दिननाथ बराल
पोखरा, २०७२ असार १९,
तेह्रौं संस्करणको आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७१ बाट ६९ लाख ४३ हजार २ सय ६७ रुपैयाँ आम्दानी भएको छ । सहारा क्लव पोखराद्वारा आयोजित उक्त प्रतियोगिताबाट १५ लाख ४५ हजार ७ सय ६४ रुपैया बचत भएको शनिबार पोखरामा आयोजित आय–व्याय सार्वजनीक कार्यक्रममा क्लवले जानकारी गराएको हो ।
प्रतियोगिता सम्पन्न गर्न ५३ लाख ९७ हजार ५ सय ३ रुपैयाँ खर्च भएको अर्थ संकलन उप–समिति संयोजक प्रकाश शेरचनले बताए । मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउ चाउबाट ९ लाख, सहप्रयोजक रेडवुलबाट ४ लाख, उपप्रायोजक माईक्रोम्याक्सबाट मोवाईलबाट २ लाख ४६ हजार, व्यानर प्रायोजनबाट १९ लाख ८७ हजार र प्रवेश टिकटबाट २५ लाख ३८ हजार ८ सय ३८ रुपैयाँ, लगायतका विभिन्न् शिर्शकमा रकम संकलन भएको छ । खेलाडी दैनिक भ्रमण खर्च २१ लाख, रेफ्रि खर्च ३ लाख, ग्राउण्ड व्याबस्थापन खर्च ३ लाख ६२ हजार, प्रोत्साहन खर्च ६ लाख, प्रचार प्रसार खर्च ३ लाख लगायतका शिर्शकमा खर्च भएको क्लवले जनाएको छ ।
बचत रकम सहारा एकेडेमीको लागि खर्चीने भएको क्लवका अध्यक्ष बिरभद्र आचार्यले बताए । गत बर्षको बाह्रौं आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिताबाट करीब २९ लाख रुपैया बचत भएको थियो । क्लवका अध्यक्ष आचार्यले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण सहयोगदाता तथा शुभेच्छुकलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन । सहारा एकेडेमीमा हाल १५ जिल्लाका २६ जना वालकहरु रहेका छन । ३० जनाको क्षमता भएको एकेडेमीमा थप ४ जना भूकम्पबाट प्रभावित भएका वालकहरु राखिने योजना भएको क्लवका महासचिव केशव बहादुर थापाले बताए ।
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको शहरको रुपमा स्थापना गरौं” भन्ने मुल नाराका साथ गत माघ २० गते देखि फागुन २ गतेसम्म पोखरा रंगशालामा आयोजना भएको प्रतियोगितामा विदेशी सहित १२ टिमको सहभागिता रहेको थियो ।