ताजा खबर

फाल्काओ चेल्सीमा 

एजेन्सी लन्डन, २०७२ असार १९,

इंग्लिस प्रिमियर लिग विजेता चेल्सीले फ्रेन्च क्लब मोनाकोका कोलम्बियन स्ट्राइकर राडमेल फाल्काओलाई लोनमा अनुबन्ध गरेको छ । गत सिजन फाल्काओ लोनमै म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए । म्यानचेस्टरमा फाल्काओले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उनले २६ खेलमा चार गोल मात्र गरेका थिए । चेल्सीका प्रशिक्षक जोसे माउरिन्होले मुख्य स्ट्राइकर डिडिएर ड्रोग्बा बाहिरिएपछि नयाँ स्ट्राइकरका रूपमा फाल्काओलाई भित्र्याएको बताएका छन् । फाल्काओ भित्र्याउन चेल्सीले क्रोएसियाका युवा मिडफिल्डर मारियो पासालिकलाई लोनमा मोनाको पठाएको छ । पहिलो प्रिमियर लिग सिजन उत्कृष्ट बनाउन नसकेका फाल्काओले चेल्सीमा राम्रो गर्ने बताएका छन् । गत जनवरीयता उनले गोल गरेका छैनन् । गत सिजन फाल्काओ भित्र्याउँदा निकै चर्चा भएको थियो । कोलम्बिया र मोनाकोबाट उत्कृष्ट प्रदर्शन गरेका फाल्काओबाट म्यानचेस्टरले ठूलो आशा लिएको थियो । यसैकारण म्यानचेस्टरले उनीमाथि २ करोड ५० लाख पाउन्ड खर्च गरेको थियो । यसका साथै म्यानचेस्टरले बोनससहित प्रतिसाता २ लाख ८५ लाख पाउन्डको पारिश्रमिक पनि दिएको थियो । चेल्सीले फाल्काओको पारिश्रमिक तोकेको छैन । तर, प्रशिक्षक माउरिन्होले उनको क्लब मोनाकोलाई राम्रो रकम दिएको जनाएका छन् । चेल्सीमा आबद्ध भएपछि फाल्काओले खुुसी व्यक्त गरेका छन् । ‘चेल्सीसँग आबद्ध हुन पाउँदा धेरै खुसी छु, विश्वकै उत्कृष्ट प्रशिक्षकको प्रशिक्षणमा मेरो प्रदर्शनमा थप निखार आउनेछ,’ फाल्काओले भने, ‘ममाथि दिइएको जिम्मेवारी शतप्रतिशत पूरा गर्छु ।’ फाल्काओले गत सिजन म्यानचेस्टरमा बिताएको क्षण बिर्सिएर नयाँ जीवनको सुरुवात गर्ने बताए । ‘गत वर्ष म्यानचेस्टरमा सोचेजस्तो प्रदर्शन भएन, यसपटक चेल्सीमा उत्कृष्ट प्रदर्शन गर्नेछु,’ उनले भने ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *