ताजा खबर

गोली हानेर डन पक्राउ, भाग्न खोज्दा खुट्टामा तीन राउन्ड गोली  

भूकम्पमा सिन्धुपाल्चोक जेलबाट भागेका डन सन्की लामा भनिने रावणजित तामाङलाई प्रहरीले सुन्धाराको बेबिलोन डिस्कोबाट पक्राउ गरी गाडीमा राख्न खोजेको थियो, तर भाग्न खोजेपछि प्रहरीले उनको खुट्टामा तीन राउन्ड गोली हानेको छ । प्रहरीलाई अवरोध गर्ने उनका साथी उमेश श्रेष्ठ पनि पक्राउ परेका छन् ।

काठमाडौं, २०७२  असार २० ,

भूकम्पको मौका छोपी जेलबाट भागेका एक गुन्डालाई प्रहरीले गोली हानेर डिस्कोबाट पक्राउ गरेको छ । लागुऔषध तथा अपहरण मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका सन्की लामा भनिने रावणजित तामाङलाई प्रहरीले शनिबार बिहान सुन्धारामा गोली हानेर पक्राउ गरेको हो । सुन्धाराको बेबिलोन डिस्कोबाट पक्राउ गरी गाडीमा राख्न खोज्दा भाग्न खोजेपछि प्रहरीले तामाङको खुट्टामा तीन राउन्ड गोली हानेको हो । उनलाई पक्राउ गर्दा प्रहरीलाई अवरोध गर्ने लामाका साथी उमेश श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका डिएसपी रमेश थापा नेतृत्वको टोलीले तामाङलाई पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरीलाई नै दुव्र्यवहार गरेर भाग्न खोजेपछि गोली हानिएको महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए । १२ वैशाखको भूकम्पमा लामा सिन्धुपाल्चोक कारागारबाट भागेका थिए । जग्गा व्यवसायी गौरीकुमार खत्रीलाई २५ लाख नदिए गोली हानेर मारिदिने धम्की दिएको घटनामा तामाङ २८ असार ०६८ मा पहिलोपटक पक्राउ परेका थिए । सहयोगी हीरामणि सापकोटासहित उनी पक्राउ परेकोमा २२ साउनमा काठमाडौं जिल्ला अदालतले अपहरण उद्योग मुद्दामा उनीहरूलाई ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।

धरौटीमा रिहा भएपछि उनी गुन्डागर्दीमा अझै सक्रिय हुँदै गए । छुटेपछि काठमाडौं परिसरमा कार्यरत डिएसपीलाई नै उनले फोन गरेर धम्क्याएका थिए । छुटेको आठ महिनापछि २१ वैशाख ०६९ मा तामाङ फेरि पक्राउ परेका थिए । खैरो हेरोइन ३० ग्रामसहित प्रहरीले उनलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले दोषी ठहर गरी १० वर्ष कैद सजाय सुनाएको थियो । काभ्रे नारायणस्थान घर भएका उनले काभ्रेली समूहमा आबद्ध भएर गुन्डागर्दी गर्दै आएका थिए । पक्राउ परेका उनका साथी श्रेष्ठ पनि आपराधिक पृष्ठभूमिका भएको एसएसपी खनालले बताए ।

उनी अपहरण मुद्दामा जेल बसेर छुटेका व्यक्ति हुन् । त्यस्तै, उनी ०५४ मा ठैँटीमा एक करोड रुपैयाँ डकैती गरेको घटनामा एक वर्ष जेल परेर छुटेका थिए । तामाङ र श्रेष्ठ दुवैजना मिलेर भक्तपुरमा गुन्डागर्दीमार्फत पैसा असुली गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरूबाट अरू पनि पीडित भएको हुनसक्ने भन्दै उजुरी गर्न प्रहरीले आग्रह गरेको छ । गुन्डागर्दीविरुद्ध कडा रूपमा प्रस्तुत हुने संकेत गृहमन्त्री वामदेव गौतमले देशमा गुन्डागर्दी बढिरहेको भनेर प्रहरीको आलोचना गरेकै भोलिपल्ट प्रहरीले गुन्डालाई गोली हानेर नियन्त्रणमा लिएको हो । गुन्डागर्दीविरुद्ध कडा रूपमा प्रस्तुत हुने यो संकेत भएको प्रहरी स्रोत बताउँछ । अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले गुन्डागर्दी नियन्त्रणलाई आफ्नो प्राथमिकता बनाएका छन् । राजनीतिक आवरणमा गुन्डाहरू सक्रिय हुँदै गएपछि पछिल्लो समय प्रहरी कडा रूपमा प्रस्तुत हुँदै आएको छ । गत वर्ष साउनमा प्रहरी इन्काउन्टरमा राजधानीका डन दिनेश अधिकारी ‘चरी’को मृत्यु भएको थियो । उनको मृत्युपछि डनहरू डराएकोमा पछिल्लो समय फेरि सक्रिय हुँदै गएका छन् । आपराधिक गतिविधिबाट कमाएको पैसाको आडमा उनीहरू राजनीतिक रूपमा समेत शक्तिशाली हुँदै गएका छन् । गुन्डागर्दी बढेकै सूचनाका आधारमा अपराध महाशाखा पनि उनीहरूविरुद्ध कडा रूपमा प्रस्तुत हुने तयारीमा छ ।

स्रोत : नयाँ पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *