काठमाडौं, २०७२ असार १९,
भूकम्पपछिको पुनर्निर्माण तथा नवनिर्माण सार्वजनिक निजी–साझेदारी मोडलमा गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । सरकार एक्लैले पुनर्निर्माण गर्न नसक्ने हुँदा निजी क्षेत्रलाई समेत भूमिका दिन निजी क्षेत्रले माग गरेको हो । उद्योग वाणिज्य महासंघको शुक्रबारको विशेष साधारणसभामा नवनियुक्त अध्यक्ष पशुपति मुरारकाले महासंघको मुलुकभर रहेका संगठनको उपयोग गरी सार्वजनिक निजी साझेदारीमा पुनर्निर्माण गर्न सरकारसँग माग गरे । ‘सरकारले पुनर्निर्माणका लागि प्राधिकरण गठन गरेको छ, तर त्यसमा निजी क्षेत्रको प्रतिनिधित्व गराइएको छैन,’ उनले भने, ‘प्राधिकरण गठन संरचनामा निजी क्षेत्रको अनिवार्य प्रतिनिधित्व गराउन आग्रह गर्दछु ।’ भूकम्पपछिको पुनर्निर्माण तथा नवनिर्माणमा सरकारलाई कसरी सहयोग गर्ने भन्नेबारे निजी क्षेत्रले समेत अध्ययन गरिरहेको उनले जानकारी दिए । सोही अवसरमा उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले पुनर्निर्माण तथा नवनिर्माणमा सरकारले निजी क्षेत्रको विशेष भूमिका खोजेको बताए । उनले सरकार सार्वजनिक निजी साझेदारी मोडलमा कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे । मन्त्री सिंहले संविधानमा निजी क्षेत्रका मुद्दालाई प्राथमिकता दिइने बताउँदै त्यसका लागि सुझाब दिन आग्रह गरे । ‘संविधान निजी क्षेत्रको हितमा समेत हुनेछ,’ उनले भने, ‘संविधानमा अटाउनुपर्ने तपाईंका मुद्दा हामीलाई संगाठनिक रूपमै आएर दिनूस् ।’ उपप्रधानमन्त्री सिंहले महासंघलाई अझ बलियो संगठनका रूपमा विकास गर्नसमेत उद्योगी व्यवसायीलाई सुझाब दिए । ‘सांगठनिक रूपमा आउने विचारको महत्त्व बढी हुन्छ,’ उनले भने, ‘निजी क्षेत्र पनि सांगठनिक रूपमा बलियो र इमानदार हुनुपर्छ ।’ सोही अवसरमा महासंघ उपाध्यक्ष किशोर प्रधानले अब एकढिक्का भएर अघि बढ्ने बताए ।
उनले महासंघभित्र भएको गुटको राजनीति सकिएको समेत दाबी गरे । ‘हामी निजी क्षेत्र हिजो पनि एक थियौँ, आज पनि एक छौँ र भोलि पनि एक हुनेछौँ,’ उनले भने, ‘अझ बढी सहकार्य र सहमति गरी अघि बढ्नेछौँ ।’ उपाध्यक्ष प्रधानले पुनर्निर्माण र नवनिर्माणमा सघाउन निजी क्षेत्र तयार रहेको बताए । सार्वजनिक निजी साझेदारीमै पुनर्निर्माण हुनुपर्नेमा जोड दिँदै प्रधानले निजी क्षेत्रलाई विश्वासमा लिन सरकारसँग आग्रह गरे । महासंघको विशेष साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले पशुपति मुरारकालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । महासंघको कार्यकारिणी समिति बैठकले भवानी राणालाई सर्वसम्मत वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा राणा उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा भवानी राणा निर्वाचित भएकी छन् । महासंघको कार्यकारिणी बैठकले वरिष्ठ उपाध्यक्षमा राणालई सर्वसम्मत रूपमा चयन गरेको हो । विशेष साधारणसभाबाट कार्यबाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका अध्यक्षमा निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्षको पद रिक्त थियो । चुनावी प्रक्रियाबाट राणालाई सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गरिएको हो । योसँगै राणा महासंघको इतिहासमै पहिलो महिला वरिष्ठ उपाध्यक्ष भएकी छिन् । नेपालगन्जस्थित स्नेहा होटल प्रालिकी सञ्चालक राणा हाल महासंघको कृषि उद्यम केन्द्रकी सभापति हुन् ।
२०६४ चैतमा महासंघको कार्यकारिणी सदस्य भई महासंघमा प्रवेश गरेकी राणा २०६४ चैतमा महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित भएकी थिइन् । उनी अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा पशुपति मुरारकासँग पराजय भएकी थिइन् । राणाको कृषि, पर्यटन र होटल व्यवसायमा लगानी छ ।
स्रोत : नया पत्रिका