ताजा खबर

एटिएमको गल्ती दोहो-याउँदिनँ  

२०७२ असार १९,

सबिना कार्की, अभिनेत्री दुलही रानीबाट फिल्मबाट अभिनय यात्रा सुरु गरेकी सबिना कार्की रातारात हिट भइन्, दोस्रो फिल्म एटिएमबाट । हिट त हिट तर आलोचनायुक्त । जसले गर्दा उनी दिक्दार भइछन् । सुरुवातका दिन बुझाइको कमीका कारण आफूबाट एटिएम खेल्नु भूल भएको स्वीकारोक्ति उनको छ । ‘बच्चैदेखि कलाकार बन्ने सपना देखेँ । बुबाआमा आर्मी, पुलिस बनोस् भन्ने चाहनुहुन्थ्यो । तर, म यता लागेँ । बिस्तारै अघि बढ्दै थिएँ, अफर राम्रो होला भन्ने लागेर एटिएम खेलेँ । तर, प्रोमोका कारण निकै आलोचना खेप्नुपर्‍यो । अन्जानमा मबाट गल्ती भयो,’ उनी भन्छिन्, ‘पूरा फिल्म नै नहेरी बजारमा अनर्गल हल्ला चलाइयो । फिल्ममा भने त्यस्तो लाजलाग्दो केही छैन ।’ एटिएमका कारण भोगेको सास्ती र तनावबाट आफू उम्किसकेको दाबी उनको छ । ‘मैले पुराना कुरा सबै बिर्सिएर करिअर अघि बढाएकी छु । त्यतिवेला जे गल्ती भयो, त्यो अब कहिल्यै दोहोरिनेछैन । मैले कसम नै खाएकी छु ।’ दिनेश थापाले यादव सिलवालको निर्देशनमा निर्माण गरेको एटिएमले नेपाली फिल्म उद्योगमै तहल्का मच्चाएको थियो । छाडा संवाद र दृश्ययुक्त प्रोमो सार्वजनिक भएपछि पूरै एटिएम युनिट आलोचनाको सिकार भएको थियो ।

सबिनालाई एटिमएम दिलाउने माध्यम थिइन् जिया केसी । ‘वाचा फिल्ममा जिया र मैले सँगै काम गरेका थियौँ । एटिएमका लागि निर्देशक, निर्माताले हिरोइन खोजेका रहेछन्,’ सबिना फ्ल्यासब्याकमा गइन्, ‘जियाले मेरो नम्बर दिइछन् । जियाकै कारण मैले एटिएम पाएँ । हिरोइन बन्न आएकी म, अफर आयो, राम्रो होला भनेर खेलेँ । तर, साह्रै टेन्सन व्यहोर्नुपर्‍यो । ’ सबिना, जिया र सोनिया शर्मा बजारमा एटिएम गर्ल भनेर चिनिने गर्छन् । जिया रोमान्स किंग भुवन केसीसँगको प्रेमसम्बन्धका कारण चर्चामै रहने गरेकी छिन् । सोनियाले एटिएम, करामत, ढुंगेयुग, कुर्बानलगायत फिल्ममा अभिनय गरेर घरजमको बाटो रोजिन् । हाल उनी बच्चाकी आमा बनिसकेकी छिन् । सबिना भने अभिनयमा निरन्तर छिन् । उनी भन्छिन्, ‘म दुर्नाम होइन, सुनाम कमाउन चाहन्छु । त्यसैले निरन्तर अभिनयमा छु । पास्ट इज पास्ट । त्यसपछि मैले त्यस्ता फिल्म खेलेकै छैन र खेल्ने पनि छैन ।’ एटिएमपछि सबिनालाई त्यस्तै खालका थुप्रै फिल्मबाट अफर आएका रहेछन् । तर, उनले ती सबै फिल्म खेल्न अस्वीकार गरिन् । ‘एकचोटि गल्ती भयो । त्यो गल्ती म बारम्बार दोहोर्‍याउन चाहन्नँ । त्यसकारण मैले त्यस्ता कुनै पनि फिल्म स्वीकार गरिनँ ।’ खासमा सबिनाले हास्य टेलिशृंखला झ्याइँकुटी झ्याइँबाट रिलको दुनियाँमा पाइला राखेकी हुन् । उनी राजधानी कलाकेन्द्रमा उमेश मायालुसँग अभिनय सिक्दै थिइन् । त्यहाँ हिरोइन खोज्दै पुगे सोभित बस्नेत । उनैले सबिनालाई दुलही रानीबाट ठूलो पर्दामा बढुवा गराएका हुन् ।

दुलही रानीपछि सबिनाले वाचा, एटिएम, वान साइड लभ, गुड फ्रेन्ड, पंगा, लाटी, सरप्राइज, द फेमस, वाचालगायत झन्डै एक दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् । उनी अभिनीत वान साइड लभ शुक्रबारदेखि प्रदर्शन भइरहेको छ । एकोहोरो प्रेम गर्ने असफल प्रेमिकाको भूमिकामा रहेकी सबिना अचेल यसकै पब्लिसिटीमा व्यस्त रहिछिन् । ‘धेरैपछि आफ्नो फिल्म रिलिज भएको छ,’ उनले भनिन्, ‘पब्लिसिटी र दर्शकको प्रतिक्रिया बुझ्न व्यस्त छु ।’ उनी आफू शीर्ष भूमिकामा रहेको लाटी फिल्मबाट भने निकै आशावादी रहिछिन् । ‘लाटी एकदम राम्रो बनेको छ,’ उनले भनिन्, ‘डबिङमा फिल्म हेरेर निकै रोएँ । यो फिल्मले मेरो करिअर उचाइमा पुर्‍याउने आशा राखेकी छु ।’ रियल लाइफमा नभए पनि रिलमा चाहिँ उनले आफ्नो परिवारको चाहना पूरा गरेकी छिन् रे । ‘गुड फ्रेन्ड र पंगा फिल्ममा म प्रहरीको भूमिकामा छु । रिलमा भए पनि मैले आफ्ना अभिभावकको सपना पूरा गरेकी छु । यसमा चाहिँ म निकै खुसी छु,’ उनी भन्छिन्, ‘अबचाहिँ अलि एक्स्ट्रा, नारी आवाज बुलन्द गर्ने खालको चरित्र निर्वाह गर्न मन लागेको छ ।’ उनले अहिलेसम्म झन्डै दुई सयवटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । लोकदोहोरी, आधुनिक, पप सबै खालका गीतका भिडियोमा अभिनय गरेकी उनी हिरोइनकै रूपमा जम्न चाहन्छिन् । भूकम्पले गर्दा कुरा भएका केही फिल्मको सुटिङ अनिश्चित भएकाले उनी अहिले सुटिङमा व्यस्त छैनन् । यो फुर्सदको वेला आफूलाई अभिनय र नृत्यमा निखार्ने काम गरिरहेको उनले बताइन् ।

स्रोत  : नया पत्रिका

Related posts