ताजा खबर

वियोग नबनोस् योग  

२०७२, असार २०,

नेपालमा पछिल्लो समयमा कतिपय मानिस योगासनबाट आफ्नो दिनचर्या सुरु गर्छन् । यसले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्मा राम्रो प्रभाव पारिरहेको हुन्छ । योगासन गरेर कतिपयले ढाड दुख्दाको समस्या पनि कम गरेका छन् ।

शरीरमा लोच बढाउन योगासनले महत्वपूर्ण योगदान गर्छ तर योगासन सम्पूर्ण योगको एउटा अंश मात्र हो र जीवनमा खानपान, काम गराइ, व्यवहार, बोली आदि पनि शारीरिक र मानसिक स्वास्थ्यका लागि त्यतिकै महत्वपूर्ण हुन्छन् ।

‘म योग गर्छु’, आजभोलि धेरै व्यक्ति भन्ने गर्छन् । योग समुद्र पार गएर फेरि हाम्रै देशमा फर्किंदा एउटा ‘आ’ जोडेर फर्किएको छ र ‘योग’ योगा भएको छ । कतिपय योगगुरुले पहिल्यैदेखि नै योगको महत्वबारे बताउँदै आएका थिए, तर त्यस्ता योगगुरुसँग विज्ञापन गर्ने पैसा नभएकाले उनीहरूका कुरा कसैले सुन्दैनथे, तर अहिले विदेशबाट आएर पैसा तिरेर योग सिक्नेहरूको कमी छैन ।

केही साताअघि एकजना साथीले विदेशी महिलाबाट डेढ सातासम्म योग सिकिछन् र त्यसका लागि ६ हजार रुपैयाँ तिरिछन् । मैले भनें, ‘नेपालमा त कतिपय संस्थाले सित्तैमा सिकाउँछन् । त्यसमा गए त पैसा नै तिर्नु पर्दैनथ्यो ।’ पैसा तिरेपछि ‘योगा’ गरिन्छ, तर सहजमा पाएको योगको महत्व नै हुँदैन । नजिकको तीर्थ हेंला नै हुन्छ ।

योगले मानिसहरूको जीवनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास गरेर कतिपय मुटुरोग विशेषज्ञ, छाला विशेषज्ञ योग गर्न सल्लाह दिन्छन् । उनीहरूले बिरामीलाई ‘योगासनबाट जादु झैं रोग निको हुन्छ भन्ने विश्वास गरेर औषधि छोड्नु हुँदैन है’ भनेर बारम्बार भन्दै आएका पनि छन् । तर कतिपय प्रसिद्धि कमाएका योगगुरु बिरामीलाई ‘योगासन र अनुलोम–विलोम गरेपछि खाइरहेका औषधि छोडिदिए पनि हुन्छ’ जस्ता गलत सुझाव दिन्छन् ।

योगगुरुको सल्लाहपछि खाइरहेको औषधि सेवन गर्न छोडिदिएपछि बिरामी एकदम समस्यामा पर्छन् । कतिपयको त मृत्यु नै हुन्छ । एकजना मानसिक रोगविशेषज्ञले मसँग भनेका थिए, ‘डिप्रेसन भएको एकजना मानसिक रोगीलाई थोरै मात्रामा औषधि दिई एक वर्षमा मात्र भेट्न आउनू भनेर सल्लाह दिएर ठीक अवस्थामा राखेको थिएँ । एक दिन डिप्रेसन भयो भनेर उसलाई मकहाँ ल्याए । दुई महिनाको अघि र पछि हेर्दा राम्रो अवस्थामा रहेको मान्छे कसरी यस्तो भयो भन्ठानें, छक्क परें ।

‘कतै ठीक भयो भनेर औषधि त छोडेन ? ’, मैले परिवारका सदस्यसँग सोधें । पहिले त उनीहरूले मुखामुख गरे । केही बोलेनन् । पछि बिरामीको बहिनीले भनी, ‘योगगुरुले तिमी योगासन र श्वासप्रश्वासबाटै ठीक हुन्छौ भनेपछि दाइले औषधि सेवन गर्न छोडिदिनुभएको थियो । एक महिनासम्म त दाइलाई केही भएन । औषधि खान नपरेकोमा दाइ खुसी पनि हुनुभयो । तर एक महिनापछि समस्या देखा परिहाल्यो । १५ दिन अघिदेखि त एकदमै समस्या बढ्यो । खाना पनि खान छोड्नुभयो ।’ मैले ती बिरामीलाई बारम्बार भन्दै आएको थिएँ, ‘उहाँको औषधि निकै कम गरिदिएको छु, तर छोड्न हुँदैन ।’

ती मानसिक रोगविशेषज्ञले आफ्नो अनुभव सुनाउँदै फेरि भने, ‘पहिले त एकदम रिस उठ्यो । बिरामी र घरका मानिसहरूलाई झपारेर केही हुनेवाला थिएन । बिरामीलाई पुनः औषधि सेवन गर्न सुरु गरी १० दिनसम्म अस्पतालमा राखेपछि मात्र सुधार देखियो । परिवारलाई राम्रोसँग सिकाएर बिरामीलाई घर पठाएँ । अहिले त बिरामी र घरपरिवारका सदस्यले कुनै पनि हालतमा औषधि नछोड्ने भनेका छन् ।’

त्यस्तै घटना केही मुटुरोग विशेषज्ञ साथीहरूले पनि सुनाएका थिए । अर्का एकजना योगगुरुले रक्तचापका बिरामीलाई औषधि छोडे पनि योग गरेपछि ठीक हुन्छ भनेछन् । एकदुई साता त बिरामीलाई केही भएनछ । सुरुमा उनीहरूलाई पनि योगले धेरै लाभ भएको महसुस भएछ, योगले त गजबकै फाइदा गर्दा रहेछ । केही समयपछि त गाह्रो भएर आएछ । बिरामीलाई इमरजेन्सी कोठामा ल्याइपुर्‍याए । जाँच गर्दा रक्तचाप अति नै उच्च भएको पत्ता लाग्यो । एकजनाको त उच्च रक्तचापको कारण सघन कक्षमै मृत्यु भयो । एकजनाको पक्षघात भएर आधा अंग नचल्ने भयो ।

यस्ता घटना एकपछि अर्को देखा पर्दै गएपछि एकजना मुटुरोग विशेषज्ञ प्रकाश रेग्मीले योगागुरु रामदेवलाई पत्र लेखेछन्, जुन पत्र पत्रिकामा पनि प्रकाशित गरेछन्् । तर त्यो पत्र रामदेवकहाँ पुग्यो वा पुगेन भन्नेबारेमा थाहा पाउन नसकिए पनि ‘योगासनबाट सबै रोग जादु झैं ठीक हुन्छ’ भन्ने भ्रम अधिकांश बिरामीबाट हटाउन सकिए राम्रो हुनेछ ।

योगले शारीरिक समस्याबाट बच्न मद्दत गर्छ । एकजना परिचित व्यक्ति अत्यधिक ढाड दुःखेर डाक्टरकहाँ गएछन् । चिकित्सकले तुरुन्त शल्यकिया गर्न सल्लाह दिएछन् । तर अर्का हड्डीरोग विशेषज्ञले भनेछन्, ‘तपाईंको अहिल्यै शल्यक्रिया गर्न पर्दैन भनेर तौल घटाउन, केही दिन आराम गर्न, योग गर्न सल्लाह र दुखाइ कम हुने औषधि दिएछन् । ती परिचितले तौल घटाएछन्, योग गरेछन् । १५ वर्ष भयो, ढाडको समस्याबाट ती व्यक्ति मुक्त छन् ।

माथिका उदाहरण दिएर के भन्न खोजेको हो भने योगले शरीरिक समस्या र तनावबाट मुक्त हुन मद्दत गर्छ, रोगबाट बचावट गर्न सक्छ । यसका साथै समस्या भइसकेपछि पनि औषधि उपचारका साथै योग, खानपानमा परिवर्तन गरेर दैनिक जीवनमा हुने तनावको उपचार गर्न सकिन्छ ।

योग जीवन पद्धति हो । कतिजना योग गर्नका लागि योग गर्दा लगाउने लुगा र बिछ्याउने गद्दा किन्छन् र दुईचार दिनमा घरको कुनै कुनामा मिल्काउँछन्् । बिहान–बिहान योग गर्ने तर जीवनशैली नबदल्ने हो भने त्यसलाई योग भन्न सकिन्न ।

 मोटोपन घटाउन योग गर्ने तर मासुभात, घिउ खान नछोड्ने हो भने कसरी मोटोपन घट्ला ? योगले ‘पागलपन, सुस्त मनस्थिति, क्यान्सर आदिको ग्यारेन्टीका साथ उपचार गर्छु भनेर कसैले भन्छ भने त्यसलाई विश्वास नगर्नुस् ।

‘पेटमा रहेको बच्चालाई उल्टो अवस्थाबाट सुल्टो गराइदिन्छ’ भने पनि विश्वास गर्नु हुँदैन । रोग लागेपछि रोगको उपचार गर्नु राम्रो हुनेछ, तर योगको मात्रै भर पर्नु हुँदैन । यसका लागि सम्बन्धित उचित चिकित्सकको सल्लाहमा योग गर्न सकिन्छ । योगगुरुका भरमा मात्र खाइरहेको औषधि सेवन गर्न छोडियो भने योग गर्दागर्दा वियोग हुन सक्छ ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *