ताजा खबर

एक अर्बको घ्यू उद्योगमै थन्कियो 

काठमाडौं, २०७२ असार २०,

नेपाली घ्यूकोतुलनामा भारतबाट आयातित सस्तो भएपछि स्वदेशी उद्योगको उत्पादन तीन महिनादेखि स्टोरमा थन्किएर बसेको छ। सरकारलेबिदेशबाटघ्यू आयात गर्दा २ सय ५० रुपैयाँ भन्दा बढी मूल्य राख्न नपाइने नियम बनाएपछि स्वदेशी उद्योगसँग तीन महिनादेखि घ्यू बिक्री रोकिएको हो।

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन र डेरी उद्योगबाट उत्पादित घ्यू स्टोरमै थन्किएपछि व्यवसायीका साथै किसान समेत चिन्तित छन्।

भन्सार विभागका अनुसार विदेशबाट घ्यू आयात गर्दा २ सय ५० रुपैयाँभन्दा बढी मूल्य राख्न नपाइने प्रावधान छ। सो मूल्य र १५ प्रतिशत भन्सार लाग्छ। भारतमा एक लिटर घ्यूको कम्पनीमूल्य ४ सय ५० भारतीयरुपैयाँ पर्छ। नेपालमा आउँदा ७ सय २० रुपैयाँ हुन्छ। त्यसमा ढुवानी१० प्रतिशत,भन्सार राजस्व१५ प्रतिशत, भ्याट १३ प्रतिशतजोडदा नेपालमा एक लिटर घ्यू मूल्य ९ सय ९० रुपैयाँ हुनुपर्ने हाल ७ सय ५० मा नेपालमा आयातित घ्यू पाइने नेपाल डेरी एसोसिएसनले बताएको छ।

नेपाल डेरी उद्योगसँग हालसम्म ६ सय टन घ्यू स्टक रहेको छ। यो कूल ४० करोड रुपैयाँ बराबरको घ्यू हो। दुग्ध विकास संस्थानसँग पनि ६ सय टन घ्यू रहेको छ।यो पनि ४० करोड रुपैयाँ बराबरको हो।नेपाल डेरी एसोसिएसनसँग पनि हालसम्म २ लाख ५५ हजार केजी स्टक रहेको छ। एक केजी घ्यूको मूल्य ७ सय ५० रुपैयाँका दरले हिसाब गर्दा २० करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको घ्यू थन्किएको छ।

दुग्ध विकास संस्थानका महानिर्देशक गंगा तिमल्सेनाका अनुसार स्टकमा भएको घ्यू बिक्री नभएसम्म आयातमा कडाइ गर्नुपर्ने सुझाए। ‘सबै उद्योगी तथा डिडिसीसँग १ हजार ५ सय टन घ्यू स्टक छ,’उनले नागरिकसँग भने, ‘स्टक रहेको घ्यू बिक्री नभइञ्जेलसम्म आयातमा कडाइ गर्नुपर्छ।’

केही दिन अघि कृषि विकास मन्त्रलायमा भएको छलफल कार्यक्रममा निजीक्षेत्र तथा सरकारसँग के/कति स्टक छ त्यसको आधारमा आयात रोक्न सकिने बारेमा छलफल भएको एक अधिकारीले बताए। भारतबाट सस्तोमा आयात गर्न दिने हो भने, भोली घ्यू होलिडे हुने फेरी किसानले सडकमा दूध फालेर विरोद्ध गर्नुपर्ने अवस्था आउने निजीक्षेत्रका प्रतिनिधिले बताएका छन्।

‘अबको दुइ महिनापछि नेपालमा दूध उत्पादन हुने सिजन आउँछ। अहिलेको स्टकलाई तत्काल बिक्री गर्न नसके घ्यू होलिडे आउछ,’डेरी एसोसिएसनका महासचिव प्रहलाद दाहालले नागरिकसँग भने,’यसलाई राज्यले तत्काल समाधान नगरे आगामी दिनमा विकराल स्थित आउने पक्का छ।’

हाल सरकारी स्वामित्वमा रहेको डिडिसी र निजीक्षेत्रसँग अहिले एक अर्ब रुपैयाँबराबरको घ्यू तथा बटर थन्किएर बसेको छ। अहिले दूध उत्पादन हुने सिजन होइन। तरपनि ठूलो परिमाणमा स्टक बसेकाले मिल्क होलिडे मात्रै नभइ घ्यू होलिडेको सम्भावना समेत बढ्यो।

चालू आर्थिक वर्षमा दूधको उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्ने गरी बिक्री कार्यक्रम ल्याएपनि घ्यू तथा मख्खन बिक्री नहुँदा किसानका साथै उद्योगी समेत चिन्तित बनेका छन्। सरकारले गाइ पालन गर्ने किसानलाई सहुलियत दरमा ऋण, घासँको बिरुवामा खरिदमा अनुदानदिएको छ। त्यसैगरी, डेरी उद्योगलाई चिलिङ मेसिनमा ५० प्रतिशत अनुदान दिएको छ।

एकातिर दूधमा आत्मनिर्भर बनाउने खालका कार्यक्रम ल्याउने र अर्कोतर्फ आयात हुँदै आएको दूध तथा घ्यूमा भन्सार दर नबढाउने हो भने, सरकारी लगानी बालुका पानी हुने सम्भावना भएको नेपाल डेरी उद्योग संघका अध्यक्ष प्रदीप महर्जनले बताए। ‘लगानी गरे अनुसारको भन्सार दर पनि बढाउँदै जानुपर्छ,’नागरिकसँभने, ‘होइन भने, राज्यले गरेको लगानीको कुनै अर्थ हुँदैन।’

स्रोत : नागरिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *