६-६८ अंकले पराजित भएपछि तेस्रो स्थानमा चित्ता बुझाउन बाध्य भएको हो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भारत च्याम्पियन बन्दै २८औं फिवा एसिएन च्याम्पियनसिपमा छनोट भएको छ। एसिएन च्याम्पियनसिप आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ३ तारिखसम्म चीनमा आयोजना हुँदैछ। यसअघि नेपालले शनिबार भएको खेलमा बंगलादेशलाई ८४-७३ अंकले हराएको थियो। नेपालले भुटानलाई पनि ७२-५८ अंकले पराजित गरेको थियो।
च्याम्पियनसिपको पहिलो खेलमा भने नेपाल आयोजक भारतसँग ९०-३७ अंकले पराजित भएको थियो। बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई हराएपछि नेपाल बास्केटबल संघले टोलीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
संघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेन्डी शेर्पाले बलियो टोली बंगलादेशलाई हराएपछि टोलीलाई पुरस्कारको घोषणा गरेका हुन्।
शेर्पा पनि च्याम्पियनसिपका लागि भारत गएका थिए। च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी विकास शाहीले निर्वाह गरेका थिए।
सदिस प्रधानको कप्तानीमा रहेको नेपाली टोलीका अन्य खेलाडीमा राजीव महर्जन, विनोद श्रेष्ठ, सजय व्यञ्जनकार, विनोद महर्जन, युक्तभक्त माथेमा, आयुष सिंह, विजय पुर्जा, विक्रम जोशी, असीम श्रेष्ठ, सुव्रतराज उपाध्याय र अजय कुसुवा रहेका छन्।
टोलीको सहायक प्रशिक्षकमा दिनेशचन्द्र नकर्मी र रवीन्द्र महर्जन छन्।
स्रोत : अन्नपुर्णपोस्ट