ताजा खबर

नेपालको सान्त्वना जित 

काठमाडौ, २०७२ असार २०,

नेपालले नेदरल्यान्ड्सविरुद्धको चार खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रियशृंखलाको अन्तिम खेलमा ३ विकेटको सान्त्वना जित पाएको छ। यसअघि नेपालले नेदरल्यान्ड्सलाई जनवरीमा नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा हराएको थियो।

शुक्रबार राति नेपालको जितका बाबजुद शृंखला ३–१ ले नेदरल्यान्ड्सको पक्षमा गएको छ।

कप्तान पारस खड्काको प्रदर्शनप्रेरित नेपालले नेदरल्यान्ड्सले दिएको १ सय ४० रनको लक्ष्य दुई बल बाँकीमा पूरा गरेको हो। तीब्रगतिका युवा बलर सोमपाल कामीले दुई बलखेल्दै दुई चौका प्रहार गरेपछि नेपालले जित पाएको थियो। जबकि अन्तिम ओभरमा नेपाललाई ६ रन आवश्यक थियो।पहिलो बलमा प्रदीप ऐरीलाई गुमाएपछि सोमपाल र वसन्त रेग्मीले क्रिज सम्हाले। सोमपालले कभर ड्राइभमा चौका प्रहार गर्दै खेल जिताए।

टस जितेको डच टोलीले रोटरड्याम मैदानमा २० ओभरमा ७ विकेट गुमाई १ सय ३९ रन बनायो। रोइलोफ भान डेर मेर्वीले अविजित ४०, कप्तान पिटर बोरेनले २७, ओपनर रहिल अहमेदले २५ र मिचेल रिप्पोनले अविजित २२ रन जोडेका थिए। नेदरल्यान्ड्सका ओपनर टोवाइज विसी (५) लाई सोमपालले तेस्रो ओभरमा बोल्ड गर्दै विकेट सुरुआत गरेका थिए। आठौं विकेटमा भान डेर र रिप्पोनले अविजित ५६ रनको साझेदारी गरेकपछि डच टोलीको स्कोर बढेको थियो।

अलराउन्डर सागर पुनले ३ र वसन्त रेग्मीले २ विकेट लिए। सागरले ४ ओभरमा २६ रन र वसन्तले ४ ओभरमा ३१ रन खर्चेका थिए।

लगातार तीन खेल हारेको नेपालको सुरुआती ब्याटिङ फितलो देखियो। ओपनर सागर ४ र अनिल मण्डल ९ रन जोडेर आउट भए। पहिलो ओभरमै सागर भान डेरको बलमा पाउल भान मिकेरिनबाट क्याचआउट भए। सागर आउट हुँदा नेपालले ४ रन मात्र बनाएको थियो। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका अनिलले रनआउट हुनुअघि १६ बल खेल्दै ९ जोडेका थिए।

कप्तान पारसले ट्वान्टी–२० करिअरमा पाचौं अर्धशतक प्रहार गर्दै शृंखलामा ‘ह्वाइटवास’ हुनबाट टोलीलाई जोगाएका थिए। उनले ५४ रन बनाए। ४१ बलमा ६ चौका प्रहार गरेका पारसले पाँचौं विकेटमा शरद भेषावकरसँग ४४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। टोलीलाई जितका लागि १० रन आवश्यक हुँदा उनी १८.५ ओभरमा मुदासार बुखारीको बलमा बोरिनबाट क्याचआउट भए। पारस नेदरल्यान्ड्सका असान मलिकसँगै प्लेयर अफ द सिरिजबाट पुरस्कृत भए।

नेपालका लाागि उपकप्तान ज्ञानेन्द्र मल्लले १८, विनोद भण्डारीले १३ र शरदले १२ रन जोडे। प्रदीपऐरी ६ रनमा आउट भए। शरद र प्रदीपलाई मलिकले बोल्ड गरे। दोस्रो विकेटमा ज्ञानेन्द्र र अनिलले २५ रनको साझेदारी गर्दै नेपाललाई अघि बढाएका थिए। नेदरल्यान्ड्सका मलिकले ३ र भान डेर मेर्वीले २ विकेट लिए।

नेपालले पहिलो खेलमा १८ रन, दोस्रोमा १ सय ३ रन रतेस्रो खेलमा पनि१८ रनले पराजय भोगेको थियो।

नेपाल वरीयताभित्र

शुक्रबार नेदरल्यान्ड्ससँग खेलेपश्चात नेपाल विश्व ट्वान्टी–२० क्रिकेटको वरीयतामा समेटिएको छ। विश्व वरीयतामा पर्न आठ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नुपर्ने प्रावधान छ।

नेपालले एक वर्षअघि बंगलादेशमा भएको विश्व ट्वान्टी –२० क्रिकेटमा अफगानिस्तान, हङकङ र बंगलादेशसँग खेलेको थियो। अफगानिस्तान ९ र हङकङलाई ८०रनले पराजित गरेको नेपाल बंगलादेशसँग ८ विकेटले हारेको थियो।

बंगलादेशमा भएको प्रतियोगिताबाटै नेपाललाई आइसिसीले ट्वान्टी–२० को मान्यता दिएको थियो। त्यसपछि नेपालले श्रीलंकामा हङकङसँग एक अन्तर्राष्ट्रिय खेल खेल्यो। नेदरल्यान्ड्ससँगचार खेल खेलेपछि नेपाल विश्व ट्वान्टी–२० वरीयतालाई लायक भएको हो।

नेपाली टोली नेदरल्यान्डबाटै स्कटल्यान्ड र आयरल्यान्डमा जुलाई ९ देखि हुने विश्व ट्वान्टी–२० छनोट प्रतियोगितामा भाग लिन जानेछ। प्रतियोगिताअघि नेपालले जुलाई ६ मा ओमान र ७ मा युएईसँग अभ्यास म्याच खेल्नेछ। नेपाल रहेको समूह ‘ए’ मा हङकङ, आयरल्यान्ड, जर्सी, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन्। नेपालको पहिलो खेल जुलाई १० मा अमेरिकासँग हुनेछ।

स्रोत : नागरिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *