ताजा खबर

पाकिस्तानमा नहरमा रेल खस्यो, आठको मृत्यु

इस्लामाबाद, २०७२ असार १८,

पाकिस्तानमा एक रेल नहरमा खस्दा कम्तीमा पनि आठजनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् । पन्जाब प्रान्तको रेल ट्रयाकको पुल भत्कँदा रेल नहरमा खसेको हो । रेलका चार डिब्बा नहरमा खसेको अधिकारीले जनाएका छन् । पाकिस्तानी सेनाका प्रवक्ता आसिम बाजवाले ट्विट गरेका छन्, ‘सैनिक सवार स्पेसल रेल नहरमा खस्दा कैयौँको मृत्यु भएको आशंका छ । राहत कार्य जारी छ ।’ मारिनेमा एक लेफ्टिनेन्ट कर्नेल भएको पनि उनले जनाएका छन् । रेलवे अधिकारीका अनुसार पुल भत्किँदा ६ डिब्बा भएको रेलका चार डिब्बा नहरमा खसेका हुन् । रेलको इन्जिन पनि पानीमा डुबेको छ । दुर्घटनापछि तत्कालै राहत तथा उद्धार कार्य सुरु भएको थियो । त्यसमा सैनिक हेलिकोप्टर पनि प्रयोग गरिएका छन् । सैनिकका अनुसार आठजनाको शव भेटिएको छ भने ८० जनालाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । पाँचको अवस्था गम्भीर भएको अधिकारीले जनाएका छन्   ।

स्रोत : नयापत्रिका

Related posts