ताजा खबर

समरकी सेक्सी स्वीमर

२०७२ असार १८,

रापिलो घामको तिखो किरणले जब मानिसको शरीरमा आक्रमण गर्छ, तब सबैको मुखबाट एउटै शब्द फुत्किन्छ,–‘उफ् कति गर्मी भा’को ।’ अझ चर्को घाममा केहि समय पैदल यात्रा गरेपछि सबैले ‘खरो’ भएको अनुभव गर्छन्, त्यतिबेला राहत दिने एउटै विकल्प हुन्छ– चिसो । चिसो खोज्ने क्रममा चिसो पानी, चिसो पेय वा चिसो महसुस गराउने अन्य कुराको सहारा पाए गर्मीले खरिएकाहरूलाई आनन्दको अनुभूति हुन्छ ।

‘समर–सराउन्डिङ वेदर’ लाई चुनौती दिन नेपाली युवतीहरू पनि पछि छैनन् । जसै गर्मी बढ्छ, नायिका, गायिका तथा मोडलहरू जलपरि झैं स्वीमिङ गर्दै आफ्ना तस्बिर फेसबुकमा अपलोड गर्छन् । यो वर्ष पनि नयाँ पुस्ताका सुन्दरीहरू तस्बिरमा स्वीमिङ मुडमा देखिए । लामो जाडो सिजनमा शरीरभरि पहिरन लगाएर हिँड्न बाध्य उनीहरू स्वीमिङ पुलमा पुगेपछि छोटा स्वीमिङ कस्ट्युम लगाएर पानीमा बुर्कुसी मार्छन् र शीतलता अनुभव गर्छन् । समर भर्सेज स्वीमिङको यो लहर गर्मी मौसमभरी चल्छ ।

गत साता भक्तपुर पलासेंस्थित काठमाडौं फन भ्यालीमा नायिकाद्वय सुरविना कार्की र सगुन शाही स्वीमिङ गर्ने मुडका साथ पुगे । त्यहाँका ४ वटा वाटरजोनमा ४ घन्टा लगातार पौडीमा रमाएर उनीहरू घर फर्किए अनि स्वीमिङ सुटका आफ्ना तस्बिर फेसबुकमा अपलोड गरे, जसमा धेरैले लाइक र कमेन्ट बर्साए । ‘स्वीमिङ गर्ने मुड बन्यो, अनि साथीहरू मिलेर दौडिहाल्यौं’ नायिका सगुनले साप्ताहिकसँग भनिन्–‘गर्मीमा अरू बेला पनि स्वीमिङ त गरिन्थ्यो तर स्वीमिङ कस्ट्युममै तस्बिर खिचेर फेसबुकमा हालेकी थिइन्, यो रहर पनि यसपटक पूरा गरें ।’ सगुनले विकिनीमा फोटोसुट गरेको पहिलो पटक भएको बताइन् ।

चलचित्र झेली एवं नाइकेकी नायिका सुरविना कार्की पनि गर्मी बिर्साउन स्वीमिङ पुल पुग्थिन् । सगुनसहित साथीहरू स्वीमिङ गर्न जाँदैछन् भन्ने सुन्ने बित्तिकै उनका खुट्टा पनि अघि सरे । मिल्ने साथीका रूपमा परिचित यी नायिकाले पौडी खेल्न पाएको मौकालाई खेर जान दिएनन् । निरन्तर पानीमा छचल्किदै रापिलो तातो वातावरणमा आफूलाई चिस्याइरहे । सुरविनाले भनिन्–‘गर्मीमा या त बिहान या त बेलुका स्वीमिङ गर्दा फ्रेस महसुस हुन्छ ।’ कौशलटार बस्ने भएकाले सुरविना स्वीमिङका लागि अक्सर बनेपास्थित समर प्यालेस पुग्छिन् । सुरविना भन्छिन्–‘त्यहाँ शान्त वातावरणमा पौडीनुको मज्जै बेग्लै छ ।’ त्यसो त अहिले राजधानीका दर्जनौं स्वीमिङ पुलमा आम नागरिकहरू ‘स्वीमिङ’ गरिरहेका भेटिन्छन् । अझ बिदाको दिन स्वीमिङ पुलमा इन्ट्रान्स पाउनु नै ठूलो कुरा हुन्छ । ‘हाम्रोमा एक दिनमा ३ हजार ५ सयले स्वीमिङ गर्नसक्छन्’ काठमाडौं फन भ्यालीका प्रबन्ध निर्देशक दिनेश गिरी भन्छन्–‘यो मौसमी व्यवसाय भए पनि गर्मीयाममा पौडीन चाहनेहरूको चाप थेग्न गाह्रो पर्छ । गर्मीमा शीतलता महसुस गर्न परिवार एवं साथीभाइहरूको टिम नै पौडी पोखरी आइपुग्छ ।’

