ताजा खबर

नाराबाजीबीच अघि बढ्यो सभा

काठमाडौं , २०७२ असार १९,

राप्रपा नेपालको नाराबाजी र अवरोधबीच संविधानसभामा नयाँ संविधानको मस्यौदामाथिको छलफल शुक्रबार सुरु भएको छ। मस्यौदा समितिको निर्णयविपरीत मौलिक हकमा धर्म परिवर्तनको हक राखिएको र स्थानीय निर्वाचन ६ महिनाभित्र गर्ने भनिएकोमा मिति हटाइएको भन्दै राप्रपा नेपालले शुक्रबार संविधानसभामा झन्डै पाँच घन्टा नाराबाजी गरी अवरोध गरेको थियो।

दिउँसो दुई बजेर १२ मिनेटदेखि सुरु भएको नाराबाजी साँझ सवा सात बजेसम्म चलेको थियो। नाराबाजीबीच सभाध्यक्ष सुवास नेम्बाङले साँझ पौने सात बजे संविधानसभा बैठक अघि बढाएका थिए।

मस्यौदामाथि एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल, एमालेका भानुभक्त ढकाल र कांग्रेसका धनराज गुरुङले बोलेका थिए। सभाध्यक्ष नेम्बाङले थप छलफलका लागि शनिबार तोकेका छन्।

संविधानसभा अवरुद्ध नहुने अन्तरिम संविधान, संविधानसभा नियमावली र विगतको प्रचलन रहेको भन्दै सभाध्यक्षले नाराबाजीबीच मस्यौदामाथि छलफल अघि बढाएका थिए।

एमाओवादीसहित मधेस केन्द्रित दलको अवरोधबीच गत माघ ७ गते पनि यसैगरी संविधानसभा सञ्चालन गरिएको स्मरण गराउँदै नेम्बाङले भने, ‘संविधानसभा संविधान बनाउन हो, अवरुद्ध गर्न होइन।

हाम्रो स्थापित अभ्यासले पनि संविधानसभा अवरुद्ध हुन सक्दैन भन्ने प्रस्ट छ।’ संविधानसभामा अवरोध गर्ने काम विधिसम्मत नभएको तथा जनादेशविपरीत भएकाले छलफल अघि बढाइएको उल्लेख गर्दै नेम्बाङले भने, ‘संविधानसभामा अवरोधको संस्कृति बसाल्यौं भने कहिल्यै पनि संविधान बन्न सक्दैन।’

त्यसअघि नेम्बाङले संविधान निर्माणको काममा सहयोग गर्न पटकपटक आग्रह गरेका थिए।

बिहान ११ बजे बोलाइएको संविधानसभा बैठक दिउँसो दुई बजे सुरु हुनासाथ राप्रपा नेपालले मस्यौदाको वैधानिकतामाथि प्रश्न उठाउँदै नियमापत्ति जनाएको थियो।

त्यस क्रममा राप्रपा नेपालका सुशील श्रेष्ठले मस्यौदा समितिको कार्यदलमा भएको छलफलविपरीत मस्यौदाका केही बुँदा आएको भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाए।

उनले छलकपटपूर्ण ढंगले मौलिक हकमा धर्म परिवर्तनको व्यवस्था राखिएको र स्थानीय निर्वाचनको मिति हटाइएको भन्दै आपत्ति जनाए।

जबाफमा नेम्बाङले राप्रपा नेपालले उठाएका मागप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै ती विषयलाई जनतामा गएर, जनताको मत लिएर परिमार्जन गर्न सकिने बताए।

‘यो मस्यौदा पूर्ण छैन। छलफल गरौं। जनतामा गएर छलफल गरौं। अन्तिम समयसम्म पनि परिमार्जन हुन सक्छ’, नेम्बाङले भने।

सभाध्यक्षको आग्रह अस्वीकार गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले समय मागे। मस्यौदा समितिले पारित गरेको भन्दा फरक मस्यौदा आएको भन्दै थापाले त्यसलाई स्वीकार गर्न नसकिने बताए।

‘केही व्यक्ति बसेर इच्छाअनुसारको फेरबदल गरे’, थापाले भने, ‘वैधानिकताको प्रश्न राखेर मस्यौदामाथि छलफल अघि नबढाइयोस्।’

धर्म परिवर्तन महारोग हो भन्ने जान्दाजान्दै विदेशीको दबाबमा षड्यन्त्रपूर्ण ढंगले धर्म परिवर्तन राखिएको आरोप थापाले लगाए।

‘संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखको निर्वाचनको मिति तोक्ने तर स्थानीय निर्वाचनको तोकिएको मिति पनि हटाउने? ‘

थापाले प्रतिप्रश्न गरे, ‘केही नेताको भागबन्डा मिलेपछि षड्यन्त्रपूर्वक मस्यौदामा परिमार्जन गरियो।’

प्रधानमन्त्रीको माइक र कुर्सीमा प्रहार

सभाध्यक्ष सुवास नेम्बाङले अवरोधबीच संविधानसभाको काम अघि बढाएपछि राप्रपा नेपालका सभासद्‌हरूले उत्तेजित हुँदै नाराबाजी गरेका थिए। राप्रपा नेपालका सभासद्‌ दिनेश श्रेष्ठले प्रधानमन्त्री बस्ने बेन्चको माइक निकालेर भुइँमा बजारेका थिए।

अर्का सभासद्‌ रेशमबहादुर लामाले प्रधानमन्त्री बस्ने कुर्सी निकालेर भुइँमा बजारेका थिए। त्यसपछि सभासद् श्रेष्ठले कुर्सीमाथि उभिएर नाराबाजी गरेका थिए। सभासद्‌हरू आक्रोशमा उत्रिएपछि अध्यक्ष थापाले संयमित पारेका थिए।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *