एजेन्सी, २०७२ असार २०,
बलिउडका लभर हिरो शाहिद कपुरले आगामी मंगलबार बिहे गर्दै छन् । उनले ७ जुलाईमा गुडगाउँस्थित ओबराय होटलमा प्रेमिका मीरा राजपुतसँग लगनगाँठो कस्न लागेका हुन् । उनको बिहेको कार्ड पनि छापिइसकेको छ । ३४ वर्षीय शाहिदकी हुनेवाला पत्नी मीरा भने २३ वर्षकी छिन् । शाहिदको बिहेमा आफन्ती र अति निकट व्यक्तिलाई मात्र निम्तो दिइएको छ भने रिसेप्सन पार्टीमा भने तमाम बलिउडकर्मीलाई बोलाइएको छ । बिहेभोजमा विशेषगरी शाहिदसँग फिल्ममा काम गरेका कलाकर्मी भने नछुट्ने बताइएको छ । बिहे पार्टी भने १२ जुलाई, मुम्बईमा दिने तय भएको छ । अचेल शाहिद बिहेकै तयारीमा व्यस्त छन् ।