फेसबुकमा नायिका प्रियंका कार्कीदेखि शशि खड्कासम्म मोडलहरू सुप्रिया कटुवाल, भावना गुरुङदेखि गायिका ज्योति मगरसम्मका स्वीमिङ मुड अपलोड छन् । पूर्वमिस नेपाल माल्भिका सुब्बाले पनि पौडी पोखरीमा रमाएका तस्बिर फेसबुकमा राखेकी छिन् । यसले के दर्शाउँछ भने सुन्दरीहरू गर्मी बिर्साउन र फ्रेस हुन स्वीमिङको सहारा लिन्छन् ।

नायिका एवं मोडल शशि खड्काले ‘दिल, दोस्ती एन्ड मस्ती’ शीर्षकमा साथीहरूका साथ स्वीमिङ गरिरहेको एकदर्जन तस्बिर फेसबुकमा राखिन् । शशिका अनुसार उनी पछिल्लो समयमा भूकम्पदेखि अन्य विभिन्न तनाव बिर्साउन स्वीमिङमा रमाउँछिन् । ‘बोर लागेका बेला, गर्मी पनि चर्कंदै गएको थियो, त्यसैले नियमित पौडी खेल्न थालेकी हुँ’ शशिले भनिन्–‘पानी खेल्न असाध्यै मनपर्ने भएकाले पनि फुर्सदमा स्वीमिङ पुल पुगिहाल्छु ।’ कलंकीस्थित ग्यालेक्सी स्वीमिङ सेन्टर पुग्ने शशिलाई उनकी दिदीले स्वीमिङ सिकाएकी थिइन् । ३ घन्टा पानीमा रमाउँदा पूर्ण शारीरिक व्यायाम हुने शशिको तर्क छ । शशि भन्छिन्–‘अहिले त मज्जाले पौडिन आउँछ, जानेपछि त अझ रमाइलो हुँदो रहेछ ।’ इशानी क्लब रविभवनमा पुग्ने शशि उक्त क्लब बन्द भएपछि स्वीमिङकै क्रममा काठमाडौं फन भ्यालीसम्म पुग्ने गरेको बताउँछिन् ।

गत फेब्रुअरीमा कार्यक्रमको सिलसिलामा मलेसिया पुगेकी थिइन्, नायिका प्रियंका कार्की । वर्षैभरि गर्मी रहने मलेसियामा स्वीमिङ गर्ने मुड चलेपछि उनी पानीको संसारमा हराइन् । जलपरि झैं पौडी खेलिरहेको आफ्नो तस्बिर उनले फेसबुकको वालमा पोष्ट गरेपछि त्यसले एकाएक चर्चा पायो । ग्लामरस नायिका प्रियंकाको यो हट एन्ड बोल्ड लुक्सलाई धेरैले रुचाए । पानीमा रम्न हुरुक्क हुने प्रिंयकाले स्वीमिङ पोजका तस्बिरलाई ‘लभ दि वाटर’ शीर्षक दिएर अपलोड गरेकी थिइन् । त्यसो त आफूलाई उनले ‘वाटर बेबी’ का रूपमा पनि चिनाएकी छिन् । प्रियंकाका अनुसार गर्मी सिजनमा उनलाई स्वीमिङ गर्न मन लाग्छ, त्यसैले फुर्सदका बेला उनी स्वीमिङ पुल पुग्छिन् र आफूलाई फ्रेस गराउँछिन् । ‘स्वीमिङ राम्रो एक्सरसाईज पनि हो’ लोकप्रिय नायिका कार्कीले भनिन्–‘मलाई पानी खेल्न असाध्यै मनपर्ने भएकाले स्वीमिङ सम्झिने बित्तिकै दौडिहालौं जस्तो हुन्छ ।’ उनका कुरा सुन्दा गर्मी, पानी र प्रियंका एकअर्काका पर्यायबाची झैं लाग्छन् । प्रियंकाका अनुसार उनको पानी प्रेम जर्बजस्त छ, पानीमा भिज्न पाउँदा उनलाई कहिल्यै असहज महसुस हुँदैन ।

गायिका ज्योति मगर पनि पानीमा रमाउन मनपराउँछिन् । ‘यो वर्ष सेड्युअल नमिलेकाले चाहेर पनि पौडी खेल्न जान पाएकि छैन्’ ज्योतिले भनिन्– ‘गत वर्ष नियमित रूपमा बानेश्वरस्थित एक स्वीमिङ सेन्टर पुगेकी थिएँ, यो वर्ष पनि धित मर्ने गरि पौडी खेल्न मन छ ।’ मोटाएको शरीरलाई पुरानै स्वरूपमा फर्काउन पनि स्वीमिङ प्रभावकारी माध्यम भएको ज्योतिले बताइन् । गर्मीले तात्तिएको शरीरलाई पानीमा बिसाएपछि आउने आनन्द अझ गजबको हुने ज्योतिको तर्क छ ।

गर्मी बढ्दै जाँदा आसपासमा स्वीमिङ पुल छ भनें त ठीकै छ तर छैन भनें ठूला खोलाहरूमा रमाउनेहरू पनि उत्तिकै छन् । विशेष गरी काठमाडौं बाहिर नदीको पानीमा भिज्ने र पौडिनेहरू उत्तिकै हुन्छन् । म्युजिक भिडियो सुटिङका क्रममा सौराहा चितवन पुगेकी मोडल सुप्रिया कटुवाललाई त्यहाँको प्रचण्ड गर्मीले चुनौती दिइरहेको थियो । ‘कति बेला पानीमा डुबुल्की मारौं जस्तो भयो’ सुप्रियाले भनिन्– ‘छेवैको राप्ती नदीमा पुगेर मस्तसँग पानी खेलें ।’ सुप्रियाले गर्मीले राप्पिएको शरीरलाई चिस्याउने रहर गरेपछि सुटिङ युनिटले पनि त्यही एक सिन लिन भ्याइहाल्यो । मोडल भावना गुरुङ पनि स्वीमिङमा रुचि राख्छिन् भन्ने कुरा उनले फेसबुकमा पोष्ट गरेका तस्बिरले दर्शाउँछन् । भावनाले स्वीमिङ पुलमा विभिन्न पोजका तस्बिर पोष्ट गरेकी छिन् । नायिका नम्रता सापकोटा पनि स्वीमिङ भनेपछि हुरुक्कै हुन्छिन् । स्वीमिङ पुलमा आकर्षक पोज दिएको तस्बिरलाई उनले प्रोफाइल पिक्चर नै बनाएकी छिन् । नम्रताका अनुसार फुर्सदमा उनी स्वीमिङ गर्न रुचाउँछिन्, यसपटक विभिन्न परिस्थितीका कारण स्वीमिङ गर्न नपाएको उनले बताइन् । सापकोटाले भनिन्–‘भूकम्पपछि बल्ल दैनिक जीवन सहज हुँदै गएको छ, अब स्वीमिङमा जाने मुड बनेको छ ।’

त्यसो त यसबाहेक अन्य युवतीहरू पनि स्वीमिङ रुचाउँछन् । नियमित स्वीमिङ गर्ने एक चर्चित महिला सेलिब्रेटीले स्वीमिङ कस्ट्युमका तस्बिर फेसबुकमा राख्न लाज लाग्ने भएकाले नराखेको बताइन् । स्वीमिङ पुल र नदी किनारमा विकिनीमा तस्बिर खिचाउने मोडलहरू पनि प्रशस्तै छन् । चर्चित मोडलहरू स्मिता थापा, बेबी थापा, पुजना प्रधान आदिका विकिनी पोजले एकसमय तहल्का नै मच्चाएका थिए । प्रियंका आफैं पनि नेपालमा हुँदा स्वीमिङ गैरहे पनि तस्बिर भने नखिचेको बताउँछिन् । यहाँ फोटो खिच्ने मुड नै बन्दैन्, प्रियंकाले भनिन्–‘पानीमा रमाउन र फ्रेस हुन जाने भएकाले तस्बिर खिचिँदैन ।’

