ताजा खबर

मेसीलाई अर्को अवसर

सान्टिएगो, २०७२  असार १९,

गत वर्ष विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदा अर्जेन्टिनी कप्तान लियोनल मेसी सर्वाधिक दु:खी देखिए । रेफ्रीले अन्तिम सिठी फुक्दादेखि उपविजेताको मेडल थाप्दासम्म मेसीले आँसु रोक्न सकेनन् ।

मेसीको त्यो अवस्था देख्दा जर्मन समर्थक पनि विश्वकै उत्कृष्ट खेलाडीलाई सहानुभूति दिन बाध्य भए । फेरि संयोग कस्तो रह्यो भने झन्डै एक वर्षभित्र मेसी अर्को ठूलो उपाधिनजिक पुगेका छन् । त्यो पनि दक्षिण अमेरिकी भूमिमै ।

ब्राजिलमा विश्व च्याम्पियन हुन चुकेका मेसी अब शनिबार चिलीको इस्टाडिओ नेसनल रंगशालामा कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जित्न चाहन्छन् । आफ्नो सपना पूरा गर्न मेसीले आयोजक चिलीको सबै चुनौती पन्छाउनुपर्छ । यसो गर्न सके उनीमाथि लागेको कालो दागसमेत मेटिनेछ । अक्सर मेसीलाई लिएर यसो भन्ने गरेको पाइन्छ, ‘मेसीले राष्ट्रिय टोलीबाट उत्कृष्ट खेल्न सक्दैनन्, उनले केवल बार्सिलोनालाई मात्र उपाधि दिलाए ।’ केही हदसम्म यस भनाइभित्र सत्यता लुकेको छ ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मेसीले अहिलेसम्म दुई दर्जनको हाराहारीमा उपाधि जितेका छन् । मेसीले बार्सिलोनालाई नदिलाएको उपाधि केही पनि छैन ।

तर, उनले सिनियर राष्ट्रिय अर्जेन्टिनी टोलीलाई एउटा पनि उपाधि दिलाएका छैनन् । सन् १९९३ पछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउने जिम्मेवारी मेसीकै काँधमा छ । युवा समूहमा भने मेसीले अर्जेन्टिनालाई उपाधि दिलाएका छन् । सन् २००५ मा फिफा यू–२० विश्वकप प्रतियोगितामा मेसी प्रतियोगिताकै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बनेका थिए ।

मेसीकै कप्तानीमा अर्जेन्टिनाले सन् २००८ को बेइजिङ ओलम्पिकअन्तर्गत फुटबल इभेन्टमा स्वर्णपदक जितेको थियो । चारपटकका फिफा वर्ष खेलाडी मेसी राष्ट्रिय टोलीबाट ९ सय मिनेट गोलविहीन रहेका छन् । विपक्षी पोस्टमा मेसीले गोल गर्न नसके पनि साथीहरूलाई गोलका लागि अवसर प्रदान गरिरहेका छन् । यसपटकको कोपा अमेरिकामा मेसीको उत्कृष्ट प्रदर्शन जारी नै छ ।

सेमिफाइनलमा पाराग्वेमाथि ६–१ को जित दर्ता मेसीले प्रेरणादायी प्रदर्शन गरेका थिए । फाइनल पुगेपछि स्वयं मेसी पनि अर्जेन्टिना उपाधिको दाबेदार भएको मान्छन् । ‘हामी फाइनलमा पुगिसकेका छौँ, अब हाम्रो लक्ष्य उपाधि हुनेछ,’ पाराग्वेलाई हराएपछि मेसीले भनेका थिए, ‘फाइनलमा पनि एकजुट भएर प्रतिस्पर्धा गर्दा उपाधि अर्जेन्टिनाकै हुनेछ ।’

१५औँपटक कोपा अमेरिका उपाधि भित्र्याउने सुरमा रहेको अर्जेन्टिनाका लागि मेसीका साथै एन्जेलो डी मारिया, गोन्जालो हिगुइन, कार्लोस टेभेज र सर्जियो अगुएरोले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यता चिली भने पाँचौँ फाइनल प्रयासमा पहिलोपटक उपाधि जित्ने योजनामा छ । यसपटक चिलीले घरेलु समर्थक र मैदानको फाइदा उठाएको छ । प्रतियोगिता सुरु हुनुअघिसम्म चिलीलाई नकआउट चरणसम्मको दाबेदार मानिएको थिएन । तर, एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै चिलीले फाइनलको यात्रा पक्का गर्‍यो ।

उपाधिका साथ घर फर्कन्छौँ : मेसी

२३ वर्षकै उमेरमा अर्जेन्टिनी राष्ट्रिय टोलीको कप्तान बनेका मेसीले उपाधिका साथ घर फर्कने बताएका छन् । साथै वर्तमान अर्जेन्टिनी टोलीमा आबद्ध युवा खेलाडी उपाधिको भोका रहेको उनले जनाए । ‘मेरो कप्तानीमा रहेको अर्जेन्टिनाले निश्चित उपाधि जित्नेछ,’ मेसीले भने, ‘एक कप्तानको नाताले अर्जेन्टिनालाई उपाधि दिलाउनु पनि कर्तव्य हो ।’

मेसीले कोपा अमेरिकाको उपाधि जित्दै गत वर्ष विश्वकपको हार भुलाउने प्रयास गर्ने बताए । ‘कोपा अमेरिकाको उपाधिका साथ गत वर्षको विश्वकपको घटना भुलाउने प्रयास हुन्छ,’ उनले भने, ‘त्यसवेला हामी उपाधिको निकै नजिक पुगेका थियौँ ।’

सबै खेलाडी उत्कृष्ट फर्ममा रहेका वेला नै उपाधि जित्न सकिएन भने फुटबल खेल्नु व्यर्थ भएको मेसीको प्रतिक्रिया छ । ‘अहिलेको यो टिमले नै उपाधि जित्न सकेन भने हामी खेलाडीले फुटबल खेल्नु नै बेकार हो,’ मेसीले भने, ‘फुटबल करिअर सफलता पार्न पनि कोपा अमेरिका जित्नैपर्छ ।’

मेसी मार्किङमा छैनन् : क्लाउडियो

कोपा अमेरिकाको उपाधि उचाल्न चिलीले अर्जेन्टिनी कप्तान मेसीलाई रोक्नुपर्छ । मेसीलाई स्वतन्त्र छाड्दा विपक्षी पोस्टका गोलरक्षक व्यस्त हुने गर्छन् । मेसीले चलाखीपूर्ण तरिकाले मैदानको कुन क्षेत्रबाट गोल गर्छन्, कसैले मेसो नै पाउँदैनन् । धेरै विश्लेषकले चिलीविरुद्धको फाइनलमा मेसी सर्वाधिक मार्किङमा रहने दाबी गरेका छन् ।

तर, चिलीका कप्तान तथा गोलरक्षक क्लाउडियो ब्राभो फरक मत राख्छन् । क्लाउडियोले मेसीलाई मार्किङ नगर्ने योजना बनाएको बताए । ‘मेसीलाई रोक्न सजिलो छैन, सबैलाई उनको क्षमता थाहा छ, फुटबल क्षेत्रमा मेसीले प्राप्त गरेको सफलता आश्चर्यजनक छ,’ क्लाउडियोले भने, ‘९० मिनेट उनलाई मार्किङ गर्दैनौँ, एक खेलाडीलाई मात्र मार्क गर्दा अरूले गोल गर्न सक्ने सम्भावना हुन्छ ।’ मेसी, जाभियर मास्चिरानो र क्लाउडियो बार्सिलोनाबाटै खेल्छन् । यसै कारण मेसीलाई रोक्ने क्लाउडियोले फरक योजना बनाएका छन् ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *