२०७२ असार १८,
हालको बागमती नदीभन्दा धेरै गुणा फोहोर र प्रदूषित बेलायतको थेम्स नदी अहिले संसारकै सबैभन्दा सफा र स्वच्छ नदीका रूपमा परिचित छ । सन् २०१० मा साढे तीन लाख डलरबराबरको संसारको सबैभन्दा ठूलो पर्यावरण अवार्ड उत्तम तरिकाले सफा गरेको र जीवन पुनर्जीवित गरेकोमा थेम्स नदीले पाएको थियो । कुनै वेला चरम फोहोर, विषादीयुक्त र प्रदूषणका कारण ‘बायलोजिकल डेथ’ घोषणा गरिएको थेम्स कसरी सफा भयो रु असाध्यै दुर्गन्ध आएको भनेर नदी–किनारमा रहेको संसद् भवनको सत्र नै स्थगित गर्नुपरेको यो नदी कसरी विश्वकै ठूलो पर्यावरणको राशि जित्न सफल भयो ?
नदी कुनै पनि देशको जीवन मानिन्छ । बेलायतको जीवन बनेको थेम्स नदीको किनारमा छ, बेलायतको राजधानी लन्डन । थेम्सको एकातिरको किनारमा छ बेलायती संसद् भवन । अर्कोतर्फ छ, चर्चित लन्डन आई । लन्डन आईमा बसेर पूरै सहर देख्न सकिन्छ । र, यसै नदीमा बनेको छ, लन्डनको परिचय बनेको लन्डन ब्रिज । आजको दिनमा संसारमा सबैभन्दा बढी पर्यटक आउने सहरमध्ये लन्डन पनि एक हो । यहाँ आउने पर्यटकको रोजाइमा पर्छ, थेम्स नदीको किनार । थेम्स नदीको किनारमा पर्यटक आनन्द लिन्छन्, फोटो खिच्छन् र रमाइलो गर्छन् ।
तर, यो ठाउँमा पुग्न थेम्सले धेरै दुस्ख भोगेको छ । दुई–दुईपटक त फोहोर र दुर्गन्धको सिकार नै भयो । एक सय ५० वर्षअगाडि थेम्स चरम फोहोर नदीको रूपमा चिनिन्थ्यो । फोहोरको दुर्गन्धले संसद् बैठक स्थगित भएको इतिहास त्यसै बनेको पनि होइन । लन्डनस्थित इन्भाइरोमेन्ट एजेन्सीका म्यानेजर एलिस्टेवर ड्राइभर ६० वर्षको अथक मिहिनेतले थेम्स नदीको परिचय बदलिएको बताउँछन्, ‘कुनै समय यहाँ न माछा थिए, न कुनै जीवजन्तु । तर, अहिले नदीको हालत निकै राम्रो छ । यसलाई अरू राम्रो बनाउने हाम्रो कोसिस कायमै छ । सन् २०१० मा हामीले संसारको सबैभन्दा ठूलो पर्यावरणको अवार्ड पनि जित्यौँ ।’
०००
सन् १८८० सम्म थेम्सलाई फोहोर ढलका रूपमा चिनिन्थ्यो । पानी धेरै विषादीपूर्ण थियो, कसैले पियो भने मर्ने अवस्था आउँथ्यो । सन् १८७८ मा यात्री जहाज प्रिन्सिेस एलिस कोइला बोक्ने जहाजसँग ठोक्किएर डुब्यो । दुर्घटनामा मर्नेहरूको संख्या सात सयभन्दा माथि पुग्यो । यसलाई बेलायती इतिहासको सबैभन्दा ठूलो जहाज दुर्घटना पनि मानिन्छ । पछि जाँचमा पत्ता लाग्यो, दुर्घटनमा डुबेरभन्दा नदीको विषादीपूर्ण पानी पिएर धेरै मानिस मरे । लन्डनको प्रतिष्ठित पत्रिका ‘द टाइम्स’ले यसबारे सम्पादकीय नै लेखेको थियो । पिलियन लिमिटेडका निर्देशक डा। मार्टिन ग्रिफिक्स यस विषयमा थप्छन्, ‘ऊ वेला थेम्स नदीमा केवल विषादीयुक्त पानी थियो । कुनै जीवन बचेको थिएन । जहाज दुर्घटनामा धेरै मानिस डुबेर होइन, फोहोर र विषादीयुक्त पानीका कारण मरेका थिए भन्ने प्रमाणित पनि भयो ।’
थेम्स नदीको आजको अवस्था एक सय ५० वर्षपहिला कल्पना गर्न पनि सकिँदैनथ्यो । ऊ वेला संसारभरिबाट उद्योगका लागि कच्चा पदार्थ बेलायतमा आउँथ्यो । थेम्स नदी भएर धेरै जहाज लन्डन आउँथे । त्यहाँ उत्पादित सामान संसारभर पठाइन्थ्यो । यही नदीले लन्डनलाई संसारको महत्त्वपूर्ण सहर बनाएर राखेको थियो । थेम्सको भौगोलिक र ऐतिहासिक महत्त्वले यसलाई संसारको सबैभन्दा महत्त्वपूर्ण नदी बनाएको थियो । थेम्सकै कारण लन्डन संसारकै समृद्ध सहर बन्यो, तर थेम्सले यसको मूल्य पनि चुकाउनुपर्यो । त्यसवेला बेलायतमा हजारौँ उद्योग थिए र लन्डनको जनसंख्या लगातार बढिरहेको थियो । सहर र मानिसको सबै फोहोर थेम्समै फालिन्थ्यो ।
थेम्स वाटर अथोरिटीका पूर्वनिर्देशक डा। पिटर पेलेक्स ती मानिसहरूमध्ये एक हुन्, जसले थेम्सलाई पुनर्जीवन दिन महत्त्वपूर्ण योगदान गरेका थिए । उनका अनुसार औद्योगिक क्रान्तिको सबैभन्दा बढी मूल्य थेम्सले नै बेहोर्नुपरेको थियो । ‘यो क्रान्तिका वेला सहरमा नराम्रोसँग प्रदूषण फैलिएको थियो । थेम्स नदीको सहायक नदीको पनि खराब अवस्था थियो,’ उनी थप्छन्, ‘किनभने ती नदीहरू पनि नालीका रूपमा प्रयोग भएका थिए । सबै औद्योगिक र घरेलु प्रदूषण थेम्समै आएर पोखिन्थ्यो ।’
तत्कालीन इन्भाइरोमेन्ट एजेन्सीका अधिकारी डेव वार्डलको अनुभव रोचक छ, ‘अवस्था यस्तो थियो कि लन्डनवासी र पर्यटकहरू थेम्सबाट टाढै रहन मन पराउँथे । यो नदी पर्यटकका लागि विल्कुल लोकप्रिय थिएन । थेम्स नदीमा जो खस्थ्यो, बाँच्न कठिन थियो ।’
थेम्सको अवस्था तत्कालीन लन्डनका पत्रिकाहरूबाट समेत झल्कन्थ्यो । सन् १८४८ को आसपास थेम्सको अवस्थाबारे पन्च नामको पत्रिकाको एउटा कार्टुन छापिएको थियो । कार्टुनमा फोहोर थेम्समा ‘भूत’ले जहाज चलाइरहेको थियो । ब्रिटेनमा नदीलाई बुबाका रूपमा लिइन्छ, जस्तो कि थेम्सलाई ‘फादर थेम्स’ भनिन्छ । त्यसवेला थेम्स मृत भइसकेको थियो । कुनै पनि जीव नदीमा रहन सक्दैनथे । ‘द इलिस्टेटेड लन्डन न्युज’ले सरकारको कार्यशैलीप्रति इंगित गर्दै लेखेको थियो, ‘हामीले ती कैयौँ देशमाथि कब्जा गरिरहेका छौँ । हामीले आफ्नो नाम, आफ्नो सान संसारभर फैलायौँ पनि । तर, हामी थेम्स भने सफा गर्न सक्दैनौँ ।’
सन् १८५८ मा गर्मी महिनामा संसद् बैठक चलिरहेको थियो । सांसदहरूलाई दुर्गन्धबाट बचाउन सबै उपाय खोजियो । संसद्को छिडीमै कीटाणुनाशक कपडा बिछ्याइयो । तर, केही उपाय लागेन । अन्ततस् नदीबाट आएको दुर्गन्धकै कारण संसद् बैठक स्थगित गर्नुपर्यो । लन्डनमा यसलाई ‘ग्रेट स्टिंक’का रूपमा जानिन्छ ।
‘द ग्रेट स्टिंक’ले संसद्भित्र र बाहिर नयाँ बहस पैदा गरायो । संसद् यो समस्याको स्थायी उपाय निकाल्नेलाई पुरस्कार दिनसमेत तयार भयो । सम्बन्धित विभागका मन्त्रीसँग एक सांसदले जानकारी नै मागे, ‘हाम्रो कुटिल चलाखीका कारण एक महान् नदी मलकुण्डमा बदलियो । के महारानीको सरकार यो समस्याबाट छुटकारा पाउन केही गर्दै छ ?’
यही बिन्दुबाट थेम्स सफाइमा सरकार गम्भीर बन्यो र नदी सुधार गर्ने काम चाल्यो । थेम्स वाटर अथोरिटीका पूर्वनिर्देशक डा। पिटरका अनुसार जोसल बेजेटगेट नामका इन्जिनियरले नदीको अवस्था सुधार्ने जिम्मा लिए । बेजेटगेटले नालीबाट आउने दूषित पानी थेम्समा आउनुपूर्व नै रोकेर ढलमा पठाउने उपाय अगाडि सारे । उनले पूरै लन्डनलाई ढल प्रणालीमा जोडे । लन्डनमा १८ सय किलोमिटर लामो ढल लाइन बनाइयो । करिब १० वर्षमा यो काम पूरा भयो । यो बनेपछि पहिला सीधा नदीमा जाने सहरभरिको फोहोर समुद्रमा पुर्याइयो ।
इन्जिनियरिङ प्रविधिसँगै थेम्सको सुधारका लागि कानुनी सहायता लिइयो । एकपछि अर्को कडा कानुन बनाइयो । तिनलाई कठोरपूर्वक लागू गरियो । १९५० देखि १९६० मा पास गरेका नियम–कानुनले धेरै असर देखायो । थेम्सको सफाइ लगातार हुँदै गयो । समाजमा आएको परिवर्तनसँगै कानुन अरू कडा हँुदै गयो । प्रदूषण र पर्यावरणसम्बन्धी कानुनमा कहिले पनि उदारता देखाइएन ।
०००
तर, एक सय वर्षपछि थेम्स फेरि फोहोर भयो । कारण थियो, लन्डनको जनसंख्या र फोहोर । फलस्वरूप सन् १९५७ मा थेम्सलाई ‘बायोलोजिकल डेथ’ घोषित गरियो । लन्डनबाट हिँड्ने यो नदी फेरि प्रदूषित नाली बन्दै थियो । सफा भइसकेको थेम्स दोस्रोपटक किन मृत घोषित भयो त रु तीन सय ४६ किलोमिटर यात्रा गरेर थेम्स उत्तरी समुद्रमा गएर मिल्छ । जब उत्तरी समुद्रमा ज्वारभाटा आउँथ्यो, सागरको पानी पुनस् थेम्समै फर्कन्थ्यो । इन्जिनियर बेजेटगेटले तयार पारेको ढल लाइनबाट सहरको फोहोर समुद्रमा जसरी पुर्याइन्थ्यो, त्यसरी नै फर्केर पुनस् लन्डन सहरमा आउँथ्यो ।
सरकारले नयाँ कदम चाल्यो । ढलको पानी सीधै समुद्रमा नपठाउने योजना बन्यो । लन्डन सहरमा चारवटा ‘सिवेज ट्रिटमेन्ट प्लान्ट’ बनाइयो । ट्रिटमेन्टमार्फत ढलको पानी सफा गरेर समुद्रमा छाड्न थालियो । थेम्सलाई बचाउन यो उपाय लगाइएपछि नदीमा निकै सुधार आयो । नदीमा अक्सिजन बढ्यो र माछा देखिन थाले । इन्जिनियर बेजेटगेटले सुरु गरेको कामलाई विस्तार गरियो । अहिले लन्डन सहर मात्र होइन, ब्रिटेनका सबै गाउँ ढल लाइनबाट जोडिएका छन् ।
थेम्स आज जसरी बगेको छ, योसँग जोडिएको कथा र सिक्ने पाठ महत्त्वपूर्ण मानिन्छ । यो अभियानमा नदीबाट टाढै बस्न चाहने समाजलाई पनि जोड्नुपर्ने थियो । यो अभियानलाई सरकारले आर्थिक र शारीरिक लाभसँग जोड्न खोज्यो । अहिले लन्डन सहरले उपभोग गर्ने ६० प्रतिशत पिउने पानी थेम्स नदीबाट नै मिल्छ । नदीमा जानेहरू त्यहाँ फोहोर फाल्दैनन् । ‘थेम्स २१’ जस्ता केही संस्था यो काममा लागेका छन् । बालक, जवान, वृद्धवृद्धा नदी सफाइमा जोडिन मन पराउँछन् । तथापि, अझै पनि कहिलेकाहीँ नदी–किनारमा फलामदेखि काँचका टुक्रासम्म भेटिन्छन् । यसले नदी सफाइमा आम मानिसको सहभागिताको आवश्कयता बोध गराउँछ ।