अभिनेत्री दीपाश्री निरौलादेखि चर्चित गायिका इन्दिरा जोशीसम्मले स्वीमिङ कस्ट्युमका आफ्ना तस्बिर फेसबुकमा राखेका थिए । नायिका रेखा थापा प्रदर्शोन्मुख चलचित्र जाउँ हिँड पोखराको छायाकंनका क्रममा स्वीमिङ कस्ट्युममै प्रस्तुत भएकी छिन् जुन तस्बिर सोसल नेटवर्कमा सार्वजनिक भैसकेको छ । यस्तै केही समय अघि गायिका निशा सुनारले पनि स्वीमिङ पुलमा फोटोसुट गराएकी थिइन् ।

स्वीमिङ पुल र यसको महत्व

हाल काठमाडौंमा क्लब वा कम्पनीका रूपमा व्यावसायिक रूपमा २ दर्जन स्वीमिङ पुल सञ्चालनमा छन्, जसले आम उपभोक्तालाई सशुल्क सेवा प्रदान गर्छन् । एउटा राम्रो स्वीमिङ पुल बनाउन अहिलेको अवस्थामा करिब १० करोड रुपैयाँ लगानी हुन्छ । नेपालमा व्यवसायिक स्वीमिङ पुलको स्थापना भएको ३ दशक नाघेको छ । दशरथ रंगशाला तथा बालाजुका स्वीमिङ पुल पुराना मानिन्छन् । रविभवनस्थित इशानी क्लब पनि पुरानो स्वीमिङ पुलका रूपमा चिनिन्छ, जुन हाल बन्द छ । यस्तै कुन्डलिनी क्लबको स्वीमिङ पुललाई पनि पुरानो मानिन्छ । शरीरलाई स्फुर्त राख्ने, रमाइलो गर्ने, पौडी सिक्ने जस्ता कारणले स्वीमिङको आकर्षण बढेको जानकारहरू बताउँछन् । स्वीमिङलाई शरीरको एक मात्र पूर्ण अभ्यास मानिन्छ । स्वीमिङ गर्दा शरीरका सबै इन्द्रियहरू सक्रिय हुन्छन्, जसका कारण मानिसमा भोक जाग्छ । नियमित स्वीमिङ गर्नेहरूको शरीर सुगठित पनि हुन्छ । नियमित स्वीमिङ गर्नेहरूलाई रोगले समात्ने सम्भावना कमै हुन्छ । दीर्घकालीन रोगबाट मुक्त गर्न पनि स्वीमिङ आवश्यक मानिन्छ । पश्चिमा समाजमा स्वीमिङलाई शारीरिक सुन्दरता बढाउने प्रमुख माध्यमका रूपमा लिइन्छ । स्वीमिङ पुल ४ देखि १२ फिट गहिराईसम्मका हुन्छन् । एउटा स्वीमिङ पुलका निम्ति ४ देखि ५ ट्यांकर पानी चाहिन्छ । नियमित स्वीमिङ गर्ने ग्राहकले मासिक २ हजार रुपैयासम्म तिनुपर्ने हुन्छ ।

कतिपय संघसंस्थामा काम गर्न अनिवार्य रुपमा पौडी सिक्नुपर्ने हुन्छ । ग्लामरस पेशा मानिने एयरहोस्टेजका लागि पौडी खेल्न जान्नु अनिवार्य छ । यस्तै कतिपय स्कुल–कलेजले पनि आफ्नो खेलकुद कार्यक्रममा पौडीलाई अनिवार्य बनाएका छन् । राजधानीको ललितपुर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय स्वीमिङ पुल तथा महेन्द्र पुलिसक्लबले संचालन गरेको स्वीमिङ पुल पुग्नेहरूको संख्या पनि उल्लेख्य छ । यसवाहेक विभिन्न स्थानमा विभिन्न सुविधा सहितका स्वीमिङ पुल सञ्चालनमा छन् । यस्तै ठूला होटलहरूले पनि करोडौं रुपैयाँको लगानीमा स्वीमिङ पुल निर्माण गरेका छन् । हयात रिजेन्सी, सोल्टी क्राउन प्लाजा, एभरेष्ट, याकएन्ड यति, मल्ल, र्‍याडिसन, साँङ्ग्रिला, अन्नपूर्णमा स्वीमिङ पुल सञ्चालनमा छन्् । मोफसलका धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, भैरहवा आदिमा पनि स्वीमिङ पुल सञ्चालन हुने क्रम बढ्दो छ ।

दिनेश गिरी, प्रबन्ध निर्देशक

काठमाडौं फन भ्यालीमा सेलिब्रेटीहरू स्वीमिङ गर्न कत्तिको आउँछन् ?

