ताजा खबर

यार्चा किलोको २८ लाख

रुकुम,  २०७२ असार २०,

जिल्लामा यार्चागुम्बा पाइने मैकोटस्थित बुकी पाटनमै यो बहुमूल्य जडिबुटी प्रतिकिलो २८ लाखमा बिक्री भएको छ। सिजन व्यवस्थापन समितिका अनुसार यस वर्ष मूल्य निकै बढेको छ।

यस वर्ष पानी र हिमपातले ठूलो असर नगरेकाले यार्चागुम्बुको उत्पादनसमेत राम्रो भएको सिजन व्यवस्थापन समितिका सल्लाहकार वीरभान विकले जनाए। अघिल्लो वर्ष प्रतिकिलो २४ लाखमा बिक्री भएको यार्चा यस वर्ष पाटनमै २८ लाखमा बिकेकाले संकलक उत्साहित भएको उनले बताए। उनले यार्चाको संकलन कार्य नरोकिएकाले मूल्य बढ्न सक्ने जानकारी दिए। ‘राम्रो भाउ पाएकाले अझै एक महिनासम्म संकलनको काम जारी हुनेछ,’ उनले टेलिफोनमा भने, ‘अघिल्लो वर्षभन्दा यस वर्ष मोटो खालको यार्चा भेटिएकाले समेत संकलकहरू उत्साहित छन्।’

यार्चागुम्बुको प्रतिगोटा दुई हजारसम्म भाउ पुगेको संकलकहरूले बताएका छन्। जेठको दोस्रो साताबाट संकलन कार्य खुला गरिएको थियो। बुकीपाटनमा डेढ महिनादेखि ४ हजार ३ सय जनाले यार्चागुम्बु संकलन गरिरहेको सिजन व्यवस्थापन समितिले जनाएको छ। समितिका अनुसार १ सयभन्दा बढी व्यापारीले अनुमतिपत्र पाएका छन्।

अहिलेसम्म करिब ४० किलो यार्चाको कारोबार भएको सल्लाहकार विकले बताए। रन्मामैकोट गाविसका पुपाल, पुर्वाङ, फूलबारी, पानीढाल, माजेला, नाउरे, नयाँ वनलगायतका ठाउँमा यार्चा पाइन्छ। जेठको दोस्रो सातादेखि यार्चागुम्बु संकलन सुरु भएको हो। यार्चागुम्बु संकलनका लागि रुकुमका २० भन्दा बढी गाविसका साथै छिमेकी जाजरकोट, सल्यान, रोल्पालगायतका जिल्लाका आधा दर्जन जिल्लाबाट ४ हजारभन्दा बढी स्थानीय बासिन्दा बुकीपाटन गएका छन्। अहिले यहाँका २० भन्दा बढी गाविसका बासिन्दा यार्चागुम्बु टिप्न गएपछि गाउँहरू सुनसान बनेका छन्।

जिल्लाका उत्तरी र पूर्वी एक दर्जन गाविसका बासिन्दाहरूको आयआर्जनको मुख्य स्रोत यार्चा संकलन हो। वर्षभरिको खर्चको जोहो यार्चाको बिक्रीबाट उठेको रकमले गरिने भएकाले बुकीपाटनमा मानवसागर ओर्लिएको प्रहरी निरीक्षक पुरनबहादुर क्षेत्रीले जनाए। वैशाखको अन्तिमतिर यार्चागुम्बु टिप्न गएकाहरू साउन अन्तिम साता मात्र घर फर्कन्छन्।

अझै यार्चा टिप्न जाने क्रम नरोकिएको प्रहरीले जनाएको छ। यार्चा संकलनस्थलमा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रहरी कार्यालयले १२ जना प्रहरीको टोली परिचालन गरिरहेको निरीक्षक क्षेत्रीले जानकारी दिए।

स्रोत : कान्तिपुर

Related posts