थेम्स किनारमा वाकिङ र साइक्लिङमा जानेहरू पनि नदीको सफाइमा लागेका भेटिन्छन् । मानिसहरू नदीलाई आफ्नो ठान्छन् । ब्रिटेनमा थेम्समाथि सबैको अधिकार छ । ‘थेम्सपथ’ त्यही अधिकारको हिस्सा हो । थेम्स नदीको मुहानदेखि समुद्रमा मिसिने स्थानसम्म किनारै–किनार फुटपाथ छ, करिब दुई सय ९६ किलोमिटर लामो । यही हो थेम्सपथ । मानिस यो बाटो हिँडेर नदीको सुन्दरताको आनन्द लिन्छन् । थेम्सपथ लन्डनवासीको जिन्दगीको एउटा हिस्सा नै बनेको छ ।
थेम्समा आएको कायापलटको भित्री कथा के हो त रु यसबाट के सिक्न सकिन्छ रु के बागमती सफाइका अभियान्ताले थेम्स नदीको कायापलटबाट केही सिक्न सक्छन् रु थेम्स सफा हुनुमा कानुनी, प्राविधिक विषय मात्र थिएन, यो नीति र नियतको कुरा थियो । नेपालमा यस्तो किन हुँदैन र?
०००
थेम्स नदी सफा हुनुमा थेम्सपथपछि अर्को एउटा प्रतीकको पनि ठूला भूमिका छ । त्यो हो सालमोन माछा । सालमोन माछा निकै कमजोर हुन्छ, जुन सफा पानीमा मात्र रहन्छ । यो पानीमा अक्सिजनको मात्राको हिसाबले रहन्छ । यदि कुनै नदीमा सालमोन माछा छ भने त्यसको अर्थ हुन्छ, त्यो नदी निकै सफा छ ।
सालमोन माछा थेम्सको मुहानमै हुन्छ र यात्रा गर्दै समुद्रमा जान्छ । तर, फेरि त्यो नदीको त्यही भागमा फर्कन्छ, जहाँ ऊ जन्मेको थियो । यसको अर्थ सालमोन माछा दुईपटक लन्डन भएर जान्छ । एकपटक नदीबाट समुद्रतिर र फेरि समुद्रबाट नदीतिर ।
थेम्सलाई पुनर्जीवन दिन सालमोनलाई कसरी प्रतीक बनाइयो र जनतालाई सालमोनसँग कसरी जोडियो भन्ने पनि रोचक छ । सालमोन माछा बेलायतमा निकै मन पराइन्छ । कुनै वेला थेम्स नदीमा यी माछाको घर हुन्थ्यो ।
दोस्रोपटक भएको प्रदूषणलाई सफा गरेपछि पनि थेम्समा माछा आएनन् । लन्डनका मेयरसहितका प्रतिष्ठित व्यक्तिहरूले थेम्स नदीमा पुनस् सालमोन माछा पैदा गर्ने योजना बनाए । सालमोन माछा यसकारण पनि चुनियो कि आम जनता पनि यसको महत्त्व बुझ्न सकून् । सालमोन रोज्नुको मुख्य उद्देश्य मानिसलाई थेम्सको सफाइसँग जोड्नु थियो । मानिसलाई भनियो, ‘सालमोन जब थेम्समा फर्केर आउनेछ, तब मानिनेछ कि थेम्सको पानी सफा भयो ।’
१९६० को दशकमा सालमोन माछा ल्याउने अभियान सुरु भयो । त्यसको नतिजा देखियो, २३ अगस्त १९८३ मा । उक्त दिन निकै ठूलो मरेको सालमोन माछा लन्डनको छेउमा भेटियो । एक सय ५० सालपछि सालमोन थेम्समा फर्केर आएको थियो । मरेको माछा ठूलो खबर बन्यो । त्यहीदेखि मानिसले थेम्स र त्यससँग जोडिएका नदीमा न फोहोर फाल्न थाले, न अरूलाई फाल्न नै दिन थाले । केही गरी फोहोरो आयो भने त्यसलाई हटाउन सामूहिक जिम्मेवारी बनाइयो ।
इन्भाइरोमेन्ट एजेन्सीका म्यानेजर एलिस्टेवर आज थेम्स पर्यटनका लागि अधिक प्रयोग हुने बताउँछन् । मानिस यो नदीमा ‘बोट’मा घुम्न मन पराउँछन् । कतिपय पर्यटक त लन्डनमा नाउ लिन्छन् र दुई–तीन सय किलोमिटर यात्रा गर्छन् । थेम्समा बोट चलून् भनेर पानीको न्यूनतम स्तर कायम राखिन्छ । नदीको वहाब खास तरिकाले नियन्त्रण गरिन्छ । नदी सफा राख्न पानीको स्तर कायम गरिन्छ । थेम्सको प्रयोग सिँचाइका लागि गरिँदैन ।
थेम्स नदीमा पानी निकाल्न र राख्नका लागि लाइसेन्स आवश्यक हुन्छ । नदीको कुन भागबाट कति पानी निकाल्न सकिन्छ भनेर पूरै ध्यान दिइन्छ । थेम्समा कति पानी हुनुपर्छ, पानीको गुणस्तर कस्तो छ भनेर हेर्न लन्डन र अक्स्फोर्डको बीचमा ‘सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी’ विभाग छ । यो अनुसन्धान केन्द्रले थेम्स सफा राख्न ठूलो भूमिका खेल्छ । यो ठूलो स्तरको अनुगमन तथा अध्ययन केन्द्र हो । यसले पानीमा केही प्रदूषण भेटिए नदी दूषित गर्ने समान कहाँबाट आयो भनेर खोज्छ । बेलायत सरकारले थेम्समा यति धेरै ध्यान दिनुको पछाडि अर्को कारण छ । लन्डन सहरलाई चाहिने ६० प्रतिशत पानी यही नदीबाट आउँछ । तर, लन्डनवासीलाई जुन पानी मिल्छ, त्यो उनीहरूकहाँ पुग्नुपूर्व कम्तीमा १० पटक रिसाइकल हुन्छ ।
थेम्स सफा राख्न विज्ञान, प्रविधि र कानुनको सहयोग लिइयो । योसँग स्थानीयको साथ उत्तिकै महत्त्वपूर्ण छ । थेम्सको लम्बाइ लन्डनमा करिब एक सय किलोमिटर छ । थेम्सलाई सफा राख्ने सबैभन्दा बढी प्रयास पनि लन्डनमै हुन्छ ।
लन्डनका नागरिक अहिले फोहोरको विरुद्ध ‘सुपर सिवर’ बनाउँदै छन् । यो ढल थेम्सको मुनि बनाइँदै छ । लन्डनको ढल व्यवस्थाको मूलभूत ढाँचा एक सय ५० वर्ष पहिलाकै भएकाले बढ्दो जनसंख्या चाप धान्नका लागि यस्तो योजना अघि बढाइएको हो । थेम्स टनेल नाम दिइएको यो ढल प्रणाली नदीको ५० देखि ७० मिटर तल छ । ‘सुपर सिवर’को कल्पना हुँदा एक सय २८ अर्ब लाग्ने अनुमान गरिएको थियो । तर, काम सुरु भएपछि यो रकम दुई सय ५६ अर्ब पुग्ने अनुमान गरिएको छ ।
स्रोत : रातोपाटी