ताजा खबर

कसरी पच्छ हामीले खाएको खाना ? JULY 4TH

२०७२ असार १९,

जताबाट पठाएको उतै फर्केलाजस्तो भयो, वाक्कै आउलाजस्तो भयो, आन्द्रा बटारिएर आयो, पेट हुँडल्यो, कटक्क पेट काट्यो, थुकथुकी लाग्यो, घाँटीमा अमिलो पानी आयो, पेट पोल्यो, छाती पोल्यो, नाक थुनेर खाएँ, श्रद्धा लाग्दैन, मेरो शरीरले सहँदैन, आउँ पर्यो, पखाला लाग्यो, पचेन आदि हामी सबैलाई हुन्छ । तर, किन यस्तो हुन्छ भनेर हामी त्यति सोच्दैनौँ ।

यी माथिका सम्पूर्ण कुरा पाचन प्रणालीसँग सम्बन्धित छन् । हामीले खाएको खानाले करिब ३० फिटको कतै मोटो, कतै पातलो, कतै नरम, कतै कडा नलीभित्र यात्रा गर्नुपर्छ । सामान्य अवस्थामा यो यात्रा १६ देखि २४ घन्टाभित्र पूरा हुन्छ, तर बीचमा अवरोध आएमा अवरोध हेरीकन पाँच मिनेटभित्रै टुंगिन पनि सक्छ । अनि, ४८ घन्टासम्म लाग्न पनि सक्छ ।

खाना खाएपछि पेटमा जान्छ, पच्छ र नपचेको बाहिर निस्कन्छ, यो हामीले साधारण हिसाबले भनेजस्तो सामान्य छैन यो पच्ने कुरा । हाम्रो शरीरलाई विभिन्न प्रकारका खाद्यतत्व आवश्यक हुनु, खाना खानु र खाएको खाना पाचन भई शरीरमा लाग्नु, यसमा थुप्रै जटिल र आश्चर्यलाग्दा प्रक्रिया छन् ।

अखाद्य वस्तु त हाम्रो शरीरले कहिल्यै स्विकार्दैन नै । कुनै पनि खाद्य वस्तु स्वीकार गर्न समेत चार अवस्था पूरा हुनुपर्छ– खानेकुरा सुन्दर हुनुपर्छ, बास्नादार हुनुपर्छ, त्यसलाई मनले स्वीकार्नुपर्छ र त्यसले हानि–नोक्सानी गर्दैन भन्ने कुरामा शरीर अभ्यस्त तथा विश्वस्त हुनुपर्दछ ।

देख्दै घीन लाग्ने खानेकुरा जतिसुकै बास्नादार र पौष्टिक होस्, दुर्गन्धित खानेकुरा हेर्दा जतिसुकै सुन्दर र खाँदा पौष्टिक होस्, मनले नस्विकारेको वस्तु जतिसुकै बास्नादार, सुन्दर र पौष्टिक होस् र नयाँ खानेकुरा खान शरीर अभ्यस्त नभएसम्म जस्तोसुकै फाइदाजनक हाम्रो शरीरले स्विकार्दैन ।

तसर्थ, सर्वप्रथम हामी आँखा, नाक र मनबाट खान सुरु गर्छौं । त्यसैले पाचनको थालनी पनि त्यहींबाट प्रारम्भ हुन्छ । आँखा, नाक र मनले स्विकारेका खानेकुराहरू पेटमा नपुग्दै पाचन प्रणालीसँग सम्बन्धित कैयौं अंगहरू प्रभावित र गतिशील भई प्रतिक्रिया जनाउन थालिहाल्छन् । अमिलो अथवा मन परेका खानेकुरा देख्दा मुख रसाउनु, खाना पर्खेका बेला वा मीठो बास्ना नाकमा पर्दा झन् भोक लाग्नु यसकै परिणाम हुन् ।

