ताजा खबर

ब्राउनसँग नाडाल स्तब्ध,

एजेन्सी लन्डन, २०७२ असार १९,

स्पेनिस स्टार राफेल नाडाल विम्बल्डन ग्रान्डस्लाम टेनिस प्रतियोगिताको दोस्रो चरणबाट बाहिरिएका छन् । जर्मन खेलाडी डस्टिन ब्राउनले दुईपटकको विजेता तथा तीनपटकका उपविजेता नाडाललाई ७–५, ३–६, ६–४ र ६–४ को सेटमा पाखा लगाएका हुन् । १४ पटकको ग्रान्डस्लाम च्याम्पियन नाडाल विम्बल्डन ओपनमा लगातार चौथोपटक क्वार्टरफाइनलमा पुग्न सकेनन् । चारैपटक उनी सय बरियतानजिक रहेका खेलाडीसँग पराजित भए । नाडालले सन् २००८ र १० मा विम्बल्डन उपाधि जितेका थिए । उनी २००६, ०७ र ११ का उपविजेता पनि हुन् । नाडी र ढाडको समस्याका कारण उनले महत्त्वपूर्ण प्रतियोगितामा आफ्नो क्षमताअनुसार खेल्न सकेनन् । अस्ट्रेलिया र फ्रेन्च ओपनमा पनि नाडाल क्वार्टरफाइनलबाटै बाहिरिए । ग्राउन्डस्ट्रोक र शक्तिशाली सर्भिसका कारण नाडालले ग्रान्डस्लाममा अधिपत्य जमाएका थिए । दोस्रो चरणमा उनले आफ्नो मुख्य हतियारलाई कमजोर बनाए । विम्बल्डन टेनिसमा सहभागिता जनाउँदा नाडाल एटिपी पुरुष बरियताको दशौँ स्थानमा थिए । अब दोस्रो चरणबाटै बाहिरिएपछि नाडाल शीर्ष दशबाटै बाहिरिनेछन् । हारपछि नाडालले चोट नै प्रमुख समस्या बनेको बताए । ‘चोटकै कारण मेरो प्रदर्शन राम्रो भएन, यस्तै चलिरह्यो भने टेनिस करिअर नै समाप्त हुन्छ,’ नाडालले भने, ‘विम्बल्डनको प्रत्येक सिजनमा मेरो प्रदर्शन खस्किरहेको छ ।’ यता सनसनी नतिजा निकालेका ब्राउनले नाडालमाथिको जित जीवनकै ठूलो भएको बताए । ‘यो मेरो अहिलेसम्मकै ठूलो जित हो,’ ब्राउनले भने, ‘नाडाललाई ग्रासकोर्टमा हराउन निकै मुस्किल छ ।’ यसैगरी पुरुषतर्फ फ्रेन्च ओपन विजेता स्टान वारिन्का चौथो चरणमा प्रवेश गरेका छन् । वारिन्काले स्पेनिस खेलाडी फर्नान्डो भार्डास्कोलाई ६–४, ६–३ र ६–४ ले पराजित गरे । चौथो चरणमा वारिन्काले डेभिड गोफिनविरुद्ध खेल्नेछन् ।

स्रोत : नया पत्रिका

Related posts