ताजा खबर

रोटरी क्लवले एक बर्षमा एक करोड लगानी

दिननाथ बराल,
पोखरा, २०७२  असार २०,

पोखराका सडक वालकलाई खेलकुद प्रशिक्षण गराउने भएको छ । रोटरी क्लव अफ पोखरा फिस्टेलले पोखरा क्षेत्रमा रहेका सडक वालकहरुलाई खेलप्रति आकषर्ण गर्न सडकमा रहेका वालकहरुलाई खेलकुदको प्रशिक्षण गराउने भएको छ । सडक वालकहरुलाई खेलकुदको माध्यमबाट पुनस्थापना गर्ने उद्धेश्यले यस्तो अभियान सुरु गर्न लागिएको रोटरी क्लव अफ पोखरा फिस्टेलका अध्यक्षमा तेज गुरुङ्गले बताए । उनले भने “सडक वालकहरुलाई मनोवैज्ञानिक रुपमा परामर्श दिने, फुटवल, भलिवल, ह्याण्डवल र बास्केटवल खेलको बारेमा जानकारी सहित प्रशिक्षण गराउने हाम्रो लक्ष्य छ ।” भकुण्डोबाट जिवन परिवर्तन भन्ने नाराका साथ मुख्य रुपमा भकुण्डको खेललाई पहिलो प्रथामिकता दिए पनि मार्सल आर्टका खेलको बारेमा समेत प्रशिक्षण गराउने भएको उनले बताए । उनका अनुसार हाल पोखरा क्षेत्रमा १ सय ११ जना वालकहरु रहेका छन । नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष र कसमस कलेजका कार्यकारी निर्देशक समेत रहेका गुरुङ्गले कम्तीमा पनि आफुहरुले ५० प्रतिशत जसो वालकहरुलाई खेलकुदको माध्यमबाट उनीहरुलाई जिवन परिवर्तन गराउन सकिने बताए ।

१० देखि १८ बर्ष उमेर समुहका वालकहरुलाई हप्तामा कम्तीमा पनि तीन दिन पोखरा रंगशालामा खेलकुदको प्रशिक्षण गराउने योजना भएको अध्यक्ष गुरुङले बताए । उक्त अभियानको लागि १० लाख खर्च हुने भएको उनले बताए । सडकका वालकहरुलाई खेलकुुदको प्रशिक्षणका साथमा खेलसामाग्रि तथा पोशाक समेत वितरण गरीने भएको अध्यक्ष गुरुङले जनाए । सन् २००३ स्थापना भएको रोटरी क्लव अफ फिस्टेलले आफ्नो स्थापनाको १२ वर्षमा २ करोड ६५ लाख मूल्य बरबरको सामाजिक कार्यमा खर्च गरेको निवर्तमान अध्यक्ष रमकान्त बरालले बताए । आफ्नो कार्यकालमा मात्र करीब एक करोड मुल्य बराबरको सामाजिक क्षेत्रमा काम भएको बरालले दाबी गरे । उनका अनुसार पर्वतको हुवाज खानेपानी योजनामा करीब ३८ लाख, ताप्लेजुङको सुनदेवि मावि पुनः मर्मतको लागि ३८ लाख, भूकम्प प्रभावितहरुको राहत वितरणमा करीब २० लाख खर्च भएको निवर्तमान अध्यक्ष बरालले बताए । उनले थालनी गरेका योजनाहरु अन्तिम चरणमा पुगेकोले अध्यक्ष गुरुङको पालमा हस्तान्तरण हुने भएको छ । भूकम्पले प्रभावित भएका कुनै बिद्यालयमा क्लवले अधिकत्तम २५ लाख रुपैया सम्म लगानी गर्न खोजेको अध्यक्ष गुरुङले बताए ।

यसैविच, रोटरी क्लव अफ पोखरा फिस्टेलको अध्यक्षमा तेज गुरुङ्गले शबिनार पदभार ग्रहण गरेका छन । आगामी वर्ष सन् २०१५÷१६ का लागि गुरुङ्गले सो क्लवको पदभार सम्हालेका हुन । पोखरामा आयोजित एक समारोहमा गुरुङ्गलाई रोटरीका डिस्ट्रिक्ट गर्भनर इलेक्ट जया राज्य लक्ष्मी शाहले पदभार ग्रहण गराएका हुन।

Related posts