आँखाले देखेर शरीरले प्रतिक्रिया जनाउने कुराहरू त खानाबाहेक पनि सयौँ हुन्छन् । कुनै मान्छे देख्नेबित्तिकै मन पर्नु वा मन नपर्नु, राम्री महिलालाई देख्दा पुरुष र राम्रो पुरुष देख्दा महिला कल्पनामा बग्नु, अश्लील चित्र हेर्ने मान्छेले विकृत मैथुन गर्नु पनि शरीरले जनाउने प्रतिक्रियाका अन्य परिणाम हुन् । भिन्नता यत्ति छ कि फरक–फरक अवस्थामा फरक–फरक अंगहरू फरक–फरक किसिमले प्रभावित हुन्छन् । यहाँ भन्न खोजेको कुरा बुझिहाल्नु भयो होला । एउटै वस्तु समेत राम्रो देख्दा र नराम्रो देख्दाको शरीरको प्रतिक्रिया फरक हुन्छ ।

हाम्रो शरीरलाई विभिन्न कामका लागि विभिन्न प्रकारका खानेकुरा चाहिन्छ । हुन त एउटै खाने वस्तुमा पनि शरीरलाई चाहिने धेरै प्रकारका तत्व पाइन्छन्, तर पनि बुझ्नका लागि साधारण दृष्टान्त दिनुपर्दा भात, रोटी, आलु आदिमा कार्बोहाइड्रेट पाइन्छ, जसले शरीरलाई तुरुन्तै शक्ति प्रदान गर्छ । तेल, घिउ, नट आदिमा चिल्लो पदार्थ पाइन्छ, जसले भिटामिन सोस्न, शक्ति प्रदान गर्न, जाडोबाट बचाउन सहयोग गर्छ ।

चोकरयुक्त खाना, हरियोपरियोमा फाइबर पाइन्छ, जसले पाचनमा सहयोग पुर्याउनुका साथै कब्जियत, केही प्रकारका क्यान्सर, मधुमेह र मुटुको रोगबाट जोगाउन भूमिका खेल्छ । माछा, मासु, अन्डा, गेडागुडी, दुग्धपदार्थ आदिमा प्रोटिन पाइन्छ, जसले हर्मोन बनाउने, शरीरका कोष वृद्धि र तन्दुरुस्त राख्ने, विभिन्न इन्जाइमसँग मिलेर आवश्यक रासायनिक प्रतिक्रिया गर्नेलगायत थुप्रै महत्वपूर्ण काम गर्छ ।

नुन, दूध, कलेजो आदिमा फलामलगायत खनिज पदार्थ हुन्छन्, जुन जीवकोष राम्रोसँग रहन, बाँच्न, शरीरका मांशपेसीको मस्तिष्कसँग सम्बन्ध स्थापित गर्न अति आवश्यक हुन्छन् । फलफूल, हरियो तरकारी, दुग्धपदार्थ आदिमा भिटामिन पनि पाइन्छ, जसले शरीर तन्दुरुस्त राख्न सहयोग गर्छ ।

शरीरले प्रोटिन बनाउँछ । तर भिटामिन बनाउँदैन, त्यसैले यो एकदम महत्वपूर्ण छ । शरीरलाई चाहिने सबै तत्व र कुन तत्वमा के–के पाइन्छ भन्ने सबै कुरा यो सानो लेखमा व्याख्या गर्न सम्भव छैन । यो विषय एकदम बृहत् छ । त्यसैले प्रसंग बदलौं ।

फेरि पाचन प्रक्रियामैं फर्कौं । हामीले ख्याल गरेका हुँदैनौं तर अति अचम्म र विशिष्टको छ, यो पाचन प्रक्रिया । हाम्रो शरीरमा हुने विभिन्न प्रकारका अंगको विशेष काम र भूमिका हुन्छ । एउटै नामको अंग पनि अलिकति फरक हुनेबित्तिकै काम पनि फरक भइहाल्छ, जस्तै : हाम्रा अगाडिका दाँतले लुच्ने र टुक्रा पार्ने गर्छन् । कुकुर दाँतले फुटाउने र चुँडाउने काम गर्छन्, अनि बंगाराले कुट्ने र पिन्ने काम गर्छन् ।

खाना मुखमा नहाल्दैदेखि ¥यालग्रन्थीहरू सक्रिय भई ¥याल निकालिरहेका हुन्छन् । त्यही ¥यालसँग जिब्रोले खाना मुच्छ र डल्लोजस्तै पारेर तर्कुलोबाट निल्ने नली (एसोफागस) मा धकेल्छ । एक दिनभरिमा हाम्रो मुखबाट मात्रै दुई लिटरसम्म ¥याल निक्लिन्छ ।

हुन त श्वासनली र निल्ने नली फरक–फरक हुन्छन्, तर तर्कुलोमा आएर जोडिन्छन् । खाना निल्दा एउटा सानो एपिग्लटिस् नामको ढकनी (फ्लाप) ले खानालाई श्वासनलीमा जानबाट रोकी निल्ने नलीतर्फ झर्न सहयोग गर्छ । यो नलीबाट झरेको खानालाई पेटले एक संयन्त्र प्रयोग गरी तल आमासयमा तान्छ र खाना पेटमा पुग्छ । ठोस वस्तु आमासयमा पुग्न झन्डै आठ सेकेन्ड लाग्छ भने तरल पदार्थ एक सेकेन्डमै पुग्छ । यो अवरोधबिनाको खाना आमासयमा पुग्ने प्रक्रिया भयो ।

यो प्रक्रियामा सामान्यभन्दा सामान्य अवरोध आए के हुन्छ त ? जिब्रोमा मीठो–नमिठो, ताजा सडेगलेको तुरुन्त छुट्याउन सक्ने ‘सेन्सरसिप’ क्षमता हुन्छ । त्यही सेन्सरको मद्दतले नै जिब्रोले खराब वस्तु मुखमा पुग्नेबित्तिकै थाहा पाई थुक्न सन्देश दिन्छ । कुहेको बदाम, कीरा भएको केराउ, कटुस तथा लिची मुखमा पर्दा कस्तो हुन्छ, ख्याल गर्नु भएको होला ।

त्यस्तै, निल्ने बेला कुनै तरल अथवा ठोस वस्तुको कण श्वासनलीमा छिर्यो भने सर्किन्छ । निलेको कुनै वस्तुको सानो कण पनि निल्ने नलीमा बाँकी रह्यो भने छातीमा ढ्वाक्क केही अड्किएझैं हुन्छ आदि ।

निल्ने नली, आमासय, आमासयसँग जोडिएको सानो आन्द्राको भाग (डोडेनम), सानो आन्द्रा, ठूलो आन्द्रा र मलद्वार (रेक्टम) सम्मको यो लामो नलीलाई विज्ञानमा पाचन प्रणालीको सुरुङमार्ग ग्यासट्रोइनटेसनियल ट्रयाक भनिन्छ ।

प्राविधिक रूपले भन्दा यो नलीमा रहुन्जेल खाना शरीरबाहिर भए जस्तै–जस्तै हो । किनकि यदि हानिकारक पदार्थ अथवा कीटाणु यो नलिभित्र प्रवेश गर्यो भने हाम्रो शरीरले स्वीकार्दैन र त्यो चीज हाम्रो शरीरको आफ्नै संयन्त्रले नै उक्त नलीको कुनै एक छेउबाट, कहिले त दुवै छेउबाट, फाल्ने निर्देशन दिन्छ । साहाकारीले मासु वा बच्चाले कफी, रक्सी आदि खाँदाझैँ ।

हामीले खाने खाना टुक्रिएर, गलेर, घोलिएर एकदम साना अणुमा परिणत नभईकन शरीरले लिन सक्दैन । शरीरले खाना लिने भनेको खाएको खाना चन्दनजस्तै मसिनो भई विभिन्न प्रक्रियाबाट सोसिएर रगतमा पुगेर त्यहाँ पनि विकार छानिएर रगतको माध्यमले शरीरका विभिन्न कोषमा पुग्नु हो । त्यसो हुनका लागि एउटा विशेष प्रक्रिया पूरा हुनुपर्छ । तर, मिनरल, भिटामिन र पानी भने पच्नुपर्दैन । फाइबर पनि पच्दैन र शरीरले लिँदैन पनि, यसले मात्र खाना सही समयमा सही गतिले चल्न सहयोग गर्छ ।

आमासयमा खाना पुगेपछि त्यहाँ हाइड्रोक्लोरिक अम्ललगायत खानालाई छिटै गलाउन सक्ने थुप्रै रसायन तत्त्व निस्कन्छन् । एमिलस भन्ने रसायनले माडजस्ता ‘स्टार्च’ तथा चिनी ग्लुकोज आदिलाई टुक्र्याउँछ, प्रोटिज भन्ने रसायन तत्वले प्रोटिन र अमिनो एसिडलाई टुक्र्याउँछ, लिप्से भन्ने तत्वले बोसो र बोसे एसिड (फ्याटी एसिड) आदिलाई टुक्र्याएर मसिनो बनाउँछन् ।

खाइने वस्तु पनि वस्तु हेरीकन पच्न लाग्ने समय फरक हुन्छ । जस्तै, अंगुर पच्न एक सय पाँच मिनेट, केरा एक सय ८०, भेन्टा दुई सय १० र बदाम पच्न एक सय ९५ मिनेटसम्म लाग्छ । विभिन्न प्रकारका वस्तु गलाउने रसायन पनि फरक–फरक हुन्छन् । आमासयका लागि पनि कुनै एक समयमा एकै प्रकारका खानेकुरा ठीक हुन्छन् । किनकि त्यसो हुँदा खाना गाल्नका लागि शरीरले मूलतः एकै प्रकारको रसायन उत्पादन र प्रयोग गर्दछ ।

तर, हाम्रो शरीरलाई धेरै प्रकारका खानेकुरा चाहिन्छ । धेरै प्रकारका वस्तुहरू गाल्न धेरै प्रकारका रसायन उत्पादन हुन्छन्, अनि विभिन्न रसायनहरूको एकआपसमा मिश्रण हुँदा अन्य प्रतिक्रिया पनि हुन्छ र ग्यास पनि धेरै उत्पन्न भई पेट कराउने, डकार आउने, पाध आउने आदि हुन्छ ।

खाना खाएको कम्तीमा १–२ घन्टासम्म त पानी पिउनु पनि हुँदैन । किनकि पानीले एकातर्फ रसायनहरूलाई पातलो बनाइदिन्छ भने, अर्कोतर्फ खानाका केही कणहरू नपच्दै तल बगाइदिन्छ ।

पचाउने काममा कलेजो, पित्त र प्यांक्रियाजको पनि एकदम ठूलो भूमिका हुन्छ । प्यांक्रियाजले कार्बोहाइड्रेड, बोसो, प्रोटिन आदि पचाउने काम गर्नुको साथै रगतमा गुल्कोजको मात्रा समेत सन्तुलन गर्ने काम गर्छ भने कलेजोले पित्त उत्पादन गरी शरीरलाई बोसो सोस्न सहयोग गर्नुको साथै रगतका विकारहरू छान्ने काम गर्दछ ।

आमासयमा मसिनो लेदो बनेपछि त्यो लेदो डुडेनम हुँदै सानो आन्द्रामा प्रवेश गर्दछ र एकोहोरो घुम्दै–घुम्दै अगाडि बढ्छ । सानो आन्द्रा नरम, पातलो र लामो हुन्छ । यसको भित्रपट्टी भिली भन्ने मसिना छिद्र र रगत रेसा हुन्छन् । तिनैले नै मसिनो भएका खानाका अणुहरू बिस्तारै सोसेर लिन्छन् र त्यो सोसेर लिएको कुरा रगत बहने ठाउँ ब्लड स्ट्रिममा प्रवेश गर्दछ ।

सानो आन्द्राबाट छिर्न नसकेका र बढी तरल बनी बगेर गएका, तर अझै उपयोगी तत्त्वहरू, ठूलो आन्द्राबाट शरीरले सोसेर लिन्छ । त्यति गर्दा पनि बाँकी रहन आएको पदार्थ शरीरले तलबाट बाहिर फालिदिन्छ ।

स्रोत  : रातोपाटी

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *