ताजा खबर

कसले जित्ला ग्रिसमा जनमतसंग्रह ? 

२०७२ असार १९,

ग्रिसको खस्कँदो अर्थतन्त्र सुधारका लागि युरोपेली देश तथा ऋणदाताले ल्याएको प्रस्ताव स्विकार्ने वा अस्वीकार गर्ने विषयमा आइतबार ग्रिसमा जनमतसंग्रह हुँदै छ । प्रधानमन्त्री एलेक्सिस सिप्रास युरोपेली प्रस्ताव अस्वीकार गर्नुपर्छ भन्ने पक्षमा जोडदार प्रचार गरिरहेका छन् ।

उनको विरोध गर्नेहरू पनि नभएका होइनन् । ग्रिसले समयमै अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण तिर्न सकेको छैन । त्यसैले, आइतबार हुने जनमतसंग्रहलाई प्राथमिकताका साथ हेरिएको छ । जनमतसंग्रहले नै ग्रिस युरोजोनमा रहने/नरहने पनि निर्धारण गर्नेछ । शुक्रबार भएका दुवै पक्षका शक्तिशाली प्रचारका कारण कुन पक्षले जित्ला भन्ने सहज अनुमान गरिएको छैन ।

यसकारण “नो”ले जित्न सक्छ

प्रधानमन्त्री एलेक्सिस सिप्रास नै यसको प्रचारमा लागेका छन् । युरोपेली प्रस्तावले ग्रिसको आत्मसम्मानमा ठेस पुर्‍याएको ‘नो’लाई समर्थन गर्नेले प्रचार गरेका छन् । आफ्नो र देशको आत्मसम्मानको विषय भएकाले ‘नो’ले जित्ने सम्भावना बढी छ ।

प्रधानमन्त्री एलेक्सिस, सत्तारुढ दललगायत अन्य समर्थक भनिरहेका छन्– ‘नो’ले जिते नयाँ प्रस्ताव आउनेछन् जसले देशको अर्थतन्त्र बलियो बनाउनेछ । ‘नो’ले जिते रुसले समर्थन गर्ने प्रचार पनि भएकाले ‘नो’ पक्षको जितको सम्भावना बढी छ ।

यसकारण “यस”ले जित्न सक्छ

विपक्षी दल तथा युरोपेली देशहरू ग्रिसलाई ऋणदाताको प्रस्ताव सकारात्मक भएको प्रचार गरिरहेका छन् । ‘यस’ले जितेमा ग्रिसको भविष्य सुन्दर हुने प्रचार भइरहेको छ । युरोजोनबाट छुट्टिने डरका कारण यो पक्षले जित्ने सम्भावना छ ।

युरोजोनबाट अलग्गिए मुद्रा निष्कासन, रोजगारी तथा अन्य जीवनयापनका विषयमा पनि समस्या हुन्छ भन्नेहरू पनि छन् । युरोपका देशले लगाउन सक्ने प्रतिबन्ध तथा भविष्यमा हुन सक्ने खतराको अनुमानका कारण यो पक्षले जित्न पनि सक्छ ।

कसले कति ऋण दिएका छन् ?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आफ्नो अर्थव्यवस्था स्थिर गर्न अबका तीन वर्षमा ग्रिसले ५५ अर्ब डलर ऋण चुक्ता गर्नुपर्ने बताएको छ । आइएमएफले ग्रिसको आर्थिक विकासदरको अनुमान पनि २.५ प्रतिशतबाट घटाएर शून्य भएको नयाँ अनुमान गरेको छ । आइतबार ग्रिसमा हुने जनमतसंग्रहअघि आएको यो रिपोर्टले ग्रिक जनतालाई सचेत बनाउन सक्ने आइएमएफको अनुमान छ ।

ग्रिसका ऋणदाताले ग्रिसमा करदर बढोस् र खर्चमा कटौती होस् भन्ने चाहेका छन् । तर, प्रधानमन्त्री एलेक्सिस सिप्रासले यी प्रस्तावको विरोधमा मत दिन ग्रिक जनतासँग अनुरोध गरेका छन् । यी प्रस्तावलाई अहिले अस्वीकार गरे झन् राम्रा प्रस्ताव आउने उनले बताएका छन् । तर, ऋणदाता एलेक्सिसको यो प्रस्तावले ग्रिसलाई थप समस्यामा पुर्‍याउने र युरोजोनबाट अलग्याउने दाबी गर्छन् ।

अबका चार सम्भावना

१. जनमतसंग्रहमा युरोपेली युनियनका प्रस्ताव (यस) ले जितेमा ग्रिक प्रधानमन्त्री एलेक्सिस सिप्रासले राजीनामा दिन सक्नेछन् । उनले यो वाचा गरिसकेका छन् । यदि यस्तो भएमा ग्रिस युरोजोनबाट बाहिरिने पनि छैन । नयाँ सरकार बनाउने अभ्यास सुरु हुन सक्छ । नयाँ सरकार युरोपेली प्रस्तावको पक्षमा हुनेछ, उसलाई युरोपको सहयोग पनि हुनेछ । अहिले युरोपेली युनियनले भनेअनुसार यस्तो भएमा ग्रिसको अर्थतन्त्र सुदृढ हुनेछ ।

२. जनमतसंग्रहमा युरोपेली युनियन तथा ग्रिसका ऋणदाताको प्रस्तावको विपक्ष (नो) ले जिते ग्रिस युरोजोनबाट अलग्गिने सम्भावना बढ्नेछ । अहिले युरोपेली देशहरूले यही भनिरहेका छन् । यस्तो भएमा नयाँ प्रस्ताव

आउन सक्ने सम्भावना पनि छ । नयाँ प्रस्तावहरू तथा ग्रिसका योजनाहरू पनि नयाँ शिराबाट सुरु हुने एलेक्सिसले दाबी गरेका छन् । तर, ग्रिस युरोजोनबाट अलग्गिए तत्कालका लागि झन् धेरै आर्थिक समस्या हुन सक्छ ।

३. जनमतसंग्रहमा युरोपेली युनियन तथा ग्रिसका ऋणदाताको प्रस्तावको विपक्ष (नो) ले जिते पनि युरोपले नयाँ प्रस्तावहरू ल्याएर ग्रिसलाई युरोजोनमै राख्ने सम्भावना पनि उत्तिकै छ । यस्तो भएको खण्डमा प्रधानमन्त्री एलेक्सिसले राजीनामा नदिन पनि सक्छन् । नयाँ आर्थिक योजनाहरू घोषणा हुन सक्ने सम्भावना पनि छ । युरोपलाई जनताको राय सुनाउन मात्र यो जनमतसंग्रह गरिएको हुन सक्ने विश्लेषण गर्नेहरू यो सम्भावनाको पक्षमा छन् ।

४. जनमतसंग्रहमा युरोपेली युनियनका प्रस्ताव (यस) ले जितेमा पनि ग्रिसको अर्थतन्त्रमा आएको ठूलो ह्रासका कारण ग्रिस युरोजोनबाट बाहिरिने सम्भावना त्यति नै छ । यस्तो भएमा प्रधानमन्त्री एलेक्सिसले राजीनामा नदिन पनि सक्छन् । नयाँ योजनाहरू ल्याउनुका साथै ग्रिसलाई रुसको प्रत्यक्ष सहयोग हुन सक्ने सम्भावना पनि त्यति नै छ । यस्तो भएमा युरोपेली युनियनसँग वार्ता गरेर उनीहरूलाई ग्रिसले तिर्नुपर्ने ऋणको समयसीमा केही बढ्न सक्छ ।

स्रोत : नया पत्रिका

Related posts