एजेन्सी म्याड्रिड, २०७२ असार १८,
म्यानचेस्टर युनाइटेडले आफ्ना गोलरक्षक डेभिड डे जिएमाथि रियल म्याड्रिडको प्रस्ताव अस्वीकार गरेको छ । रियलले जिए भित्र्याउन म्यानचेस्टरलाई ३ करोड ५० लाख पाउन्ड प्रस्ताव राखेको हो । तर, म्यानचेस्टर व्यवस्थापकले आफ्नो एक नम्बर गोलरक्षक जिए सस्तोमा नबेच्ने जनायो । रियल नयाँ सिजनमा मुख्य खेलाडीका रूपमा जिएलाई अनुबन्धन गर्न चाहन्छ । म्यानचेस्टर र गोलरक्षक जिएबीच एक वर्ष सम्झौता बाँकी छ । सम्झौता समाप्त हुनुअघि नै म्यानचेस्टरले जिएलाई महँगोमा बेच्न तयारी गरेको बिसिसीले जनाएको छ । म्यानचेस्टरले जिएलाई प्रतिसाता २ लाख पाउन्ड पारिश्रमिक दिएको छ । रियलसँग अनुबन्ध हुँदा जिएले प्रतिसाता २ लाख ५० हजार युरो पाउन सक्छन् । ‘हामीले गोलरक्षक जिएका लागि आकर्षक प्रस्तावको अपेक्षा गरेका छौँ,’ म्यानचेस्टरका प्रशिक्षक लुइस भान गालले भने, ‘राम्रो खेलाडीले सही मूल्य पाउनुपर्छ, खेलाडीको अवमूल्यन हुनुहुँदैन ।’ बिसिसीका अनुसार म्यानचेस्टर गोलरक्षक जिएलाई विश्वकीर्तिमानी रकममा स्थानान्तरण गर्न चाहन्छ । गत वर्ष म्यानचेस्टरलाई इंग्लिस प्रिमियरसिप लिगको चौथो स्थान र च्याम्पियन्स लिगको प्लेअफमा छनोट गराउन गोलरक्षक जिएले मुख्य भूमिका निर्वाह गरेका थिए । कुनै पनि क्लबले ५ करोड पाउन्ड खर्चंदा जिएलाई सहजै हन्तान्तरण गर्ने भान गालले जनाए । म्यानचेस्टरले रियलको प्रस्ताव स्वीकार गर्दा डिफेन्डर सर्जियो रामोसलाई लोनमा पठाउनुपर्ने जनाएको छ । २९ वर्षीय स्पेनिस डिफेन्डर रामोसले अन्य क्लबबाट खेल्न चाहेको स्पेनिस पत्रिका मर्काले उल्लेख गरेको छ । सन् २००१ मा सिरी ए क्लब युभेन्टसले पार्माबाट गोलरक्षक बुफानोलाई विश्व रेडर्क रकम ३ करोड २६ लाख पाउन्डमा अनुबन्ध गरेको थियो । युभेन्टसले गोलरक्षक भित्र्याउन खर्चेको रकम अहिलेसम्मकै ठूलो हो । लगातार १४ वर्ष युभेन्टसको गोलरक्षक जिम्मेवारी सम्हालेका बुफानोले गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका थिए । उनकै प्रेरणादायी प्रदर्शनका कारण युभेन्टस सन् २००३ पछि च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको थियो ।
स्रोत : नया पत्रिका