ताजा खबर

ललितपुरका सम्पदा बनाउन अर्बभन्दा बढी लाग्ने       

ललितपुर, २०७२ असार २०,

भूकम्पले क्षतिग्रस्त ललितपुरका पुरातात्त्विक महत्त्वका धार्मिक, सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्न १ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। पुरातत्त्व विभागले उपमहानगरपालिका, कार्यविनायक र ठेचोका गरी ३३ वटा मठमन्दिर, पाटीपौवा, अँगछे लगायतका पुरातात्त्विक महत्त्वका सम्पदाको पुनर्निर्माण गर्न उक्त रकम लाग्ने अनुमान गरिएको हो। विभागले पाटन दरबार स्क्वायरस्थित चार नारायण मन्दिर पुनर्निर्माणका लागि १५ करोड र हरिशंकर मन्दिरका लागि २ करोड रुपैयाँ बजेट निकासाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष प्रस्ताव गरिएको जनाएको छ। चार नारायण मन्दिर ५ वर्षमा पुनर्निर्माण गरिसक्ने प्रस्ताव छ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले दरबार स्क्वयारका दुई मणिमण्डप पाटीका लागि १० करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको बताए। ‘राजा योगनरेन्द्र मल्लको लाइफ साइज सालिक राखिएको थामका लागि ३५ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ,’ उनले भने, ‘दरबार स्क्वायरको उत्तरपट्टिको राधाकृष्ण मन्दिरका लागि २ करोड र बहादुर शाहको दरबार पुनर्निर्माणका लागि ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।’

यस्तै, विश्वनाथ मन्दिरको पुनर्निर्माण पाँच वर्षमा सम्पन्न हुने गरी ४ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। मूलचोकस्थित तलेजु मन्दिरका लागि ६० लाख र अँगछेंका लागि ३० लाख रकम माग गरिएको छ। सुन्दरीचोकका लागि पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १५ करोड रुपैयाँ बजेट मन्त्रालयमा प्रस्ताव गरिएको छ।

त्यस्तै भूकम्पले क्षतिग्रस्त पाटन शंखमूलस्थित जगतनारायण मन्दिर र सत्तलका लागि १५ करोड, सुन्धाराको शिव मन्दिरका लागि २ करोड, इखालखु टोलको विष्णु मन्दिरका लागि १० लाख र पुल्चोकको स्तूपाका लागि ५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

नगरोन्मुख गाविस ठेचो लाइझोल र पुखुसी टोलस्थित सत्तल र बालकुमारी मन्दिर पुनर्निर्माण गर्न २/२ करोड बजेट प्रस्ताव गरिएको छ। आर्थिक वर्ष २०७२/७३ का लागि मिसा फल्चा (महिला पाटी) पुनर्निर्माण गर्न १० लाख रुपैयाँ माग गरिएको छ। चिबहालस्थित सत्तलका लागि १ करोड, बालकुमारी पीठ र

ब्रह्मायणी मन्दिरका लागि ४०/४० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। सुनाकोठीस्थित भृगारेश्वर मन्दिर र पाटी पुनर्निर्माण गर्न ७० लाख र उमामहेश्वरको पाटीका लागि २० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। त्यस्तै भूकम्पले पूर्ण ध्वस्त भएको बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण गर्न पाँच वर्षका लागि १५ करोड रुपैयाँ बजेट माग गरिएको छ। भैरव, मनकामना मन्दिर र गुठी घरका लागि १०/१० करोड रुपैयाँ बजेट माग गरिएको छ। आर्थिक वर्ष २०७२/७३ मा पञ्चबुद्ध मन्दिर पुनर्निर्माण गर्न ४० र कार्यविनायकका लागि ३० लाख माग गरिएको छ। त्यस्तै खोकनास्थित रुद्रायणी मन्दिर पुनर्निर्माण गर्न आर्थिक वर्ष ०७४/७५ का लागि १ करोड रुपैयाँ माग गरिएको छ।

स्रोत  : कान्तिपुर

Related posts