काठमाडौं, २०७२ असार २०,
पछिल्लो केही समय साम्य भएजस्तो देखिएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई पक्षबीचको विवाद फेरि बल्झिएको छ ।
संस्थापन पक्षले पार्टीलाई नयाँ बनाउन नचाहेको र आफूहरूलाई पेलेको गुनासो गर्दै आयोजना गरेको भेलामा भट्टराईले डेढ घन्टा प्रशिक्षण दिएपछि दुईपक्षीय विवाद छताछुल्ल भएको हो ।
भट्टराई पक्षको समानान्तर काठमाडौं जिल्ला समितिले शनिबार नयाँबानेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजना गरेको उपत्यकास्तरीय वैचारिक राजनीतिक प्रशिक्षणमा भट्टराईसहित आफू पक्षधर नेताहरू सहभागी रहेको तस्बिर उनी आफैंले सार्वजनिक गरेका छन् । पार्टी अध्यक्षको दाबी गर्दै आएका भट्टराई सहभागी उक्त प्रशिक्षण भेलामा संस्थापन पक्षका नेता तथा कार्यकर्ता सहभागी थिएनन् ।
१२ वटा जिल्लामा समानान्तर समिति सञ्चालन गर्दै आएका दाहाल र भट्टराई दुवैले वाम ध्रुवीकरणका पक्षमा आफू रहेको दाबी गर्दै आएका छन् । ‘एमालेदेखि विप्लवसम्मका सबै वाम ध्रुवीकरण हुने बेला आइरहेको छ । त्यसको नेतृत्व हामीले गर्नुपर्छ’, भट्टराईको भनाइ उद्धृत गर्दै भेलामा सहभागी नेता गंगा श्रेष्ठले अन्नपूर्णसँग भने ।
भट्टराई पक्षको भेलामा भट्टराई, टोपबहादुर रायमाझी, हिसिला यमी, नवराज सुवेदी, देवेन्द्र पौडेल, प्रभु साह, श्रेष्ठ, भक्ति पाण्डेसहितका नेता सहभागी थिए ।
उपत्यकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षा र आर्थिक विकास गर्दै समाजवादको दिशामा अघि बढ्ने संकल्प गरिएको भट्टराईले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।
‘पार्टीलाई रूपान्तरण गर्न र नयाँ बनाउनका लागि गरिएको प्रशिक्षिण भेला हो’, श्रेष्ठले भने, ‘रूपान्तरणका लागि पार्टीभित्र र बाहिर कार्यदिशामा बहस गर्नुपर्छ ।’
श्रेष्ठका अनुसार भूकम्पले मुलुकलाई क्षतविक्षत बनाएझैं आफ्नो पार्टी पनि क्षतविक्षत रहेको भन्दै भट्टराईले क्षतविक्षत भएको पार्टीलाई बनाउनुपर्ने दायित्वबारे पनि कार्यकर्तालाई सम्झाएका थिए ।
संस्थापन पक्षले असार ७ गते पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको प्रशिक्षणमा पनि भट्टराई पक्षका नेताकार्यकर्ता सहभागी थिएनन्् । उक्त भेलामा कृष्णबहादुर महराले प्रशिक्षण दिएका थिए ।
भट्टराई पक्षका नेताहरूले संस्थापन पक्षका नेता कृष्णबहादुर महरा, वर्षमान पुन र शक्तिबहादुर बस्नेतले पूर्वी र पश्चिम नेपालमा पनि आफू पक्षधर कार्यकर्ताको भेला गर्दै आएका कारण आफूहरूले छुट्टै भेला बोलाउनुपरेको दाबी गरेका छन् । वैचारिक रूपमा दाहाल अस्पष्ट रहँदै आएको र आफूहरू पहिलेदेखि नै प्रस्ट रहँदै आएको दाबी पनि भट्टराईले गरे ।
आफूले शान्ति र संविधानको मुद्दा उठाउँदा दाहालले विद्रोहको मुद्दा उठाएको प्रसंग उल्लेख गर्दै भट्टराईले भने, ‘संविधानसभाबाट अगाडि बढ्ने कुरा गर्दा हामीलाई कारबाही गरे । पछि त्यही बाटोमा उहाँहरू पनि लतारिएर आउनुभयो । बालाजु, खरीपाटी र पालुङटारका भेलाहरूमा पनि काशी र कुती दुवैतिर जाने बाटो अवलम्बन गर्नुभयो । त्यसरी हिँड्दा न काशी पुगियो, न त कुती ।’
०६९ जेठ २ गतेको सहमति लागू गर्न पनि मोहन वैद्यका कुरा सुनेर दाहाल पछाडि हटेको दाबी भट्टराईले गरे । ‘अहिलेको १६ बुँदेभन्दा ०६९ जेठ २ गतेको सहमतिअनुसार संविधान बनेको भए धेरै प्रगतिशील बन्थ्यो । जेठ २ गतेको सहमतिमा अडिन नसक्दा धेरै गुमाउनुपर्यो । अहिलेको सहमतिमा पनि नअडिने हो भने संविधानसभा असफल हुन्छ र ठूलो क्षति बेहोर्नुपर्छ’, भट्टराईले भने ।
भट्टराई पक्षले आयोजना गरेको भेलालाई अवैधानिक भन्दै दाहाल पक्षका काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्माले भट्टराई पक्षका जिल्ला अध्यक्ष महेन्द्र श्रेष्ठसहित गुटको भेला बोलाउनेहरूलाई अध्यक्ष दाहालले कारबाही गर्नुपर्ने बताए ।
स्रोत : अन्नपुर्णपोस्ट