कलाकारहरू प्राय: सबै नै आउनुभएको छ, राजनैतिक पार्टीसम्बन्ध नेताहरू पनि आउनुहुन्छ । कतिपयलाई त हामी आफैं पनि चिन्दैंनौं । गर्मी बढ्दै जाँदा स्वीमिङको मज्जा लिन आउने तथा इन्डोर गेममा रमाउन चाहनेहरू थुप्रै हुन्छन् । त्यस्तै यहाँ चलचित्र तथा म्युजिक भिडियो आदिको छायांकन पनि भएको छ । फोटोसुट पनि भैरहेकै हुन्छ । अहिले ठूलो संख्यामा मानिसको उपस्थिति हुने भएकाले को–को आउनु भएको छ भन्ने कुरा सम्झना नभएको हो ।

भूकम्पपछि मानिसहरू स्वीमिङ गर्न कत्तिको आइरहेका छन् ?

शक्तिशाली भूकम्पका कारण सबैमा डर त्रास सिर्जना भयो । त्यसलाई अन्त्य गर्न मनोरन्जक क्रियाकलापको आवश्यकता हुन्छ । हामीले भूकम्पपछि कान्तिपुर मिडिया ग्रुपसँगको सहकार्यमा बालबालिकाहरूलाई नि:शुल्क सेवा प्रदान गर्‍यौ ं। बालमनोविज्ञानलाई डरको प्रभावबाट मुक्त राख्ने त्यो सानो प्रयास सार्थक भयो । स्वीमिङ स्फुर्ति बढाउने तथा पूर्ण शारीरिक अभ्यास हुने माध्यम भएकाले सबैका लागि आवश्यक छ ।

काठमाडौं फन भ्याली जस्तै अरू पार्क पनि छन् नेपालमा ?

वाटर किङ्डम र इन्डोर गेमको एकमुष्ट प्याकेजका रूपमा काठमाडौं भ्याली नेपालकै एकमात्र पार्क हो । छुट्टाछुट्टै रूपमा स्वीमिङ र एम्युजमेन्ट गेम अरुले पनि सञ्चालन गर्नुभएको छ । हामीले ६२ रोपनी जग्गामा १८ करोड रुपैयाँ खर्चिएर यो पार्क निर्माण गरेका हौं, जहाँ ४ वटा वाटर किङडम तथा १२ अन्य इन्डोर गेम छन् । एकपटक टिकट लिएपछि दर्शकले अन्य शुल्क तिर्नुपर्दैन । अब थप ३५ रोपनी जग्गामा भव्य एम्युजमेन्ट गेम र थप पेन्डुलम वाटर पार्क निर्माण गर्दैछौं । त्यसपछि यसले पूर्णता पाउनेछ ।

यो त सिजनल व्यापार हो नि, होइन ?

हो, जाडो याममा स्वीमिङ त्यति चल्दैन् । त्यसैले हामीले जाडोमा यसलाई बन्द गर्दै आएका थियौं तर अब आउने वर्ष देखि जाडो सिजनमा पनि सञ्चालन गर्दैछौं । एम्युजमेन्ट गेम तथा वाटर किङडमलाई विन्टर फ्रेन्ड्ली बनाउने योजना छ । त्यसपछि जुनसुकै मौसममा पनि यहाँ आउने उपभोक्ताले उत्कृष्ट सेवा प्राप्त गर्नुहुनेछ ।

काठमाडौं फन भ्याली त ग्लामरस हबका रूपमा चिनियो नि होइन ?

आकर्षक भएकाले धेरैले यसलाई मनोरन्जक हबका रूपमा लिनुहुन्छ तर हामीले पूर्ण पारिवारिक वातावरण प्रदान गरेका छौं, जसले गर्दा सबै जसो ग्राहक परिवार एवं साथीभाइहरूसँग आउनुहुन्छ । यहाँ सबै उमेर समुहलाई मिल्दो वातावरण छ । आगामी दिनमा अझ बृहत् स्वरूपमा आएपछि यसको महत्व थप बढ्नेछ ।

स्रोत : साप्ताहिक

Related posts