बिरोधको बाबजुद पनि संविधान जारी हुन्छ सभासदः अधिकारी

दिननाथ बराल,
पोखरा,  २०७२ असार १९
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सभासद् रविन्द्र अधिकारीले बिरोधका बावजुद पनि संविधान जारी हुने दाबी गरेका छन । प्रेस चौतारी कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कसैले बिरोध गर्दैमा संबिधान निमार्ण प्रकृया नरोकिने बताउदै आगामी श्रावण १५ भित्र संविधान जारी गर्ने दाबी गरेका हुन ।

उनले भने “संविधान निर्माणपछि आफ्नो भविश्व नदेख्नेहरुले संबिधान निर्माण प्रक्रियामा अबरोध र विरोध गरेका हुन । ” संविधान बन्दा आफ्नो भविश्य नै समाप्त हुन्छ भन्नेले विरोध गरेको उनले जनाए । संविधान सभाले प्रक्रियालाई अगाडि बढाएको बताउदै सभासद अधिकारीले संविधान सभामा संविधानको प्रारम्भिक मस्यौदामा भइरहेको छलफल कसैको विरोधले नरोकिने र श्रावण १५ मा संविधान जारी गर्ने गरी प्रक्रिया अगाडि बढेको बताए ।

सामथ्र्य र पहिचानको आधारमा संबिधान निर्माण गरिने ८ वटा प्रदेशमा केन्द्र सरकारको प्रतिनिधिका रुपमा राष्ट्रपतिबाट ५ वर्षका लागि नियुक्त हुने र मुख्य मन्त्री प्रदेश सभाको बहुमतबाट निर्वाचित हुने व्यवस्था गरिएको सभासद अधिकारीले बताए । मस्यौदामा २१ देखि ५२ सम्म ३२ वटा मौलिक हकको व्यवस्था गरिएको उनले बताए । प्रदेश सभा जनसंख्याको आधारमा २१ देखि ४५ सदस्यीय हुने र प्रदेश सभाका २० प्रतिशत मात्र मन्त्री हुन पाउने व्यवस्था गरिएको अधिकारीको भनाई थियो ।

संविधानको प्रारम्भिक मस्यौदामा जिल्ला सभालाई कार्यकारीको अधिकार नदिएर संयोजनकारी निकायको रुपमा राखिएको उनले बताए । अधिकारीले नगरपालिका र गाउँ सभा क्रमशः १९ र १७ सदस्यीय हुने व्यवस्था गरिएको बताए । नगरपालिका र गाउँ पालिकाका प्रमुख दुई कार्यकाल मात्र रहन पाउनुका साथै वडा अध्यक्ष नगर र गाउँ सभाले छान्ने व्यवस्था गरिएको उनले जनाए । अहिलेसम्म गाविस र नगरपाकिलामा वडाअध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । अधिकारीले संवैधानिक अंगमा राष्ट्रिय प्राकृतिक स्रोत तथा विपत्ति आयोग थपिएको जानकारी दिए ।

अधिकारीले संविधान सभाको प्रारम्भिक मस्यौदामा ३७ भाग, २ सय ९७ धारा र ७ अनुसुचि समेटिएको जानकारी दिदै सामन्ति, निरंकुश, केन्द्रीकृत, एकात्मक राज्य व्यवस्थाले सृजना गरेको सबै प्रकारका विभेद र उत्पिडनको अन्त्य गर्दै महिला, दलित, अल्पसंख्यक समुदायको अधिकारलाई संविधानमा सुनिश्चित गरिएको बताए ।

विकास समितिका सभापति समेत रहेका सभासद अधिकारीले पोखरामा क्षेत्रीय विमानस्थल निर्माणको लागि सम्पूर्ण प्रक्रिया पुरा भएको बताए । उनले भने “ नेपाल नागरिक उडड्यन प्राधिकरण र अर्थ मन्त्रालय बीच सम्झौता हनु बाँकी रहेको छ, विमानस्थल निमार्णको लागि चिनले गर्ने सहयोग मध्ये ५० प्रतिशत भन्दा बढि अनुदान सहयोग हुने सम्भावना बढि रहेको छ ।” प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको थियो ।

Related posts